दशैंको पूर्वसन्ध्यामा गाडी चालकको दु:खेसो : आधा सिटको आम्दानीले खानै पुग्दैन

  • सृष्टि नेपाल (द्वारिका)

काठमाडौं । पाँचखालका विक्रम सापकोटाले १९ वर्षको उमेरदेखि काठमाडौं–बाह्रबिसे तातोपानी सडक खण्डमा बस चलाउन सुरु गरे । सानैदेखि सहचालकका रुपमा गाडी लाइनमै काम गरेका उनले ५२ सालदेखि मात्रै चालकको उपमा पाएका हुन् ।

त्यसअघि होटलमा २–३ सय ज्यालामा काम गर्थे विक्रम । यातायात क्षेत्रमा आम्दानी राम्रो हुने सुनेपछि यतातर्फ आकर्षित भएका हुन् । तर पछिल्लो समय यो क्षेत्रमा व्यर्थै लागिएछ भन्ने ग्लानी बढेको छ उनीमा ।

यातायात क्षेत्रप्रति ग्लानी बढ्नुको कारण एउटै छ–कोभिड १९ को महामारी !

चीनको वुहानमा संक्रमण सुरु भएको करिब तीन महिनापछि नेपालमा पनि कोभिड १९ ले प्रभाव जमाउन सुरु गर्यो । चैत्र ११ देखि त आन्तरिक रुपमै बन्दाबन्दी सुरु भयो । उद्योग, कलकारखाना ठप्प भए । सवारी साधनहरु समेत चल्न पाएनन् । दैनिक ज्यालादारीका मजदुरदेखि धनाढ्यसम्म घरभित्रै थुनिए ।

साउनको पहिलो सातातिर लकडाउन खुलेसँगै व्यापार व्यवसाय सुरक्षित तवरले पुनः सुचारु हुन थाले । यद्यपी, ठेलागाडा तथा फुटपाथका व्यापारी भने मारमै थिए । विस्तारै यी व्यापारमा पनि समय निर्धारण गरेर सरकारले थप खुकुलो बनायो । तर यातायात व्यवसायीले भने लकडाउन खुलेको लामो समयसम्म पनि सञ्चालनको अनुमति पाएनन् ।

अनुमति नपाउनुको कारण थियो संक्रमण भयावह रुपमा फैलने डर !

यातायात सञ्चालन हुँदा एक जिल्लाबाट अर्को जिल्लामा संक्रमण सजिलै पुग्न सक्ने आँकलन गर्दै सरकारले लामो समयसम्म यातायात बन्द गरेको हो । अहिले स्वास्थ्य मापदण्डका विभिन्न सहमति पश्चात् असोज १ गतेबाट यातायात व्यवसायीले सञ्चालनको अनुमति त पाए तर सन्तुष्ट भने छैनन् उनीहरु ।

सरकारले भौतिक दुरी कायम गरी सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने भनेपछि उनीहरुमा असन्तुष्टि र निराशा छाएको हो । चालक सापकोटा पनि सरकारको उक्त निर्णयमा असन्तुष्टि पोख्छन् ।

कोरोना संक्रमणको डरले यात्रुहरु यात्रा गर्न डराएका कारण पनि बस खालीखाली कुदाउनु परेको उनको गुनासो छ । उनी भन्छन्– ‘१७ जना मात्रै यात्रु चढाउन पाइन्छ । बसपार्कबाट ४ जना पनि चढ्दैनन् । रित्तो बस गुडाइरहेका छौँ ।’

खाली बस कुदाउँदा आम्दानीभन्दा बढी खर्च हुन्छ उनको । पहिले दैनिक १४–१५ हजार संकलन हुन्थ्यो, अहिले ४–५ हजार मात्रै हुन्छ । ६ हजारको त तेल नै हाल्नुपर्छ । साहुलाई पनि दिनैपर्यो । सहचालकलाई भत्ता नदिउँ भएन । खाना खर्च समेत कटाउन पुग्दैन अहिलेको आम्दानीले ।

अझ स्वास्थ्य मापदण्ड पुरा गर्न पनि खर्चै लाग्छ । मास्क नलगाई चढेका यात्रुलाई गाडीमै मास्क र सेनिटाइजरको व्यवस्था गरेका छन् उनले । गाडी पनि दिनहुँ सेनिटाइज गर्ने गरिएको ४४ वर्षीय चालक सापकोटा बताउँछन् । उनका अनुसार यी सरसरती खर्च कटाउँदा आम्दानी सुक्को बस्दैन । उल्टो आफ्नै खल्तीबाट खर्च झिक्नुपर्छ ।

यी नै कारण यातायात व्यवसायतिर वितृष्णा बढेको हो उनको । यद्यपी यो पेशालाई चटक्कै माया मार्न भने सक्दैनन् उनी । विगत २५ वर्षदेखि यही पेशामा लागेका उनी यसैमा पोख्त छन् । जिविका चलाउनकै लागि भएपनि यो पेशाबाट हात झिक्न त्यति सम्भव छैन !

‘पहिले अरु नै काममा हात हालेको भए हुने रहेछ, यो त कामै लागेन’, उनी भन्छन् ।

रह्यो कुरा आउँदै गरेको दशैंको…।

परिस्थिति नबुझेका परिवारलाई यो दशैं नमिठो लाग्न सक्छ । बुझ्नेलाई त यसै मिठो त्यसै मिठो । चालक विक्रमलाई पनि दशैंको खासै चिन्ता छैन । आफ्नो आवश्यकता आफैँ पुरा गर्न सक्षम भइसकेका छन् छोराछोरी । अहिलेको परिस्थितिबारे जानकार छ परिवार ।

पाहुना आउजाउको वातावरण छैन, टिकाटालामा खर्च पनि कमै हुने उनको आँकलन छ ।

हुन पनि कतिका परिवारले शहरमा काम गरिरहेका छोराछोरीलाई जोखिम मोलेर दशैंमा घर नआउन सुझाव दिइरहेका छन् ।

स्वास्थ्य मन्त्रालयले पनि बारम्बार सचेत गराइरहेको छ–‘कतै गाउँ जाँदा बुवा–आमालाई कोरोना कोसेली त लैजाँदै हुनुहुन्नँ ?’

अर्को झन्झट पीसीआरको छ । काठमाडौं उपत्यकामा संक्रमण बढेसँगै बाहिरी जिल्ला आउजाउमा पीसीआर परीक्षण अनिवार्य गरिएको छ । १५ दिने क्वारेन्टिनको हिसाब त अझै बाँकी छ । यी सारा झन्झट व्यहोरेर टिकाटालामा जाने कमै हुन्छन् ।

‘यो वर्षको दशैं कमैले धुमधामले मनाउलान् । हाम्रो पनि नहोला । पहिले २०–३० हजार जति खर्च हुन्थ्यो । अहिले परिस्थिति ठिक छैन,’ उनी भन्छन्–‘खसी काटिँदैन यो वर्ष । आफू अन्त जाँदैनौ, टिकाटालाका लागि कोही आउँछन् जस्तो पनि लाग्दैन ।’

यातायात क्षेत्र चौपट, व्यवसायी मारमा

यातायात व्यवसायीका लागि चाडपर्व आम्दानीको सिजन हो । दशैं तिहार त मुख्य सिजन हुन् । तर सिजन आएपनि यो वर्ष आम्दानी नहुने सापकोटा बताउँछन् । ‘यसअघिका दशैंमा यात्रुहरु खचाखच हुन्थे । टिकाको दिनपनि गाडी चलाउँथ्यौँ । अहिलेको दशैंमा त खासै मान्छे हुँदैनन् । पहिले जस्तो यात्रुको चाप नै कहाँ छ र’, उनको अनुभव छ ।

विक्रमले कारोनाले यातायात व्यवसायी मारमा परेको पनि सुनाए । लामाे समयदेखि यही क्षेत्रमा आबद्ध रहेका कारण पनि यातायात व्यवसायीकाे पीडा बुझ्छन् उनी । यातायात सुचारु भएपनि आम्दानी कम हुँदा ऋणमा गाडी लिएका व्यवसायीलाई ब्याज र किस्ता तिर्न सकस परेको छ । अब यो क्षेत्रका श्रमिकको भविष्य के हुने भन्ने अन्यौल रहेको उनको भनाई छ ।

‘६ महिनासम्मको बन्दाबन्दीले गाडी किन्ने व्यवसायीहरु मारमा परेका छन् । ८५ हजारसम्मको मासिक किस्ता हुन्छ, तिर्न सकेका छैनन्’, उनी भन्छन्, ‘आधा सिटको आम्दानीले खानै पुग्दैन । यातायात क्षेत्र पाँच वर्ष पछाडि धकेलियो, ब्युँतन समय लाग्छ ।’

दशैंताका फेरि लकडाउन हुने हल्लाले मन धमिलो बनाएको छ उनको । ‘अब लकडाउन नगरिदिए विस्तारै यो क्षेत्र पनि तंग्रिन्थ्यो । बन्द भएन भने टिकाको दिनमा पनि काम गरिन्छ ।’

सापकोटा परिवारमा कोरोनाको प्रभाव

चैत्र ९ गते घर गएका विक्रम सापकोटा १३ गतेदेखि लकडाउन भएपछि उतै बसे । अहिले गाडी चलाउने दिने निर्णय भएपछि काठमाडौं आएका उनको यता कोठा छैन । होटलमा खाना खान्छन्, गाडीमा सुत्छन् ।

बाह्रबिसेमा श्रीमतीले पसल थापेकी छिन्, तर चल्दैन । ८०–९० हजार सटर भाडै तिर्नुछ । २–३ हजारको व्यापार हुन थालेको छ भर्खर–भर्खरै । त्यतिले खर्च समेत उठ्दैन ।

‘मलाई मात्रै होइन, कोरोनाले सबैको जीवनलाई प्रभावित बनायो । धनीहरुलाई त के नै प्रभाव पार्थ्याे र, गरीब जनता मात्रै मारमा पर्ने हो । अरुजस्तै खरबपति हुन्थ्यौँ भने त के नै मतलब हुन्थ्यो र ? हामीलाई त आज कमाएर बेलुकी खानुपर्छ’, उनी भन्छन् ।

अरुबेला मासिक ४५ हजारसम्म आम्दानी हुन्थ्यो । अहिले त हुँदा लियो, नहुँदा छैन ।

उनलाई लाग्छ–‘अब त गाडीमा लगानी कमैले गर्छन् । यो क्षेत्रको अवस्था नाजुक छ !’

प्रतिक्रिया