कांग्रेसले आज सरकारविरुद्व देशव्यापी आन्दोलन गर्दै, शीर्ष नेता को कहाँ ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशव्यापी सडक प्रदर्शन गर्दैछ । सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध कांग्रेस सडक आन्दोलनमा उत्रिन लागेको हो ।

आन्दोलनलाई सफल बनाउन शीर्ष नेताहरू नै विभिन्‍न जिल्लामा खटिएका छन् । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यालयबाट सबै स्थानमा भएका कार्यक्रमबारे ‘मोनिटरिङ’ गर्ने छन् । कोरोना संक्रमणपछि पार्टीको औपचारिक कार्यक्रममा नेताहरु जिल्ला निस्केको पहिलोपटक हो ।

संक्रमणको कहरमा कांग्रेसका औपचारिक कार्यक्रम प्रभावित हुँदै आएका थिए । सरकारलाई सडक र सदनबाट दबाब पैदा गर्ने पहिलो कार्यक्रम भएको समेत कांग्रेसले जनाएको छ । ७७ वटै जिल्लामा एकसाथ सरकार विरुद्ध उत्रनुको कारण सरकारी अर्कमष्यता र सर्वसत्तावाद विरुद्ध भएको कांग्रेसले जनाएको छ ।

कोरोनाको नियन्त्रणको नाममा भएको अनियमितता र अध्यादेशको मुद्दा पनि कांग्रेसले सडकमा उठाउने भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध प्रशासनले तनहुँमा गरेको दुर्व्यवहार तथा पक्राउको पनि विरोध गरिने भएको छ ।

शीर्ष नेता को कहाँ ?
सभापति शेरबहादुर देउवा– हेटौंडा
वरिष्ठ नेता रामचन्द्र पौडेल – काठमाडौं
उपसभापति विमलेन्द्र निधि – भक्तपुर
महामन्त्री डा।शशांक कोइराला – विराटनगर
कोषाध्यक्ष सीतादेवी यादव – ललितपुर
सहमहामन्त्री प्रकाशशरण महत – झापा
पूर्वउपसभापति गोपालमान श्रेष्ठ – काभ्रे
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला – महोत्तरी
पूर्वमहामन्त्री प्रकाशमान सिंह – धनुषा
केन्द्रीय सदस्यहरु,
अर्जुननरसिंह केसी – कास्की (पोखरा) 
डा। रामशरण महत – चितवन
गगन थापा – कैलाली
प्रदीप पौडेल – कञ्चनपुर
एनपी साउद – अछाम
चित्रलेखा यादव – सप्तरी

जिल्लातहका नेताहरुले हरेक जिल्लामा समन्वय गरेर विरोध कार्यक्रमलाई सशक्त बनाउने पनि कांग्रेस केन्द्रीय कार्यालय सानेपाले जनाएको छ ।

प्रतिक्रिया