मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

दसैं ‘नोस्टाल्जिया’ छोराछोरी शहरतिर छन् रे ! फोन आउँदैन

–बुवा गाउँमा हलो जोतिरहनुहुन्छ, म शहरमा टाउको जोतिरहन्छु ।
धनबल राई
अहिलेसम्मको हरदसैंमा म घर पुगेकै छु । कारण, वर्षमा एकचोटी जन्मघर र जन्मभूमि टेकौं नै भन्ने लाग्छ । त्यसभन्दा अगाडि त जन्मदाताआमा–बाबाको माया उस्तै लाग्छ । सर्वप्रथमतः उहाँहरुको मायाले डोर्याएर मलाईघरको आँगनसम्मै छोडिदिन्छ, कमसेकम दसैंमा । भेटिन्छ, बडो आनन्दपूर्वक दसैं मनाइन्छ । परिवारका एकआपसका खुशी साटिन्छ, दुःखहरु बाँडिन्छ अनि विगतहरु महशुष गरिन्छ ।
संस्कृतिविद् तथा नेपाली राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) दाइले भेटमा भन्दै हुनुहुन्थ्यो–‘किराती मिथकसँग दसैंको कहावत कहीँकतै मिल्दैन । यो हामीले मनाउने चाड नै होइन भनेर पनि भनिन्छ । तर, फेरि हामी मनाउने गर्दछौं । किनकी, हामीले पहिल्यैदेखि मनाउदै आयौं । मनाउनै मन लाग्छ ।

समाजमा हुर्किएको रीतिलाई एकैचोटी फालिहाल्न कठिन मात्रै होइन, असम्भव पनि छ । किनकी, यो रीति समाजमा हुर्किएको हो ।’ त्यसो त म उहाँको विचारसँग एकदमै सहमत छु ।तर, जब म आफनो घरमा भव्यताका साथ दसैं मनाएर यसो गाउँ चहार्छु, केही घरमा शून्यता महसुस गर्छु । कुनै घरमा भोटे ताल्चा खुलेको देख्दिनँ । मनमा कता–कता नमीठोजस्तो आभाष भए पनि यसलाई गौण रुपमा लिन्छु । तर मन त्यो घरमा गएर अड्किन्छ, जहाँ बूढाबूढी (श्रीमान् श्रीमती)बाहेक कोही पनि हुँदैनन् । के दसैं, के दीपावली अनि के अरु चाड ? केबल दुई ज्यान, दुई मुठ्ठी सास ।
‘बाबु छोराछोरी सबै हिँडिहाल्छन् । शहरतिर छन् रे ! फोन पनि आउँदैन, नलागेकै हो कि नगरेकै हो । हामी बूढाबूढीले त थाहा पनि पाउँदैनौं । तिमीहरु त यसरी टुप्लुक्कै आइपुग्छौ । हाम्रो छोराछोरीहरु त आउँदैनन् । सायद हामी मरिसक्यौं सोच्दा हुन् ।

अब उनीहरुले हाम्रो अनुहारै देख्न पाउँदैनन् होला ।’ आफ्नो घरमा सेता टीका निधारैभरि टाँसेर गाउँ चहार्दै गर्दा एक हजुरबाबाले भन्नुभयो । मन दुख्यो, के भनौँ भनौँ भयो । ‘बेबे (हजुरबाबाः राई भाषा)मा हामी भेट्यौँ भने म भनिदिन्छु नि ।’ जवाफमा मैले यति भन्न सकेँ ।
दशैंमा सानोमा घरभित्रको बीचको चुल्हो (राईहरुको घरमा चुल्हो बीचमै राख्नुपर्दछ भनेर मुन्धुमले भनेको छ) वरीपरी रिङ्गै बसाएर मासु भात पस्केर दिने उहाँहरुको आजभोलिको त्यो गुनासोसँग म साँच्चै नै दुख्छु ।
भूमिका जति बाँधे पनि विगत जति कोट्याए पनि मनमा घर्केको कुरा यही हो कि–‘छोराछोरीसँगै हरसालको दसैं मनाउने आमा–बाबाका मन कति रुँदा हुन् दसैंको दिनलाई सम्झेर ?’ । शहरमा जन्मिएर हुर्किएकाहरुलाई यो कुरा कम थाहा हुन सक्छ । यो पीडाको महसुस कम होला ।
शहरमा त दसैं भनेको ‘जुवा तास खेल्नु’ हो भनेर बुझ्दा हुन् भन्ने पनि लाग्छ मलाई ।जाँडरक्सी पिउनु हो जस्तो लाग्छ ।
यो सन्दर्भहरुलाई लेख्दै गर्दा मलाई नेपाली प्रखर कवि भूपाल राईको कविताको खुबै याद आइरहेको छ । उहाँले लेख्नुभयो–‘गाउँमा बुबा हलो जोतिरहनुहुन्छ, म शहरमा टाउको जोतिरहन्छु,’ । नयाँ पुस्ताको दसैं पनि यो कथनभन्दा कम चाहिँ हुँदैन जस्तो भान हुन्छ मलाई ।
गाउँ त प्यारो छ । घरसँग प्रेम छ । आमाबाबाहरु प्रिय लाग्नुहुन्छ । गाउँलेहरु आफ्नै लाग्छन् । त्यसै त स्वर्गजस्तो लाग्छ, देउता बस्छन् जस्तो लाग्छ । ‘देउता पनि गाउँमै बस्छन् जस्तो लाग्छ, शहरमा त खै….?’ भन्दै हुनुहुन्थ्यो कवि मनु मञ्जिल । यसै लाग्छ मलाई पनि । उसैगरी पो चलेको छ जस्तो लाग्छ मलाई पनि ।
प्रविधिमा भिजेका छोराछोरीहरुलाई यो त वास्तै हुँदैन कि, गाउँमा आमाबाबालाई परम्परा र रीतिरिवाजले कतै रुवाएको छ ?

प्रतिकृयाहरु
Loading...