अत्याधिक भीडले नागरिकता लिन दुई दिन

  • सुमन सुस्केरा

विराटनगर । मोरङको सुन्दर हरैँचा नगरपालिका वडा नम्बर ३ की डम्बर कुमारी आचार्य सोमबार दिउँसोसम्म जिल्ला प्रशासन कार्यालय मोरङको गेटमै थिइन् । दुई छोरीहरु मुना र भावनाको नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा उनी निक्कै भीडका कारण दुई दिनदेखि धाइरहेकी छिन् ।

आइतबार उनका श्रीमान् गायत्रीदास आचार्य पनि ती दुवै छोरीलाई लिएर नागरिकता बनाउने लाइनमा लागे तर साँझसम्म पनि उनले ती दुई छोरीको नागरिकता बनाउन सकेनन् र फर्किए । आइतबार नागरिकता बनाउन नसकेपछि सोमबार डम्बरकुमारी आएकी थिइन् । ‘हिजो श्रीमान् आएर दिनभरी लाइन लागेर फर्किनु भयो तर नागरिकता बनेन । आज म आएकी हुँ,’ डम्बरकुमारीले भनिन्, ‘श्रीमानकाे नागरिकताबाट छोरीहरुको नागरिकता नबनिने भनिएपछि मेरो नागरिकताले बन्छ भन्नुभएको छ, तर अहिलेसम्म बनेको छैन । अब खै बन्छ कि बन्दैन पर्खिएर बसेको छु ।’

पछिल्ला दिनमा जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिन आउनेहरुको संख्या बढेको छ । नागरिकता लिनकै लागि दुई दिनसम्म लाग्ने गरेको सेवाग्राही बताउँछन् ।

विराटनगर महानगरपालिका १ बाट आफ्नो छोरा रबीको लागि नागरिकता बनाउनेको लागिनमा बसेका ५२ बर्षीय तेजकुमार चौधरीको पनि लाइन लागेको ४ घण्टा पछि मात्र पालो आएको उनले बताए । पालो आएर पनि भीडका कारण थप १ घण्टा बढी लाइनमा बसेपछि मात्र नागरिकता प्राप्त गरेको उनले सुनाए ।

जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार पछिल्लो केही दिनयता नागरिकता लिन आउनेको भिड अत्याधिक बढेको छ । सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले यस अघि आलोपालो गरिएकोमा अब नियमित नागरिकता दिने गरिएकोका कारण अत्याधिक भीड बढेको जानकारी दिए ।

‘यसअघि पालिका अनुसार बारको आधारमा नागरिकता दिने गरिएको थियो,’ उनले भने, ‘आइतबारदेखि कोभिड अघि कै जस्तो नियमित नागरिकता लिन सहज गरिएपछि भीड बढेको हो ।’

आलोपालो अनुसार नागरिकता वितरण गर्दा पनि विराटनगर र सुन्दर हरैँचा लगायतका जनघनत्व बढी भएका पालिकाको सेवाग्राही लकडाउन पहिलाको जस्तैगरि नियमित नागरिकता उपलब्ध गराउन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी केशरीको भनाइ छ ।

बिहिबार र शुुक्रबार कम भीड हुने गरेको भएपनि अन्य बार भने निक्कै भिड लाग्ने गरेको छ । पछिल्ला दिन जिल्ला प्रशासन कार्यालयबाट दैनिक करिब १ सय ५० जना भन्दा बढीले नागरिकता लिएर जाने गरेको प्रशासन कार्यालयको दाबी छ ।

प्रतिक्रिया