शंकर आचार्य ‘भद्रगोल’तिरै किन फर्के ?

काठमाडौं । वरिष्ठ कलाकार शंकर आचार्यको लेखन तथा निर्देशन रहेको टेलिसिरियल ‘भद्रगोल’ आजबाट पुनः नेपाल टेलिभिजनबाट प्रसारण हुँदैछ । भद्रगोल शुरु भएपछि यसले धेरै कलाकारहरु उत्पादन पनि गर्यो । टेलिभिजनमा आइसकेपश्चात् यो सिरियल मिडियाहबको अफिसियल युट्युब च्यानलमा हेर्न सकिने भएको छ ।

लामो समयपछि फेरी भद्रगोलको लेखन तथा निर्देशनको जिम्मेवारीमा फर्किएकाले पनि आचार्य निकै नै उत्साहित छन्, दर्शकको प्रतिक्रिया कस्तो आउने हो भनी । हिजो मात्र यसको प्रेसमिट कार्यक्रम सम्पन्न भएको थियो । भद्रगोल अब फरक ढङ्गबाट आउने जानकारीको लागि प्रेसमिट गरिएको थियो ।

अहिले यो सिरियलमा धेरै नयाँ कलाकारहरु रहेका छन् भने आचार्य चाहिँ सिरियलका पुरानै कलाकार हुन् । अहिले वरिष्ठ कलाकार लक्ष्मी गिरीको पनि आगमन भएको छ । पहिला जिग्री, पाँडेलगायतका टिमहरु मिलेर यो सिररियल सुरु गरेका थिए भने अहिले यसका सम्पूर्ण टिम आचार्य बाहेककाले अर्को टेलिसिरियल ‘सक्किगोनि’ निर्माण गरेका छन् ।

‘आचार्य फेरि भद्रगोलमा आउनुको कारण’
“मैले भद्रगोल १३० भागसम्म निर्देशन गरेको हुँ । तत्पश्चात् कार्यव्यस्ताको कारण छोडेको हुँ ।कसैसँग मनमुटाब भएको कारण पनि मैले छोडेको होइन । मिडियाहबले पैसा नदिएर पनि छोडेको होइन । तर यो बिचमा मिडियाहबबाट एक किसिमको अफर भने आएकै हो । ‘अब भद्रगोल तपाईँले गर्दिनुपर्यो । के गर्नु तपाईँकै अगुवाइमा आएको, अब तपाईँले नै गर्नुस्’ भनेपछि पहिला त मैले मानिनँ, तर पछि धेरै किसिमका बिचारबिमर्स र मिटिङहरु भएपछि ठिकै छ भनेर गरेको हो । ताकि निराश भएका दर्शकहरुलाई खुसी बनाउन सकिन्छ कि भनेर मैले भद्रगोल गर्न लागेको हुँ ।

यस अर्थमा शंकर आचार्य कोही पनि होइन । सबै भन्दा ठुलो भनेको भद्रगोल हो । यदि भोली भद्रगोल राम्रो भयो भने शंकर आचार्यले छोड्न पाउँदैन । राम्रो भएको खण्डमा भोलि मिडियाहबले पैसा बढाएरै तपाईँले जसरी पनी गर्नैपर्छ भन्ने स्थिति पनि आउन सक्छ ।

मैले पैसाकै लागि भद्रगोल फेरि गर्न लागेको होइन् । ‘हातको मेला सुनको थैला के गर्नु धनले, एकदिन सबै छोडेर जान्छौं साथ दिन्न तनले’ त्यसैले धन केही पनि होइन, त्यसमाथि मेरा दुबै छोराहरु सक्षम पनि भइसकेका छन् । एक गास खान र एक झुम्रो लगाउनको लागि जसोतसो पुगिहाल्छ । फेरि मैले पैसा केको लागि कमाउने ? भन्ने प्रमुख सवाल हो । त्यसो त म २०३४ सालदेखि कलाकारितामै छु । मेरो रुची भनेको अभिनयमा हो । लेखन, निर्देशन र निर्मातामा होइन । मैले खेल्न त जता पनि पाउँछु ।

हुन त म आउँदाबित्तिकै भयङ्कर नै हुने भन्ने त होइन । तर मिडियाहब  साेम धिताल सरसँग मेराे तिताेसत्य बन्नु भन्दा अगाडिदेखि राम्राे सम्बन्ध थियाे । मैले पहिला ‘शंका’ भन्ने सिरियल गरेको थिए । जसमा मेराे एउटा क्यारेक्टर थियाे । मेराे त्याे क्यारेक्टरलाई दर्शकले धेरै मनपराइदिनु भएकाे थियाे । अहिले पनि मलाई दर्शकहरुले तपाईँको त्याे क्यारेक्टर खै भनेर साेध्नु हुन्छ । तर म कतै टिक्न नसकेको भने होइन । हो जो कोहि पनि एकै ठाउँमा  त्यति टिक्न सक्दैन । म नैतिकतामा बाँचेको मान्छे हुँ । मलाई धन भन्दा इज्जत प्यारो छ ।

त्यसैले इज्जतले पैसा कमाउन सकिन्छ तर पैसाले इज्जत कमाउन सकिँदैन । भद्रगोललाई हिट बनाउनकाे लागि हामी सबै मिलेर ल्याएका हाैँ । बिचमा केहि कारण र मेराे कार्य व्यस्तताले मैले भद्रगाेल छोड्नुपर्यो । अहिले फेरि गर्नुपर्यो भनेर आ’को हुँ, अब फेरि आ’को छौँ कस्तो होला । दर्शकको प्रतिक्रिया के होला भन्ने चिन्ता छ । मलाई आत्मविश्वास छ भद्रगोल राम्रो बनाउँछु र बन्छ पनि । भद्रगोललाई फेरि मेराे आवस्यकता परेर म आएको हुँ ।

‘कलाकारितामा घुम्दै गर्दा आँसु खसेको छ’
त्यस्तो क्षणहरु त धेरै छन् । पहिला ‘कालखण्ड’ भन्ने सिरियल गर्नको लागि म गोर्खा गएको थिएँ । म सुटिङ्गमै व्यस्त थिएँ । उता आमा बित्नुभएछ । तर, बितेको खबर भाेलि पल्ट मात्र पाएँ । म कामप्रति एकदमै बफादार छु । ‘परिचय’ सिरियलको सुटिङ्गको क्रममा म त्रिपुरेश्वरमा थिएँ । त्यो बेला मेरो दाइ बिरामी हुनुहुन्थ्यो । दाइलाई अघिल्लो दिन भेटेर आएको थिएँ । भोलिपल्ट पनि म सुटिङ्गमा नै व्यस्त थिएँ ।

दाइले मलाइ भेट्न खोज्नुभएछ । फोन आयो । तर सुटिङ्ग छाेडेर जान पाइन् तर, आफ्ना आफन्तहरु सबैलाई फोन गरेर दाइलाई हस्पिटलमा गाह्रो भएको छ रे भनी खबर पुर्याएँ । तर, आफू भने सुटिङ्ग छाेडेर जान पाएन । साँझ सुटिङ्ग सकेर म त्यहाँ पुग्नुभन्दा ५ मिनेट अगाडि मात्रै दाइले प्राण त्याग्नुभएछ । कहिलेकाहीँ त कस्तो क्षेत्रमा लागेछु भन्ने पनि लाग्छ । म धेरै अभागी मान्छे हुँ । आमा, बुवा, दाइ कसैको मुख अन्तिम चरणमा पनि हेर्न पाइनँ ।

प्रतिक्रिया