गायक यशकुमारको प्रश्न : ‘सती प्रथा हटाएको सरकारले जातीय छुवाछुत किन हटाउन सक्दैन ?’ (भिडियाेसहित)

  • एन्जिला क्षेत्री

काठमाडौं । गायक तथा अभिनेता यशकुमार अहिले आएर केही व्यापार व्यवसाय गर्ने सोचमा छन् । कोरोनाकाल शुरु भएदेखि सबै क्षेत्र ठप्प छन् । नेपाली संगीत क्षेत्र र चलचित्र क्षेत्रमा उही ताल छ । यसैबीच यशकुमार पनि फसेका छन् । उनका गीतहरु स्टूडियोमा अड्केर बसेका छन् ।

कति रिलिज गर्नको लागि तयार पारेका गीतहरु पनि रिलिज गर्न पाएका छैनन् । अब अलि सहज वातावरण बन्यो भने पेन्डिङमा रहेका गीतहरु रिलिज गर्ने तयारीमा छन्, यशकुमार । कलाकारिता भनेको कुनै १०–५ को कार्य नभएको कारण पनि यसलाई घरमा नै बसेर पनि गर्न सकिन्छ । त्यस्तै पछिल्लो समय गीत संगीत र चलचित्रका स्क्रिप्टहरुमा व्यस्त छन्, यशकुमार ।

बन्दाबन्दीले गर्दा कलाकारिताको काम नरोकिएता पनि बजार व्यवस्थापनको काम भने रोकिरहेको छ । त्यसैले बन्दाबन्दी भए पनि कलाकारिताको कामहरु कलाकार घरमै बसेर पनि गरिरहेका छन् । यशकुमार गायक मात्र होइनन्, उनी नायक र डिरेक्टर पनि हुन् । गायकबाट नायक बनेका उनले चलचित्र ‘बाटो मुनिको फूल’लगायतका केही अन्य चलचित्रमासमेत काम गरिसकेका छन् ।

हरेक काम गर्न गाह्रो त छँदै छ । यशकुमार भन्छन्– ‘गाउँदा टिमको क्याप्टेन नै आफैँ हो, तर अभिनय गर्दा अलिकति नाटक गरेर ख्यालख्यालमा रुनुपर्ने हाँस्नुपर्ने हुन्छ । त्यसैले अभिनय अलि गाह्रो जस्तो लाग्छ ।’
यशकुमार प्रायः समाजमा घटेका यथार्थ घटनालाई चित्रण गरेर गीत बनाउने गर्छन् । विशेषगरी छुवाछुतका घटनाहरु समावेश गरेको पाइन्छ, उनका गीत संगीतमा ।

समाजमा घटेका घटनाहरुलाई चलचित्र होस् अथवा गीत संगीतको माध्यमबाट समाजमा सकारात्मक प्रभाव पार्न सकिने गायक यशकुमारको भनाइ रहेको छ । तर, पनि समाजमा त्यस्ता किसिमका घटनाहरु घटिरहेका नै हुन्छन् ।

उनी भन्छन् –‘मानवको रुपमा सबै मानव मात्र छैनन् । कति अमानव पनि छन् । तर, मानवहरुले त्यस्ता किसिमका घटनाहरुलाई निर्मूल पार्दै लानुपर्छ । तर, सकिरहेको छैन । समाजको चेतनशिल प्राणी भएर पनि आफूलाई जनावरजस्तो बनाएर राखेका छन् । यदि मलाई कसैले हेप्यो भने मलाई उनीहरुप्रति दया लागेर आउँछ । यो मान्छे मानवको नाममा कसरी रोगी भयो ?’

यशकुमार असन्तुष्टि छन्, ‘जुन मान्छेहरु समाजमा बाहिर–बाहिर यो कु–प्रथा हो यसलाई हटाउनुपर्छ । भन्नेहरु भित्री रुपमा उनीहरुले नै त्यस्तो गरिरहेका हुन्छन् । किन हाम्रो समाजले अन्धविश्वास र कुरीतिको खोल ओढिरहेको छ ? कहिले उठ्छ हाम्रो समाज माथि ?’

समाजबाट यस्ता कुरीतिहरुलाई हटाउन कानून बलियो हुन जरुरी छ । यशकुमार भन्छन् –‘सती प्रथा हट्यो । त्यो पनि सरकारले नै हटाएको हो । तर जातीय छुवाछुत किन हटाउन सक्दैन सरकारले ?’

प्रतिक्रिया