९ वर्षसम्म लागुऔषधको नशामा डुबेका सञ्जयले यसरी उठाएका थिए करिअर

एजेन्सी । बलिउड नायक सञ्जय दत्त अहिले फोक्सोको क्यान्सरबाट ग्रसित छन् । उनी तेस्रो स्टेजको क्यान्सरसँग जुधिरहेका छन् । उपचारका लागि उनी अमेरिका जान सक्ने भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरिरहेका छन् ।

सञ्जयका लागि यो समय निकै मुश्किल छ तर, उनको जीवनमा स्वास्थ्य समस्या देखिएको यो पहिलो पटक भने होइन । यसअघि पनि उनी एकपटक लागुऔषधको नशामा डुबेका थिए । जसबाट बाहिर निस्कन उनले पीतालाई गुहार लगाए ।

केही वर्षअघि सिमी ग्रेवालको च्याट शोमा सञ्जयले आफू लागुऔषधको नशामा भएको समय सम्झिएका थिए । उनले आफू १७–१८ वर्षमा कलेज पढ्दै गर्दा लागूऔषधको नशामा डुबेको बताए । कसैले उनलाई एकपटक लागूऔषध चाख्न भनेका थिए तर लगतै उनी यसकाे लतमा फसे । उनको जीवनको ९ वर्ष कुलतले बर्बाद गरिदियो ।

एक अन्तरवार्तामा सञ्जयले भनेका थिए, ‘एकपटक मैले हेरोइन खाएको थिएँ र सुत्न गएँ । निद्रामै भोक लाग्यो र म उठेँ । बिहानको समय थियो । मैले नोकरलाई मलाई खाना दिन भनेँ । उनी मलाई देखेर रुन थाले र भने,- तपाईं दुई दिनपछि उठ्नुभएको हो । मलाई देखेर घरका सबैजना पागल जस्तै भए, सबैलाई मेरो चिन्ता हुन थाल्यो । त्यसपछि मैले आफूलाई ऐनामा हेरेँ । ड्रग्सले मेरो अनुहार सुन्निएको थियो । त्यसपछि मलाई म मर्छु जस्तो लागेको थियो । म पिताजी भएठाउँ गएँ । उहाँसँग मद्दत माग्दै भनेँ -मलाई बचाउनुहोस् पापा !’

त्यसपछि सञ्जय उपचारका लागि एक रिह्याब सेन्टरमा बसे । उपचार गराएको दुई वर्षपछि भारत फर्किए । ती दिन सम्झँदै सञ्जयले भने, ‘तीन हप्तासम्म म ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएँ र त्यसपछि उपचारका लागि एक रिह्याब सेन्टर गएँ । उपचार गराएको दुई वर्षपछि भारत फर्किएँ ।’

त्यसपछि उनी आफ्नो करिअरमा फाेकस भए । त्याे बीचमा पनि उनका जीवनमा अनेक समस्या आए । क्यान्सरका कारण सञ्जयले आफ्नो जीवनमा २ महत्वपूर्ण व्यक्तिहरू गुमाए, त्यो पनि वर्षौं अघि । हो, सञ्जय दत्तकी आमा नरगिस र उनकी पत्नी ऋचा शर्मा दुवैलाई क्यान्सर भएको थियो । उनीहरुले यस रोगसँग लड्न कडा प्रयास गरेका थिए, तर अन्तमा उनीहरुले आफ्नो जीवन नै गुमाउनु पर्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *