गौतमको सिफारिस कहिले ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई बिहीबारको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गर्यो ।
त्यसपछि शुक्रबार (हिजो) बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यमा गौतमलाई सिफारिस गर्ने भनिएको थियो । तर, सिफारिस गरिएन ।
त्यसो त उता अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिइसकेका छन् । गत १८ भदौको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीले गौतमलाई राष्ट्रिय सभामा पठाउने भनिसकेकाले त्यो निर्णयमा दायाँबायाँ नहुने एक ओलीनिकट नेताको भनाइ छ ।
⇒ ‘बामदेव गौतम मन्त्री बन्नलाई संविधान संशोधन हुनुपर्छ’
उता बरिष्ठ नेता झलनाथ खनालले पनि सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गरिसकेकाले आशंका गर्नुपर्ने ठाउँ नभएको बताउँछन् ।
यसअघि गत फागुन १४ गतेको सचिवालय बैठकले पनि गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।
तर, प्रधानमन्त्रीले पार्टी निर्णयलाई बेवास्ता गर्दै पुनः युवराजलाई नै दोहोर्याउनेमा अडिग रहेका थिए । यस पटक पनि त्यस्तै हुने हो वा घटनाक्रमले अर्कै मोड लिने हो कि भन्ने शंका गर्न थालिएको छ ।
यद्यपि यसपटक भने खतिवडाले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् ।








