‘आफ्नो कमजोरीलाई ढाक्न कांग्रेस सडकमा उत्रियो’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस देशव्यापी सरकार विरोधी प्रदर्शनमा उत्रियो । कोभिड उन्नाइस नियन्त्रण तथा उपचारमा सरकारले देखाएको उदासीनता, स्वास्थ्य सामग्री खरिदमा देखिएको अनियमितता, औषधि अभाव, महिला हिंसा तथा बलात्कार, कुशासनलगायतलाई एकैचोटी सम्बोधन गर्ने भन्दै सडक ओर्लिएको कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण ‘राजा आऊ, देश बचाऊ’को नारा घन्किएकोेसमेत औंल्यायो ।

हुन त प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहेको कांग्रेसको क्षमतामाथि पनि प्रश्न नउठेको होइन । विश्लेषक तथा सत्तापक्षीय नेताले कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको बताउँदै नै आएका छन् । तर, यो विषयलाई गौण राखेर सोमबारको कांग्रेसको शक्ति प्रदर्शनलाई सत्ताधारी नेताहरुले कसरी लिएका छन् ? के कांग्रेसको यो शक्ति जनताको शक्ति हो ? कांग्रेस सडकमा उत्रिनुको पछाडि सरकारी कमजोरी नै हो कि कांग्रेसले काम नपाएर उत्रिएको हो ? यी विषयवस्तुमाथि सत्ताधारीहरुको धारणा के छ ? त्यसो त विपक्षीमाथि सत्तापक्षीय विश्लेषण प्रायः आलोचनात्मक नै रहने गर्दछ । तर, खासगरी कांग्रेसले वर्तमान स्थितिमा उठाएको मुद्दाबारे सत्ताक्षीय नेताहरुको बुझाइ र विश्लेषण के छ ? यी यावत् वस्तुस्थितिमाथि यी नेताहरु यो भन्छन् ।

प्रदर्शनलाई ठूलो रुपमा लिनु हुँदैन
सरकारलाई विभिन्न आरोपहरु लगाउँदै कांग्रेस सडकमा ओर्लिँदा नेकपा नेता भीम रावलले भने कांग्रेसको प्रदर्शनलाई सामान्य रुपमा लिनुपर्ने बताउँछन् ।

दलीय व्यवस्थामा कुनै पनि दल आफ्नो असन्तुष्टिलाई विभिन्न माध्यमबाट जनतासामु पोख्न पाउने हैसियतमा रहेको बताएका नेता रावलले कांग्रेसको प्रदर्शनलाई समान्य रुपमा लिनुपर्ने र त्यसलाई ठूलो बनाउनु नपर्ने बताउँछन् । ‘कांग्रेसको प्रदर्शनलाई त्यस्तो ठूलो रुपमा लिनुहुँदैन’, नेता रावलले मकालु खबरसँगको संक्षिप्त कुराकानीमा भनेका छन्, ‘दलीय व्यवस्था हो, जुनै पार्टीले पनि आफूलाई चित्त नबुझेको कुरा विभिन माध्यमबाट जनतासामु ल्याउन पाउँछन् । कांग्रेसले गरेको त्यही हो । यसलाई ठूलै रुपमा लिनु हुँदैन । सामान्य हो भनेर बुझ्नुपर्छ ।’

दलीय व्यवस्थाअनुरुप कुनै पनि पार्टीले अर्को पार्टीको विरोध गर्दा ठूलै रुपमा लिनुपर्ने स्थिति नरहेको तर्क नेता रावलको छ ।

अहिले कांग्रेस सडकमा जाने बेला होइन
यता अर्की सत्ताधारी नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्यले भने कांग्रेसले सडकमा जान हतार गरेको बताउँछन् । पार्टी–पार्टीबीच पशस्तै छलफल तथा परामर्श नै नगरी कांग्रेस सडकमा उत्रिएको नेतृ शाक्यको तर्क छ । ‘मलाई लागेको चाहिँ कांग्रेसले सडकमा जान अलिक हतार गर्यो कि भन्ने छ । पार्टी–पार्टीबीच प्रशस्ती मात्रामा छलफल तथा बहस हुन जरुरी छ’, नेतृ शाक्यले मकालु खबरसँग भनिन्, ‘छलफल तथा बहसपछि मात्रै चित्त नबुझेको खण्डमा सडकमा जान सुहाउँछ । त्यो पनि नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष दल हो, धेरै कुरामा विचार गर्नुपर्छ ।’

योभन्दा अगाडि नेतृ शाक्यले भनेकी छन्, ‘लोकतन्त्र हो, सडकमा जानै नपाउने चाहिँ हुँदैन । तर, धेरै कुरालाई ख्याल भने अवश्य गर्नुपर्छ ।’

तपाईँ सत्ताधारी दलकी एक नेतृ हुनुहुन्छ, सरकारको कामकारबाहीसँग कति सन्तुष्टि हुनुहुन्छ ? भन्ने प्रश्नमा नेतृ शाक्यको तर्क थियो, ‘हामी सत्ताधारी हुँदा पनि हामीले आवश्यक कुरामा सरकारलाई सम्झाएकै छौँ । तर, कतिपय कुरामा म आफैँलाई पनि सरकारको कामदेखि चित्त बुझेको छैन । यस्ता विषयहरुमाथि औपचारिक रुपमा छलफल भने हुनु जरुरी छ । यो चाहिँ भइराखेको छैन । लोकतन्त्रमा सडकमा आउनै नपाउने भन्ने चाहिँ होइन ।’

आफ्नो कमजोरीलाई पर्दा हाल्न मात्रै कांग्रेस सडकमा उत्रियो
यता सत्तापक्षकै नेता एवम् पूर्वमन्त्री मातृका यादव कांग्रेस आफ्नो कमीकमजोरी ढाक्नको लागि मात्रै सडकमा उत्रिएको बताउँछन् । ‘सरकारको पनि कमीकमजोरीहरु छन्, नभएका होइनन्’, मकालु खबरको जिज्ञासामा नेता यादवले भनेका छन्, ‘तर, अहिले कांग्रेस जसरी सडकमा आएको छ, यो चाहिँ आफ्नो कमीकमजोरीलाई ढाक्ने मेलो मात्रै हो ।’

यस्तै नेता यादवले सरकारभन्दा प्रतिपक्षी चोखो नभएको पनि बताएका छन् । उनले भनेका छन्, ‘सत्तापक्ष र प्रतिपक्ष उस्तै हो । तुलोमा राख्यो भने दुवै बराबर नै हो ।

सरकारी कमजोरीलाई स्वीकारेका नेता यादवले कांग्रेसले नक्कल गरेको टिप्पणी पनि गरेका छन् । ‘सत्तापक्ष र प्रतिपक्ष दुवै सुहाउँदै नै छन् । कांग्रेसले बढी नक्कल गर्यो ।’

प्रतिक्रिया