कस्तो रह्यो नेपाली रजतपटतिर छिरेका मिस नेपालहरुको यात्रा ?

काठमाडौं । मिस नेपाल प्रतियोगिता विसं २०५१ सालदेखि हुँदै आएको सौन्दर्य प्रतियोगीता हो । विसं २०५१ देखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको उक्त प्रतियोगिता बीचको केही समय भने सञ्चालन हुन सकेको थिएन । सन् ००१ र ००६ मा हुन नसकेको प्रतियोगिता त्यसयता भने निरन्तर रुपमा सञ्चालन हुँदै आएको छ । यसैबीच काठमाडौंमा हुँदै आएको प्रतियोगिताबाट यस वर्ष नम्रता श्रेष्ठ मिस नेपाल–२०२० बनेकी छन् ।

मिस नेपाल शुरु भएको २६ वर्ष भइसकेको छ । मिस नेपालको पहिलो उपाधि रुबी राणाले जितेकी थिइन् । राणा मिस नेपाल भैसकेपश्चात् केही समय अभिनय र मोडलिङ्गमा सक्रिय रहेकी थिइन् । केही टेलिसिरियलसमेत अभिनय गरेकी राणाले ‘अनमोल, आँधी बाटो, अन्तराल’ लगायतका चलचित्रमा मुख्य भूमिका निभाएकी छिन् । पछिल्लो समय उनी ब्यूटिसियनको रूपमा चिनिन्छन् ।

मिस नेपाल बनिसकेपछि प्रायः के गर्ने भनेर अन्योलमा परेको देखिन्छन् । धेरैजसो मिस नेपालहरु त नेपाली चलचित्र क्षेत्रमा भित्रिएका छन् । चलचित्रमा भित्रिएता पनि उनीहरुको यात्रा भने त्यति सुखद् रहेको पाइँदैन । तर, पनि चलचित्रमा होमिने मिस नेपालहरुको संख्या भने कम छैन ।

कतिपय मिस नेपाल शुरुमा सौखका कारण चलचित्रमा प्रवेश गरेको पनि पाइन्छ । तर पछि भने आफूले सोचेजस्तो  नभएपछि अन्य व्यवसायमा लागेको पनि पाइन्छ त कति घरजम गरेर गुपचुपसमेत रहेका छन् ।

नेपालमा मात्र होइन, बलिउडमा पनि मिस वर्ल्ड, मिस युनिभर्सलगायत भारतीय सुन्दरीहरूले पनि अभिनेत्री भएर कलाकारितामा प्रवेश गरेको पाइन्छ । तर, मिस नेपालहरुको तुलनामा भने भारतीय सुन्दरीहरुले आफूलाई कलाकारिताको क्षेत्रमा अलि बढी स्थापित गरेको पाइन्छ ।

आज हामी मिस नेपालपश्चात् कलाकारिता क्षेत्रमा होमिएका कलाकारहरुको कलाकारिता यात्रा कस्तो रह्यो त, चर्चा गर्नेछौँ ।
मिस नेपाल सन् २०१२ कि मिस नेपाल सृष्टि श्रेष्ठले चलचित्र ‘गाजलु’ बाट नेपाली रजतपटमा डेब्यु गरिन् । सृष्टि आफ्ना प्रेमी सौगात मल्ललाई लिएर पनि चर्चामा रहेकी छिन् । उनी सौगातसँग चलचित्र ‘लालपुर्जा’ मा पनि देखिएकी थिइन् । सुष्टिले डेब्यु चलचित्र ‘गाजलु’ बाट भने राम्रो चर्चा बटुल्न सफल भएता पनि पछि भने उनको अभिनय यात्रा त्यति सुखद् रहन सकेन ।
त्यस्तै विसं २०५२ की मिस नेपाल सुमी खड्का पनि नेपाली रजतपटमा भित्रिएकी थिइन् । तर उनको पनि चलचित्र भने सुखद् रहन सकेन । दोस्रो मिस नेपालको उपाधि हात पारेकी सुमी नायक भुवन केसीको चलचित्र ‘सुपरस्टार’ बाट नायिकाकी रुपमा प्रवेश गरेकी थिइन् । ‘सुपरस्टार, ग्रहण, एक नजर’लगायतका चलचित्रमा देखिएकी उनको अभिनय यात्रा त्यसपछि भने अगाडि बढेन ।

चलचित्र ‘हतियार’बाट अभिनय यात्रा शुरु गरेकी थिइन् सन् १९९७ कि झरना बज्राचार्यले । अन्य मिस नेपालहरुको तुलनामा भने बज्राचार्यको अभियन यात्रा अलि सफल देखिन्छ । ‘हतियार, भुतुक्कै भएँ नि, सिउँदोको सिन्दुर, अञ्जुली, भाइटीका, माया गर्छु म, चाहन्छु म तिमीलाई, लभ इन नेपाल, परेँ नि माया जालैमा, सञ्जीवनी, फेरि अर्को साइनोलगायतका चलचित्र अभिनय गरिन् । त्यसपछि भने उनी अभिनयको दुनियाँबाट बाहिरिएकी हुन् ।

माल्भिका सुब्बा सन् २००२ की मिस नेपाल हुन् । माल्भिका अभिनय हुँदै चलचित्र निर्माणमा समेत सक्रिय छिन् । ‘गुडबाई काठमाडौँ, गड लिभ्स इन हिमालय’लगायतका चलचित्रमा अभिनय गरेकी माल्भिकाले चलचित्र ‘हाउ फन्नी’ निर्माण समेत गरेकी थिइन् । अभिनय र निर्माण दुवैमा उनलाई सफलता भने मिलेन । माल्भिका अहिले भने बोल्ड ट्यालेन्ट मिडिया पर्सानालिटीको रुपमा सुपरिचित छिन् ।

सन् २०११ की मिस नेपाल हुन् मलिना जोशी । चलचित्र ‘ऋतु’ बाट अभिनय यात्रा आरम्भ गरेकी उनले ‘कति धेरै, झुम्की, द विनर, रानी, संरक्षण’ लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन् । यीमध्ये कुनै पनि चलचित्रबाट भने उनले सफलता हात पार्न सकिनन् । उनी अहिले पनि अभिनय क्षेत्रमै छिन् ।

सन् २०१७ को मिस नेपालको ताज पहिरिएकी मिस नेपाल हुन् निकिता चन्दक । निकिता पनि चलचित्र ‘साङ्लो’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी छिन् । नायक विराज भट्टद्धारा निर्माण र निर्देशित चलचित्रबाट उनले डेब्यु गरेकी हुन् । गत वर्ष मात्र उनले सो चलचित्रमा अभिनय गरेकी हुन् । हेरौँ उनको अभिनय यात्रा भने सुखद् होला या दुखद् बन्ला ।

प्रतिक्रिया