काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक किचलो ‘वार कि पार’को स्थितिमा पुगेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आ–आफ्नो गुटका नेता/सांसदहरुसँग छलफल तथा परामर्शमा जुटिरहेका छन् । बालुवाटार र खुमलटारमा बसेर आन्तरिक रणनीति बनाउन जुटेका ओली–दाहालबीचको तिक्तताले यतिबेला नेकपा खतरातिर धकेलिँदैछ ।
यता आगामी १६ मंसिरमा केन्द्रीय सचिवालयको बैठक आह्वान गरिएको छ । बैठकपूर्व रणनीतिक ढङ्गको भेटघाट गरिरहेका नेताहरु आफू कसरी शक्तिशाली भइन्छ भन्नेतर्फ सतर्क बनिरहेका छन् । केन्द्रीय सचिवालयमै पनि अध्यक्षद्वयबीच शक्ति असन्तुलन देखिएपछि ‘तँभन्दा म के कम’को शृङ्खला चुलिएको छ । तत्पश्चात् ओली–दाहाल थप ‘सत्ता शक्ति’को खुराक पिउँदै छन् ।
१६ गते बस्ने बैठक यतिबेला सबैको केन्द्रमा छ । किन पनि भने, गत २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष दाहालले पेश गरेका १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनलाई ‘काउन्टर’ दिने गरी ओलीले पनि १३ मंसिरको बैठकमा ३७ पृष्ठ लामो प्रतिवेदन पेश गरेका छन् ।
बैठककै दिन सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आउँदो बैठकसम्म अध्यक्षद्वयको प्रतिवेदनमाथि थप अध्ययन गर्ने बताएका थिए । यद्यपि अहिले अध्ययन गरेर समस्याको समाधान खोज्नेतिर लाग्नुभन्दा नेता/नेतृत्वहरु आ–आफ्नो स्वार्थपुष्टितिर लागेका छन् ।
पहिले पेश गरेका अध्यक्ष दाहालले आफ्नो प्रतिवेदनमा पार्टी एकताको समयदेखिको अहिलेसम्मको ओलीको कमीकमजोरीहरुलाई औंल्याएका छन् भने, ओलीले त्योभन्दा अझ पछाडि फर्किएर शान्ति सम्झौतासम्म पुगी दाहालको कमीकमजोरीलाई कोट्याएका छन् ।
ओली पक्षीय नेताहरुले अध्यक्ष दाहालले प्रतिवेदन फिर्ता नै लिनुपर्ने अथवा फिर्तै नलिएपनि संशोधन हुनुपर्ने बताउँदै आएका छन् । तर, यसलाई अस्वीकार गरिसकेको दाहाल कित्ता भने अहिलेसम्मको कागजपत्र बोकेर आउँदो १८ गते डाकिएको स्थायी कमिटी बैठकसम्म पुग्ने रणनीतिमा छ । दाहालनिकट एक नेताका अनुसार उल्लिखित रणनीति बनाउन जुटेको दाहाल कित्ताको अन्तिम विकल्प यही हुनेछ ।
यता केन्द्रीय सचिवालयमै अल्पमतमा परेका ओली भने १६ गतै नै दुवै अध्यक्षको प्रतिवेदनबाटै समाधान खोज्नुपर्ने भन्दै स्थायी कमिटी बैठकमा साझा प्रस्ताव मात्रै पुर्याउने मान्यता राख्छन् ।
गौतम र थापा तानातानमा
केन्द्रीय सचिवालयमै स्पष्ट दुई धारमा विभातिज नेकपाभित्र गणपूरक संख्याको लागि उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ तानातानमा छन् । बादल आफू पूर्वमाओवादी भएपनि ओलीलाई साथ दिँदै आएका छन् । दाहाल र बादल बाल्यकालदेखिकै साथी-साथी भएपनि त्यसपछि सिर्जित राजनीतिक समस्याका कारण बादल दाहालसँग इखिएका छन् । यसको प्रत्यक्ष/परोक्ष फाइदा ओलीलाई पुगेको छ । परिणामतः बादल अहिले ओलीकै कित्तामा छन् । यद्यपि पनि उनले निर्णयक परिस्थितिमा दाहाललाई साथ दिने बुझिएको छ ।
९ सदस्यीय नेकपा केन्द्रीय सचिवालयमा अहिले दाहालसँग उपाध्यक्ष गौतम, वरिष्ठ नेताद्वय माधवकुमार नेपालसँगै झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन् । बहुमतका हिसाबले अहिल्यै पल्लाभारी देखिएका अध्यक्ष दाहाललाई बादलले पनि साथ दिएको खण्डमा ओली झन अल्पमतमा पर्छन् । यसैकारण पनि आउँदो १६ गतेकै बैठकबाट साझा प्रस्ताव बनाएर अघि बढ्ने मानसिकतामा पुगेका ओलीले अहिले उपाध्यक्ष गौतमलाई आफ्नो कित्तामा उभ्याउन चाहन्छन् ।
गौतमलाई आफ्नो कित्तामा उभ्याउने प्रयासस्वरुप ओलीको दूतका रुपमा गत शुक्रबार उपप्रधानमन्त्री ईश्वर पोखरेल भैंसेपाटी पुगेका थिए । यो विवादमा ओलीलाई साथ दिन अनुरोध गर्दै गौतमनिवास पुगेका पोखरेललाई गौतमले जवाफमा ओलीलाई आफूले दुवै पद (प्रधानमन्त्री र अध्यक्ष)बाट हटाउन चाहेको बताएका थिए । यस्तै उनले ‘तपाईँ पनि पार्टी र सरकार चलाउन हामीतिर आउनुस्’भनी प्रस्तावसमेत गरेका थिए ।
स्थायी कमिटीले गर्ला निर्मम निर्णय ?
पार्टी एकताको समयदेखि नै ‘एक व्यक्ति एक पद’को माग गर्दै आएको वरिष्ठ नेता नेपाल पक्षले नेकपाको आन्तरिक विवादबारे केन्द्रीय सचिवालय बैठकले निष्कर्ष ननिकाले स्थायी कमिटीले निर्मम निर्णय गर्न सक्ने चेतावनी दिएको छ ।
हिजैमात्रै नेपालनिकट स्थायी कमिटी सदस्य तथा पर्यटनमन्त्री योगेशकुमार भट्टराईले सो कुराबारे चेतावनी दिएका छन् ।
उनले भनेका थिए– ‘नेकपाको सचिवालय बैठकले सकेन र विवाद किनारा लाउन सकेन भने स्थायी कमिटी बैठकले निर्मम निर्णय गर्छ । त्यो निर्णय पार्टी नेतृत्वविरुद्ध पनि हुनसक्छ ।’
सुरुवातदेखि नै ‘एक व्यक्ति एक पद’को धारणा अघि सारेको नेपाल पक्ष यही विषयमा प्रधानमन्त्री ओलीसँग बढी चिढिएको छ ।