अहिले उद्योग क्षेत्र महासंकटमा छ: व्यवसायी प्रदिप मुरारका

३० दशक लामो यात्रा पार गरेको पशुपति पेन्टस् नेपालको पहिलो उद्योग हो । आम नागरिकहरुको पहिलो रोजाईमा पशुपति पेन्टस् पर्ने गर्दछ । विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) का कारण स्वास्थ्य, सामाजिक, आर्थिक साथै औद्योगिक क्षेत्रमा प्रत्यक्ष असर परेको छ ।

लामो समयको लकडाउनका कारण देशको अर्थतन्त्र नै थलिएको अवस्थामा नेपाली उद्याेगहरू समेत काेराेनाकाे चपेटामा परेका छन् । हाल महामारीले सृजना गरेको अप्ठयारो परिस्थितिमा उद्योगमा पर्न गएको समस्या साथै पशुपति पेन्टसको बजारको अवस्था र महामारीको समयमा उद्योग कसरी सञ्चालन भईरहेको छ भन्ने विषयमा केन्द्रित रहेर उद्योग संगठन मोरङका उपाध्यक्ष तथा मुरारका इन्डस्ट्रिजका निर्देशक प्रदिप मुरारकासँग मकालु खबरकर्मी सुजता लिम्बूले गरेको कुराकानीको सम्पादित अंशः-

  • कोरोना महामारीको समयमा उद्योग कसरी सञ्चालन भईरहेको छ ?
    कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकणका लागि सरकारले चैत्र ११ गते लकडाउन घोषण गरेसँगै उद्योग धन्दा संकटमा परेको महसुश भएको छ । उद्योगले आफ्नो उत्पादन सञ्चालन गर्न पाएको छैन । भएको उत्पादनलाई निर्यात गर्न सकिएको छैन । आफुले पठाएको मालको पैसा उठाउन गाह्रो भएको छ । सरकारले जारी गरेको लामो समयसम्मको लकडाउन, पुनः निषेधाज्ञाले सबै भन्दा धेरै मार उद्योगले नै बेहोर्नु परेको छ । यो अवस्थामा कामदारहरू हटाउन उनीहरुलाई पनि समस्या हुन्छ, काम नभए पनि स्टाफहरुलाई पनि संरक्षण दिनैपर्छ । विद्युतको बिल पनि तिर्न पर्छ, उद्योगलाई बैँकको व्याजले भार परेको छ । समग्रमा भन्नुपर्दा नेपाली उद्योग व्यवसायहरू महासंकटमा छन् ।

सरकारले त उद्योग कलकारखाना सञ्चालन गर भनिरहेको छ नि ? उद्योग सञ्चालनका लागि समस्या के-के हुन ?
हो, तपाईले भने जस्तै सरकारले उद्योग सञ्चालनमा रोक लगाएको छैन । तर उद्योग सञ्चालन गर्ने वातावरण पनि त हुन पर्यो नि। उत्पादनलाई आफ्नो कम्पाउडभित्र राखेर हुँदैन यसमा आवतजावतको समस्या छ । टेक्निकल मान्छेहरु बाहिर बस्छन् उनीहरुलाई ल्याउन पुर्याउन समस्या छ । उत्पादन भएका माल विक्रि गर्न समस्या छ मार्केट छैन । बिक्री गरेको माल भुक्तानी गर्न समस्या छ । सरकारले उद्योग सञ्चालन गर भनेपनि उद्योग चल्न धेरै चुनौतिहरु छन् । अति आवश्यक खाद्यान्न सामान बाहेक, अन्य सामानहरुको डिमाण्ड धेरै कम छ ।

निजी क्षेत्रबाटै उद्योग राज्यमन्त्री भएर मोतिलाल दुगड आएका छन् नि, उनले उद्योगीको समस्या सुनेका छन् ?
उहाँ आफ्नो तर्फबाट त लागिरहनुभएको छ तर, जहिले देखि राज्यमन्त्री बन्नुभयो कोभिडको महामारीले लकडाउनको सृजना भयो । हाल समस्या भनेकै कोराना महामारीबाट निम्तिएको लकडाउनले हो नत्र उद्याेगमा समस्या केहि छैन । अहिलेको अवस्थामा उद्योग बचाउन भन्दा पनि मान्छे बचाउन तर्फ लागिरहेका छाै‌ं । केहि हदसम्म उद्योग सञ्चालन होस्, बैंकको व्याज तिर्न सकियोस भन्नेतर्फ मात्रै हाम्रो ध्यान छ । हाल उद्योगका आन्तरिक कुरालाई थाति नै राखेका छौ । सिंगो सरकारको ध्यान कोभिडबाट बच्ने भन्ने तर्फ भएकाले हामीहरू पनि त्यतातर्फ नै छाैं ।

नेपालका लागि चाहिने सबै बस्तुहरू स्वदेशमै उत्पादन गरेर देशलाई आत्मनिर्भर बनाउन के गर्नुपर्छ ?
देशलाई चाहिने सबै प्रकारका बस्तुहरू स्वदेशमै उत्पादन गर्ने र आत्मनिर्भर बनाउन सर्वप्रथम लोकल वस्तुलाई प्राथमिकता दिनुपर्छ । कृषि प्रदान देश भएर पनि चामल, धान, गहु, सागसब्जी जस्ता खाद्यान्न भारतबाट आयात गरिरहेका छौं । कृषि क्षेत्रमा अपार संभावना हुँदा हुँदै हामीहरू आत्मनिर्भर बन्न सकेका छैनाैं । कृषि उत्पादनमा कुनै टेक्नोलोजी चाहिँदैन, तरपनि हामी आत्मनिर्भर हुन सकेका छैनाै‌ं । लोकल उत्पादनलाई पहिचान गरेर त्यस्ता वस्तुहरुको उत्पादन वृद्धि गरेर नेपालमा नै उपभोग गरे देश आत्मनिर्भर बन्न सक्छ ।

उद्योग संगठन मोरङले कोरोना महामारीको समयमा के गरिरहेको छ ?
कोरोना महामारीमा हाम्रो संगठनले विभिन्न स्थानमा गाउँपालिकासँग समन्वय गरेर राहत वितरण गरेका छौं । स्वास्थ्य सामग्री मास्क, सेनिटाईजर वितरण गरेका छौं । प्रदेश, स्थानीय सरकारसँग समन्वय गरेर सक्दो सहयोगहरु गरेका छौ‌ं । यसका अलावा उद्याेग व्यवसायमा देखा परेका समस्याहरू कसरी हल गर्न सकिन्छ भनेर उद्याेगी व्यवसायीहरूसँग छलफल, विचार विमर्शहरू गरिरहेका छाैं ।

तपाईकाे आफ्नाे उत्पादन  पशुपति पेन्टसको बजार कस्तो छ ?

पशुपति पेन्टस नेपाली बजारमा राम्राे ब्राण्डका रूपमा स्थापना भइसकेकाे छ । उपभाेक्ताहरूले हाम्रा प्राेडक्टहरूलाई रूचाइदिनु भएकाे छ । तर, पछिल्लाे समयकाे कुरा गर्दा काेराेना संक्रमण पछि बजार ठप्प छ । उत्पादन पनि बन्द छ । वर्षा पछि चाडवाडहरू नेपालीकाे घरघरमा भित्रने गर्दा हाम्राे पनि बजार बढ्थ्याे । तर, काेराेना संक्रमण र लकडाउनले यसपटक ६० प्रतिशत भन्दा बढि गिरावट भयाे । ६ महिना लामो लकडाउनको अवस्थाले प्रथम प्राथमिकता त मान्छेको खाद्यान्न नै हो । निर्माण सामग्रीको बजार ओरालिएको अवस्था छ ।

पशुपति पेन्टसले कति प्रतिशत बजार लिएको छ ?
नेपालको पहिलो उद्योग हो पशुपति पेन्टस् । यसको बजार नेपालको तेश्रो स्थानमा छ । हामीले अहिलेसम्म उपभाेक्ताकाे मन जित्न सफल भएका छाैं । अन्तराष्ट्रिय गुणस्तरकाे उत्पादन भएकाेले उपभाेक्ताहरूले रूचाउनु भएकाे छ ।

ग्राहकहरुले पशुपति पेन्टस् नै किन प्रयोग गर्ने ? के छ विशेषता ?
नेपालको सबै भन्दा पुरानो उत्पादन हो पशुपति पेन्टस् । हामीले गुणस्तरमा कहिल्लै सम्झौता गरेका छैनाैं । हाम्रो गुणस्तर र मूल्यको हिसाबले अन्तराष्ट्रिय स्तरको भन्दा राम्रो र सुपथ मुल्य समेत रहेकाे छ । पूर्णरुपमा स्वदेशी लगानीले उत्पादन भएकोले नेपाली बजारमा हाम्राे छुट्टै विषेशता छ ।

विदेशी ब्राण्डसँग नेपाली ब्राण्डले पतिष्पर्धा गर्न सक्ने अवस्था छ ?
त्यो त एकदम नै ठूलो चुनौती छ । अन्तर्राष्ट्रिय ब्राण्डहरूले क्वालिटिमा भन्दा पनि विज्ञापनमा धेरै खर्च गर्छन् । भारतीय च्यानल नेपालमा पनि प्रसारण हुने भएकाले ति विज्ञापन यहाँ पनि बज्ने गर्दछ । त्यो हिसाबले तुलना गर्दा चुनौति नै छ । तर गुणस्तरको हिसाबले हाम्रो उत्पादन राम्राे छ । जसले एक पटक पशुपति पेन्टस् प्रयोग गर्दछ, उसले पुन: प्रयोग गर्ने गरेको छ । बजारमा हाम्राे उत्पादन पुनः प्रयाेग गर्नेहरूकाे संख्या ठूलाे मात्रामा छ ।

पछिल्लो समय तपाई सामाजिक क्षेत्रमा पनि देखिनु भएको छ सामाजिक काम के के गरिरहनुभएको छ ?

मेराे पारिवारिक पृष्ठभूमि सामाजिक नै छ । व्यवसायसँगै समाजसेवा गर अनिमात्र सन्तुष्ठि प्राप्त गर्न सकिन्छ भन्ने विचार सबैकाे छ । हाम्राे परिवारको पृष्ठभुमी लहानबाट शुरूवात भएकाे हाे । त्याे क्षेत्रकाे विकास र त्यहाँका जनताकाे स्वास्थ्यका लागि हामीले लहानमा अस्पताल सञ्चालनमा ल्याएका छाै‌ं ।

शैक्षिक क्षेत्रमा हामीले २५ सय विद्यार्थीहरुले सर्वसुलभ शिक्षा आर्जन गर्न क्याम्पस चलाएका छाैं । जहाँ समस्या हुन्छ त्यहाँ सेवा दिइरहेका छौं, यो हाम्रो सामाजिक दायित्व पनि हो । मेराे विचारमा हामी सबैले जुन ठाउँमा बसेर जेजे गर्दैछाैं त्यसमा सामाजिक भावनाले काम गर्दा जीवन सार्थक पनि हुन्छ ।

विराटनगरमा विद्युत ट्रिपिङबाट उद्याेगमा समस्या परेको हो ? समधानका लागि के भईरहेको छ ?
हो, तपाईले भनेजस्तै विद्युत् ट्रिपिङबाट यहाँका उद्योगमा ठूलो समस्या परेको छ । विद्युत् प्राधिकरणले काम त गर्दैछ । विद्युत् उत्पादन पनि बढेको तर, संरचनाहरु पुरानै छन् । हावाहुरी चल्दा तारहरु चुडिने, पोल ढल्ने जस्ता समस्याहरु हुन्छन् । सरकार पनि लागेकै छ । हामीले १० देखि १२ घण्टा लोडसेटिङ झेलेका पनि हाैं । त्यसकाे दाँजाेमा ट्रिपिङमा आएको  समस्या सामान्य नै हाेला तथापि, यसलाई पनि राज्यले दिर्घकालिन रूपमा समाधान गरे हामी उद्याेगी व्यवसायीलाई ठूलाे राहत हुने थियाे ।

अन्त्यमा भावि योजनाहरु के छन् ?
भावि योजना खासै केहि छैन । कोरोना महामारीले भावी योजना बनाउन सकिरहेको छैन । प्रथमतः कोभिडबाट बचौं त्यस पछिका दिनहरुमा भावि योजना सोचौंला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *