रियालिटी सोबाटै संगितमा अघि बढिरहेका लक्ष्मण

काठमाडौं । गायन प्रतिभाकाे खोजी गर्दै चलिरहेको रियालिटी सोे नेपाल स्टारको शिर्ष ५ मा पुग्न सफल प्रतियोगि हुन्, लक्ष्मण लिम्बु ।अहिलेसम्म आधा दर्जन जति सांगितिक ‘सोहरु’ मा भाग लिँदै र सिक्दै अघि बढेका लक्ष्मण कतै पहिलो भए, कतै दोश्रो त कतै दाेश्राे राउन्ड मै फालिए पनि ।

तर उनी न त पहिलो हुँदा हौसिए न त साेचेभन्दा छिट्टै बाहिरिंदा निराश भए । ‘हरेक सहभागिताले मलाई धेरै कुरा सिकायो नि’ उनले भने, नयाँ सहभागि, नयाँ जज अनि प्रतियोगिता लगायत सबै कुराबाट जे जति सिकेको छु सबै म यहि क्षेत्रमा लगाउनेछु ।’

अनि मोडियो पाइला

तेह्रथुमको श्रीजुङ्ग माविबाट एसएलसी दिइसक्दासम्म लक्ष्मणलाई आफ्नो श्वरको खास भेउ थिएन । साथीभाइले कहिलेकाहिँ तेरो श्वर राम्रो छ त भन्थे तर उनले त्यसलाई गम्भिरतापूर्वक कहिल्यै लिएनन् । कुनै अग्रज वा शिक्षक कसैले यसो भनेन । भनेको भए हो कि भन्ने लाग्थ्यो पनि होला ।

एसएलसी दिएर पढाइका लागि धरान झरेपछि उनका साथी सँगति पनि धेरै भए । मुख्य कुरा उनी गायन प्रतियोगिता र कन्सर्टहरुमा भाग लिन थाले ।

महेन्द्र क्याम्पसमा भर्ना भएर पढ्दै समय मिलाएर कन्सर्टतिर जान थालेपछी विस्तारै उनलाई म पनि गाउन सक्छु कि क्या हो भनेजस्तो हुन थाल्यो । माथि पहाडको गाउँ श्रीजुङ्गमा साथीहरुले भनेको पनि अलिअलि सम्झिन थाले । धरानको महेन्द्र क्याम्पसमा भर्ना भएर उच्च शिक्षा लिन थाले भने धरानमै संगितको शिक्षा पनि अघि बढाए, सुरसाँझ संगित विद्यालयमा । संगितका गुरु थिए, विनोद प्रियदर्शी राई ।

२०६६ सालमा ताप्लेजुङ आइडल हुने खबर थाहा पाए लक्ष्मणले । संगितको सम्मोहनमा उनी फस्दै थिए । भाग लिने निधो गरे । भाग लिए र पहिलो भए । पहिलो सहभागिताले नै पहिलो स्थानमा पुर्याएपछि खुशी नहुनुपर्ने के थियो र ? उनी खुशी भए ।
त्यसपछि २०६७÷२०६८ सालमा लिम्बुवान आइडल भयो । ९ जिल्लाका प्रतिस्पर्धी थिए । आयोजक तथा गायक खगेन्द्र यक्सोले भाग लिन आग्रह गरे । लक्ष्मणले भाग लिए । त्यसमा फस्र्ट रनर अप अर्थात दोश्रो भए ।

पहिलो नै हुने सपना त पूरा भएन तर लिम्बुवान आइडलले उनलाई गीतको मूख्य गोरेटोतर्फ मोडिदियो । दोश्रो भएबापत उनले ५० हजार रुपैयाँ पुरस्कार र तीनवटा गीत रेकर्ड गर्न पाउने अवसर थियो । त्यसकै लागि उनी काठमाडौ आए, गीत रेकर्ड गराएर फर्किहाल्ने गरि । २०७० साल बैशाख ४ गते आरबी स्टुडियोमा पहिलोपटक लक्ष्मण लिम्बुको श्वरमा गीत रेकर्ड भयो । गीत राम्रो भएको प्रतिक्रिया आउन थाल्यो, जसले उनलाई हौस्यायो ।

गीत रेकर्ड गर्ने क्रम बढ्यो संगै फेसबुकमा लिङ्क सेयर गर्ने क्रम पनि बढ्दै थियो । यसै क्रममा उनले हङ्गकङ्गमा हुने सांस्कृतिक कार्यक्रममा गाउन जाने मौका पाए । २०७० साल कात्तिकको कुरा हो यो । किराँत याक्थुङ चुम्लुङले गरेको कार्यक्रममा अग्रज कलाकारहरुसँगै गएर गीत गाएर फर्किँदासम्म उनले धेरै कुरा सोचे । त्यसपछि संगित क्षेत्रले नै मलाई चिनायो, यहाँसम्म ल्यायो भने अब मैले यो क्षेत्रमै केही गर्नुपर्छ भन्ने सोच आएको लक्ष्मणले मकालु खबरलाई बताए ।

त्यसपछि २०६९ सालदेखि उनी काठमाडौंमै बस्न थाले । र लागे गीत संगितमै पूर्णकालिन रुपमा । अहिलेसम्म ३० वटा जति गीत बजारमा आइसकेको र यो क्रम अहिलेपनि चलिरहेको उनले जानकारी दिए ।

२०७१ सालमा खुल्दुली नामको गीति एल्बम निकाले । २०७२ को अन्तिमतिर धरान बजारमा भन्ने एल्बममा गाए, मञ्जु लावतीसँग । ‘म त माथि म्याङलुङ्ग डाँडाको’ भन्ने बोलको गीत चर्चित भयो । अनि मेलिना राईसँग ‘मनको आवाज’ भन्ने एल्बममा गीत गाए । विस्तारै संगितको क्षेत्रमा अघि बढ्दै गए ।

रियालिटी सो चाहिँ सकेसम्म छोडेनन्

ताप्लेजुङ्ग आइडल र लिम्बुवान आइडलमा हात पारेको सफलतासँगै उनी गीत संगितको क्षेत्रमा अघि बढ्दै गएका लक्ष्मणलाई रियालिटी सो भनेपछि बेग्लै खालको मोह छ । ‘शुरुमा नै भाग लिएकोले पनि होला मलाई रियालिटी सोमा धेरै नै कुरा सिकेको छु जस्तो लाग्छ’ उनी भन्छन् ।

काठमाडौंमै बस्न थालेपछि उनलाई केही सजिलो पनि भयो यस्ता कार्यक्रममा भाग लिन । लक्ष्मणले २०६५ मा ‘खोजी प्रतिभाको’ को शिर्ष १४ मा परे । त्यसपछि नेपाल आइडलमा भाग लिए पहिलो राउण्ड मात्र पार गर्न सके । अर्को बर्ष फेरि भाग लिए र थिएटर राउण्डसम्म पुगे । त्यसपछि उनले सिंगिङ स्टार र नेपाल सिंगिङ आइकनमा भाग लिए तर, सिंगिङ आइकन चाहिं कार्यक्रम नै रद्द भयो ।

केही न केही सिक्न सकिन्छ भन्ने लाग्ने भएकाले धेरै प्लेटफर्ममा भाग लिँदै सिक्दै अघि बढ्दै अहिलेको अवस्थामा आइपुगेको बताउने लक्ष्मण कुन कार्यक्रममा कति सफल भएँ वा कुन राउण्डमा पुगेँ भन्ने कुरा महत्वूर्ण नभएको र हरेक प्लेटफर्मबाट केही न केही सिकिरहेको बताउँछन् । नेपाल स्टारको शिर्ष ५ मा रहेका लक्ष्मण अब शिर्ष ४ हुँदै उपाधि नै जित्नेगरि तयारी गरिरहेको बताउँछन् । यसका लागि आफ्नो मेहनत समर्थकको भोट र निर्णायकको मत सबैको साथ आवश्यक रहेको उनको भनाइ छ ।

सबैले जित्ने गरि नै मेहनत गरिरहेको र सबै अब्बल नै रहेको उनको बुझाइ छ । आफु अहिलेसम्म नेपाली गीत संगितको सिकाइ मै रहेको यसै क्रममा नेपाली दर्शक श्रोताले गरेको माया र हौसलाप्रति आफु नतमस्तक रहेको पनि उनी बताउँछन् । यसपटक शिर्ष चारमा पर्न र उपाधि नै जिताउन देश विदेशमा रहेका नेपालीहरुसँग उनले आग्रह गरे । ‘म यहि क्षेत्रमा लागि सकेकै छु’, लक्ष्मणले भने, ‘यो क्षेत्रमा केही न केही योगदान गर्न चाहन्छु यो उपाधि जित्न सके मलाई मेरो यो सोचमा झनै हौसला मिल्नेछ ।’

प्रतिक्रिया