हिमालद्वारा उत्पादित कार्यक्रम डिश मिडियाबाट प्रसारित हुने

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड र हिमालमिडिया प्रालीबीच टेलिभिजन कार्यक्रम निर्माण र प्रसारसम्बन्धी समझदारी भएको छ। समझदारी अनुसार अब हिमालमिडियाद्वारा उत्पादित अडियो भिजुअल कार्यक्रम डिश मिडियाबाट प्रसारित हुनेछन्।

डिश मिडियाका अध्यक्ष हेमराज ढकाल र हिमालका प्रकाशक कनकमणि दीक्षितद्वारा हस्ताक्षरित समझदारी अनुसार हिमालले समसामयिक विषयमा उत्पादन गर्ने अडियो–भिजुअल कार्यक्रमहरू डिश मिडिया मार्फत प्रसारण हुनेछन्।

 

“देशभित्रै निर्माण गरिएका कार्यक्रमहरूको प्रसारण बढाउँदै लैजाने नीति अनुरूप हिमालसँगको समझदारी बनेको हो” डिश मिडियाका अध्यक्ष ढकालले भने, “समसामयिक विषयहरूमाथिको अनुसन्धान, विश्लेषण र प्रस्तुतिमा हिमालको समाचार कक्षको दक्षताले हामीलाई आकर्षित गरेको हो।”

ढकालका अनुसार हिमालबाट उत्पादित कार्यक्रमहरूमार्फत देशभित्रको अडियो भिजुअल कार्यक्रम उत्पादनको प्रवृत्तिमै सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ।

 

हिमालका प्रकाशक दीक्षितका अनुसार लामो समयदेखि प्रिन्ट र केही हदसम्म डिजिटलको अनुभव सँगालेको हिमालका लागि यस्ता कार्यक्रम निर्माण चुनौती त हो नै सँगै अन्तर्राष्ट्रियस्तरको अडियो भिजुअल उत्पादन र प्रसारणमा नेपालीहरू सक्षम छन् भन्ने स्थापित गर्ने अवसर पनि हो।

विगत दुई दशक भन्दा बढी समयदेखि साप्ताहिक हिमाल खबरपत्रिका र नेपाली टाइम्स विक्ली प्रकाशन गर्दै आएको हिमालले कोभिड–१९ को संक्रमण बढ्न नदिन सरकारले बन्दाबन्दी लगाएसँगै हाललाई उक्त दुवै प्रकाशन स्थगन गरेको छ।

 

प्रतिक्रिया