विश्व रेकर्ड बनाउन नेपालका कलाकारहरूले भोलिदेखि सय घण्टा पेन्टिङ गर्दै

भरतराज शर्मा (गोपाल)

सुनसरी । नेपालका कलाकारहरूले विश्व रेकर्ड बनाउन भोलिदेखि एक सय घण्टा रिले लाइभ आर्ट डेमोन्ष्ट्रेसन गर्ने भएका छन् ।

यसअघिको विश्व रेकर्ड तोडेर नयाँ इतिहास रच्ने लक्ष्यका साथ नेपालका ७२ जना कलाकारहरूले रिले लाइभ आर्ट डेमोष्ट्रेसन गर्ने भएका हुन् ।

इन्टरनेशनल वाटर कलर सोसाइटी नेपाल शाखाको आयोजनामा हुने रिले लाइभ आर्ट डेमोष्ट्रेसनमा प्रदेश १ का पनि १२ जना कलाकारहरू सहभागी हुँदै छन् ।

यो कार्यक्रम भोलि आइतबार बिहान ललितकला प्रज्ञा प्रतिष्ठानको कार्यालयमा सञ्चार मन्त्री पार्वत गुरुङले उद्घाटन गर्नेछन् ।

लगत्तै प्रतिष्ठानका कुलपति के.के.कर्माचार्यले मन्त्री गुरुङको मुहार चित्र पोट्रेट गरेर लाइभ डेमोष्ट्रेसनको शुरुवात गर्ने कार्यक्रम रहेको छ ।

आयोजक सोसाइटीका प्रदेश १ संयोजक एवं कलाकार महेन्द्र राईका अनुसार यसअघि भारतका कलाकारहरुले निरन्तर ७२ घण्टा रिले डेमोष्ट्रेसन गरेर विश्व रेकर्ड बनाएका छन् ।

उक्त रेकर्ड तोड्ने गरी नेपालका कलाकारहरू सय घण्टा रिले डेमोष्ट्रेसनमा जुटेका हुन् । यसको लागि सबै ७२ जना कलाकारहरूको समय तालिका तयार भइसकेको छ ।

 

भोलि आइतबार रिले डेमोष्ट्रेसनको सुरुवात भएपछि सय घण्टा पुरा नभएसम्म निरन्तर कलाकारहरूले पेन्टिङ गर्नेछन् ।

यसको लाइभ (प्रत्यक्ष) प्रसार सोसाइटीको फेसबुक पेजबाट हुने पनि प्रदेश १ संयोजक राईले बताए ।

सातै प्रदेशका कलाकारहरूले ४ दिन, ४ रात र ४ घण्टा निरन्तर पेन्टिङ गर्नेछन् ।

प्रतिक्रिया