संघर्षको जीवन त अब शुरु हुन्छ : प्रताप दास [भिडिओवार्ता सहित]

–एञ्जिला क्षेत्री

काठमाडौं । नेपाल आइडल सिजन २ का तेस्रो विजेता हुन् अहिलेका व्यस्त गायक प्रताप दास । ललितपुरमा जन्मिएर हुर्केका प्रतापले चापागाउँस्थिति ज्योतिद्वय स्कूलमा कक्षा १० सम्मको अध्ययन गरे । उनले पूर्णतारा इन्टरनेशनल कलेजबाट प्लस टूको अध्ययन सकाए । प्लस टू सकेर ब्याचलर पढ्ने बेलामा कलानिधि विद्यालयमा संगीत सिके उनले । त्यसपछि भने संगीतलाई निरन्तरता दिन थाले ।

एउटा मध्यम वर्गीय परिवारमा जन्मे हुर्केका प्रताप सानोमा चञ्चल स्वभावका थिए । उनको परिवार नै म्युजिकमा रमाउँथ्यो । बाबा, दाइ, दिदीलगायतका सबैकै संगीतप्रति गहिरो मोह थियो । उनका बाबा रिटायर आर्मी हुन् । प्रतापको घरमा खेलौनाहरु पनि गीत संगीतकै हुन्थे । जब उनले वास्तविक जीवन के रहेछ भन्ने थाहा पाए, उनलाई लाग्यो मेरो लागि म्युजिक नै दुनियाँ हो । प्रताप भन्छन् –‘म गायक बन्छु भन्दा पनि म्युजिसियन बन्छु भन्ने थियो ।’

उनलाई स्कूलमा शिक्षकहरु र साथीहरुले गाउन लगाउँथे । त्यसपछि उनलाई महसुस हुन थाल्यो कि, मैले पनि गाउन सक्दोरहेछु । जब उनले स्कूलका कार्यक्रमहरुमा गाउँदा सबैले तिमी राम्रो गाउन सक्छौ, यसलाई स्कूलपछि पनि निरन्तरता देऊ भन्न थाले । त्यसपछि उनले आफू गायक नै बन्ने ठूलो सपना देखे । सबै साथीभाइहरुको हौसलाले गर्दा प्रतापलाई पनि अब म गायक नै बन्छु भन्ने भयो । तर प्रतापलाई सानैदेखि गायक भन्दा पनि एउटा राम्रो म्युजिसियन बन्छु भन्ने नै भएको उनी बताउँछन् ।

प्रतापले सानैदेखि नारायण गोपाल, भक्तराज आचार्य, गुलाम अलीलगायतका गीतहरु सुन्ने गरेता पनि उनले प्रमोद खरेल, सुगम पोखरेल, सत्य–स्वरुपहरुको गीत पनि खुबै मन पराउँथे र गाउँथे पनि । ‘गीत संगीतमा भर्खरै सुरुआत् गरेको छु । सफलता अहिले नै देखिन्छ भन्ने लाग्दैन मलाई, किनकी अहिले राम्रो भइरहेको छ । त्यसैलाई सफल भनिन्छ जस्तो लाग्दैन । सफल त त्यतिबेला भइन्छ । २० वर्षपछि पनि मैले म्युजिकलाई यसरी नै निरन्तरता दिन सकेँ भने यो क्षेत्रमा सफल भएको मान्छु ।’

प्रताप नेपाल आइडलमाभन्दा पहिला नेपाली तारा सिजन ३ मा सहभागी भएका थिए । प्रताप नेपाली तारामा पन चौँथो भएका थिए । हरेक विधाका गीत संगीतलाई उतिकै न्याय गरेर गाउन सक्ने प्रताप नेपाल आइडलमा तेस्रो भएका थिए । पछिल्लो समयका व्यस्त गायक मध्येमा पर्छन् प्रताप । भन्छन् –‘प्रोडुसर हेरेर पारिश्रमीक लिने गर्छु ।’

धेरैलाई लाग्न सक्छ, प्रताप काठमाडौंकै हो । उसलाई त्यति संर्घष गर्न परेन । तर, उनलाई घरबाट काठमाडौंमा म्युजिक सिक्न आउन २ घण्टाको गाडीको यात्रा गर्नुपर्थ्यो । म्युजिक कक्षामा आएर उनले दिनभरि पर्खनु पर्थ्यो । कहिलेकाहीँ भाडा नभएर प्रताप चोकमा बसिरहन्थे । सघर्ष हरेक क्षेत्रमा हरेक व्यक्तिले गरिरहेको हुन्छ । जुन, प्रतापले पनि गरिहरहेका छन् ।

भन्छन् –‘जब मान्छे चलिरहेको हुन्छ त्यतिबेला संघर्ष हुँदैन । आफू जुन क्षेत्रमा लागेको हुन्छ, त्यहीँ क्षेत्रमा काम गर्नैपर्छ, रिजाउने मान्छेलाई रिजाउनैपर्छ । संघर्ष त्यतिबेला हुन्छ, जब म चलिसकेर केही समयको अन्तरालपछि काम पाउँदिनँ अनि संघर्ष शुरु हुन्छ ।’

 

प्रतिक्रिया