‘हात खुट्टै बाँधेर काम गर्न नदिएपछि प्रधानमन्त्री बाध्य भएर ताजा जनादेशमा जानु पर्यो’: भगवती चौधरी

काठमाडौं । नेकपाकी केन्द्रीय सदस्य भगवती चौधरीले शीर्ष नेताहरुले सरकारलाई प्रभावकारी रुपमा काम गर्न नदिएको बताउँदै घेरावन्दीमा पारेर ओली सरकारलाई संसद विघटन गर्न बाध्य बनाएको बताएकी छन् ।

पार्टीका शीर्ष नेताहरु विदेशी प्रतिक्रियावादी हरुसँग लागेर हुवहु उनीहरुको एजेण्डामा अगाडी बढेको अनुभूत भएको समेत बताउँदै दुई तिहाईको सरकारलाई काम गर्न नदिई हात खुट्टा बाध्नु नै शीर्ष नेताहरुको गलत कदम भएको जिकीर गरिन् ।

‘विदेशवादीहरुसँग मिलेर श्रद्धेय शीर्ष नेताहरु उनीहरुको एजेण्डामा हिँड्नु गलत हो । संवैधानिक आयोगहरुमा विगत देखिनै नियुक्ति गर्न खोज्दा दिइएन, अहिले अध्यादेश ल्याएर भएपनि काम गर्न खोज्दा हात खुट्टै बाँधेर सरकारलाई राख्न खोज्नु गलत हो ।’ पूर्वराज्यमन्त्री समेत रहेकी नेतृ चौधरीले भनिन् ।

सरकारले नेकपालाई पाँचवर्षसम्म सरकार चलाउन जनमत दिएपनि शीर्ष नेताहरुले जनमतको अवमुल्यन गर्दै सरकारलाई नै बन्धक बनाउने कार्य गरेको नेतृ चौधरीको बुझाई छ । ‘सरकारलाई निष्पक्ष र दवावरहित रुपमा काम गर्न दिनुपर्दथ्यो, भागवण्डाको राजनीति गर्नाले प्रधानमन्त्रीले बाध्य भएर पुनः जनमत लिनका लागि यो कदम चालेको मैले अनुभूत गरेको छु ।’ चौधरीले भनिन् ।

नेकपालाई जनताले चुनेर सरकारमा पठाएको तर्क गर्दै नेतृ चौधरीले पार्टी भित्रको आन्तरिक कलहमा सरकार नै ढाल्ने सम्मको परिस्थिति भएपछि प्रधानमन्त्रीले बाध्यकारी अवस्थामा बरु जनताकै माझ जान्छु भन्नु गलत नरहेको उनको भनाई छ । ‘यस्तो अवस्था आउनु हुँदैनथ्यो, श्रद्धेय नेताहरुले सरकारलाई बढिभन्दा बढि साथ र सहयोग गर्नुपर्नेमा त्यसो भएन अब ताजा जनादेशको विकल्प छैन । जनता जनार्दन हुन् उनीहरुले सहि र गलत ठम्याउन सक्छन् ।’ नेतृ चौधरीले जिकिर गरिन् ।

विगतमा सरकारको नेतृत्व गर्नेहरुले पनि परिस्थिति प्रतिकूल हुँदा आफ्नो अनुकूल निर्णय गरेको दृष्टान्त रहेको तर्क गर्दै अहिले शीर्ष नेतृत्वलाई सरकारलाई नै असफल बनाउने त्यस्तो के परिस्थिति आएको थियो रु भन्दै प्रश्न समेत गरेकी छन् ।

प्रतिक्रिया