लोक-संस्कृतिलाई बचाई राख्नुुपर्छ भन्ने उद्देश्यले अगाडि बढिरहेको छु : कुशल (भिडियाेसहित)

काठमाडौं । पछिल्लो समयका लोकप्रिय एवम् चर्चित गायक हुन् कुशल बेलबासे । बजारमा थोरै गीत संगीत लिएर आउने तर जीवन्त गीतसंगीत दर्शकलाई पस्किने गायकको सुचीमा समेत पर्छन् कुशल । लकडाउन अगाडि देश विदेशका हरेक कार्यक्रममा व्यस्त हुने उनी अहिले भने लकडाउनका कारण ठप्प रहेको सांगीतीक क्षेत्रमा लाइभ दोहोरीमा व्यस्त छन् ।

बिगत २ दशकदेखि सांगीतीक क्षेत्रमा रहेका उनी अहिले पनि निरन्तर रुपमा यहि क्षेत्रमा नै छन् । हालसम्म ६ दर्जन जति गीत संगीतहरु दर्शक माझ पस्किसकेका कुशल अर्घाखाँचीकाे पाणिनीमा जन्मेका हुन् । गाउँ घरमा जन्मे हुर्केका कुशललाई गीत संगीतमा लाग्नका लागि त्यहि माटोले नै प्रेरित गर्याे ।

सानैदेखि गीत गाउने लत बसेपछि उनले गाउँघरमा हुने विभिन्न कार्यक्रम प्रतियोगिताहरुमा सहभागीता जनाउन थाले । अनि उच्च माध्यमिक शिक्षापछि गीतसंगीतमा नै केहि गर्छु भनेर काठमाडौं हानिए कुशल । कुशलले गीत संगीतको यो लामो यात्रासम्म पनि फड्को मार्न नसकेको हो कि भन्ने दर्शकलाई लागे पनि तर, उनलाई त्यो भान भने भएको छैन । उनी वर्षमा एउटा गीत निकाल्छन् तर ती गीत अजर–अमर हुन्छन् । त्यसैले पनि आफू सन्तुष्ट रहेकाे उनी बताउँछन् ।

लोक संस्कृतिलाई जगेर्ना गर्नुपर्छ भन्ने उद्देश्यका साथ अगाडि बढेका कुशलले पछिल्लो समय ‘रानी फूल बसायो’ बोलको गीत बजारमा ल्याएका थिए । त्यो गीतले पनि उनलाई एक किसिमको सफलता दिलाएकाे थियो । कहिल्यै पनि नडगमगाई यहि क्षेत्रमा केहि गर्छु भनेर लागेका उनी अहिले भने लाइभ दोहोरीबाट पनि चर्चा कमाउँदै छन् । लामो समयसम्म गीत संगीतमा तल्लिन रहेर पनि सोचेको जस्तो नहुँदा विदेश जानेसम्म सोच बनाएका थिए कुशलले । तर गीत/संगीतमा बिस्तारै भएपनि राम्रो हुँदै गएका कारण पछि भने उनले त्यो सोचलाई मोडेर पुन गीतसंगीत तिरै फर्किए ।

भिडियाे:

हरेक मान्छेको एउटा न एउटा सपना हुन्छ । उनको पनि नेपाल आर्मी बन्ने सपना थियो । उनी भन्छन्–‘गीत संगीतमा केहि भएन भने आर्मी बन्छु भन्ने थियो, तर एक्कासी फड्को नमारे पनि बिस्तारै बिस्तारै भने राम्रो भइरहेको थियो, भइरहेकाे पनि छ ।’

हुन त जरैदेखि संघर्ष गर्नेहरु लामो समयपछि सफलता पाउँछन् । सायद कुशल पनि लामो समयको निरन्तरता पश्चात सफल हुँदैछन् । पहिला वर्षमा एउटा, दुुईवटा गीत बजारमा ल्याउने कुशल अहिले भने उनका छिट्टै नै धेरै गीतहरु बजारमा आउँदैछन् । अबका आफ्ना प्रस्तुतीहरुलाई दर्शकले मन पराइदिने कुरामा उनी बिश्वस्त छन् ।

हरेक आमा बुुबालाई आफ्नो सन्तानको चिन्ता हुन्छ नै । सानोमा कसरि हुर्काउने होला भन्ने चिन्ता अनि अलि ठुलो भएपछि गतल बाटोमा हिड्छ भन्ने र पछि भने उसको भविष्य कस्तो बन्ने होला भन्ने कुराकाे चिन्ता ! गीतसंगीतमा धेरै समय व्यतित गरिसके पश्चात सफलता हात नपरेपछि उनलाई घरपरिवारबाट पनि विदेश जाने दवाब आएको थियो । तर आफू धेरै थोरै खुशी भएकै कारण विदेश जान उनी चाहेनन् ।

कुशलले काठमाडौं नै बसेर संघर्ष गर्न थालेको १२ वर्ष भन्दा धेरै भइसक्यो । तर पनि उनले चाहेको र सोचेको जस्तो भने हुन सकेको छैन । हुन त बजारमा आएका कुन गीत चल्छन्, कुन गीतलाई दर्शकले मन पराइदिन्छन् भन्ने नै थाहा हुँदैन । जुन गीत धेरै आशा गरिएको हुन्छ त्यो नचल्ने र धेरै आशा नगरेको गीत चल्ने पनि हुन्छ कहिलेकाहीँ । कुशलले बजारमा ल्याएका गीतहरु मध्ये उनलाई दर्शकले ‘रातो घलेकीमा’ गीतबाट याद गर्न थालेका हुन् । योसँगै उनका थुप्रै गीतहरु छन् जुन दर्शकले अत्याधिक मन पनि पराइदिएका छन् ।

अहिले पनि प्रायजसो लोक गीत संगीत सुन्ने दर्शक-श्राेताहरू गाउँघरमा नै छन् । आफूहरुले गीत संगीत सिर्जना गर्दै गर्दा गाउँ घरलाई नै लक्षित गरेर बजारमा ल्याउनुपर्ने कुशलको बुुझाई छ । आफू–सँगसँगै सहयात्रा गरेका साथीहरु धेरै माथी पुग्दा आफू पनि एक दिन पक्कै पुुग्छु भनेर निरन्तरता दिएको कुशल बताउँछन् ।

भन्छन्–‘प्रमाणपत्र प्राप्त लिएर बसेकाे पिएचडि होल्डर विद्यार्थीले जागिर नपाउँदैमा आतिनुपर्छ भन्ने मलाई लाग्दैन । किनकि भोलि एक न एक दिन त उसले जागिर पाँउछ नै ।’

कुनै समय गीतसंगीत धेरै चलेर अहिले यतिकै बसेका कलाकारहरु पनि छन् । त्यसैले पनि नआतिएर, एकत्रित भएर लागेका छन् कुशल । सबै कुरामा पोख्त उनी आफ्नो साहस र आत्मबलका कारण अगाडि बढेको बताउँछन् ।

प्रतिक्रिया