के दशैंको मुखमा फेरि लकडाउन हुँदैछ ?

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमणको अवस्था थप भयावह बन्दै गएको छ । पछिल्ला केही दिन यता नेपालमा कोरोना संक्रमितको संख्या निकै बढिरहेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या मात्र बढिरहेको छैन, नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि पछिल्ला दिनमा बढिरहेको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा नै सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिन थालेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारसम्मको विवरण अनुसार नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख ११ हजार नाघेको छ । देशभरि ३३,८८० जनामा सक्रिय सङ्क्रमण छ । तीमध्ये १९,९५७ जना घरमा र बाँकी अरू संस्थागत आइसोलेशनमा बसिरहेका छन् ।

अहिलेसम्म ६४५ सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्यांक छ । अहिलेसम्म नेपालमा ७७,२७७ जना सङ्क्रमित निको भइसकेका छन् । यो सङ्क्रमितको कुल सङ्ख्याको ६९ प्रतिशत हो ।

धेरै संक्रमित सूचीको ३९ औं स्थानमा नेपाल
अहिलेसम्म विश्वमा संक्रमित धेरै हुने देशको सूचीमा नेपाल ३९ औं स्थानमा पुगेको छ । विश्वभरको कोरोना सम्बन्धी अपडेट गर्दै आएको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म २ सय १४ देश कोरोना फैलिएको छ ।

नेपाल भन्दाअघि ३८ औं स्थानमा कुवेत छ । कुवेतमा संक्रमितको संख्या एक लाख ११ हजार रहेको छ । अहिलेसम्म विश्वभर ३ करोड ८० लाख ३५ हजारमा कोरोना पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै संक्रमित अमेरिका, भारत र ब्राजिलमा छन् ।

नेपालका कुल संक्रिय संक्रमितमध्ये वाग्मती प्रदेशमा सबैभन्दा बढी छन् । तीमध्ये पनि अधिकांश काठमाडौं उपत्यकाका हुन् । अहिले काठमाडौं उपत्यकाका तीन जिल्लामा २१,७३९ जनामा सक्रिय सङ्क्रमण छ । यो देशभरि भएका सक्रिय सङ्क्रमितको ६४ प्रतिशत हो ।

फेरि लकडाउन होला त ?
नेपालीको प्रमुख चाड दशैँ मुखैमा रहेको र सङ्क्रमितहरूको सङ्ख्या व्यापक रूपमा बढिरहेको अवस्थामा धेरैमा अबको सरकारी कदम के हुन्छ भन्ने विषयमा व्यापक कौतुहलता रहेको पाइन्छ ।

विशेषतः चाडबाडका बेला एक ठाउँबाट अर्को ठाउँ जाने र आफन्तहरूसँग भेटघाट अन्य समयमा भन्दा बढी गरिने हुँदा अबको एक हप्तामा सुरु हुने पर्वअघि के हुन्छ भन्ने विषयमा चासो बढेको हो । तर बढ्दो सङ्क्रमण दर अनि दशैँको आगमन नजिकिएको अवस्थामा के हुन्छ त ? यसको स्पष्ट जवाफ सरकार जिम्मेवार निकायहरूसँग छैन ।

उपत्यकाका तीन जिल्लाका अधिकारीहरू हाल पर्ख र हेरको अवस्थामा देखिन्छन् । साप्ताहिक रूपमा दुई देखि तीन दिनसम्म काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक भइरहेको भए पनि निषेधाज्ञाका विषयमा भने छलफल केन्द्रित नभएको उनीहरू बताउँछन् ।

‘हामीले पछिल्लो अवस्थाको समीक्षा गरिरहेका छौँ । विज्ञहरूसँग पनि परामर्श गरिरहेका छौँ,’ जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने । अत्यावश्यक सेवा मात्रै सञ्चालनमा राखेर अरू सेवा स्थगन गर्ने हो कि भन्ने सोचमा पाि आफूहरु रहेको उनको भनाई छ ।

‘लकडाउन नै गर्ने नगर्ने चाहिँ कुरा भएको छैन । क्षेत्रगत रूपमा लकडाउन पनि गर्न सकिन्छ । त्यो भनेको कुनै वडा वा टोलको अवस्था हेरेर प्रतिबन्धात्मक व्यवस्था कायम गर्ने हो’ प्रजिअ दाहालले भने ।

के छ सरकारी तयारी ?
सरकारका प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कोराना महामारीमा नागरिक सचेत नभएका कारण ‘कडा कदम चाल्न’ सरकार बाध्य हुने चेतावनी दिए । दसैँको मुखमा सरकारले लकडाउन गर्ने हल्ला चलिरहँदा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री ज्ञावलीले यस्तो संकेत गरेका हुन् ।

नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै प्रवक्ता ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताएका हुन् । यद्यपि, उनले अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको बताए ।

तर, नागरिक संवेदनशील नभए लकडाउनको विकल्प नहुने उनले बताएका छन् । चाडबाडको समयमा नागरिक सचेत भए लकडाउन गर्ने अवस्था नआउने, तर लकडाउन गर्ने कि नगर्ने कुरा नागरिकले सरकारी आग्रह कति पालना गरिरहेका छन् भन्नेमा भरपर्ने उनले बताए ।

प्रतिक्रिया