‘म जहाँ जान्छु सुर्य बहादुर थापाको विराशत त्यहिँ जान्छ’ कांग्रेस नेता सुनिल बहादुर थापा

काठमाडाैं । सुनिल बहादुर थापा अर्थात नेपाली राजनीतिका ‘बाघ’ सुर्य बहादुर थापाका छोरालाई बुबाको विराशत छोडेको आरोप छ । लकडाउन अगाडी अप्रत्यासित रुपमा राप्रपा त्यागेर नेपाली कांग्रेसमा प्रवेश गरेपछि पूर्वप्रधानमन्त्री थापाका छोरा सुनिललाई उक्त आरोप लाग्यो ।

तर, पूर्वमन्त्री समेत भइसकेका नेता थापाले आफुले बुबाको विरासत नछाडेको तर्क गरे । मकालु खबरसँगको भेटघाटमा नेता थापाले आफु जता गयो सुर्य बहादुर थापाको विरासत त्यतै गएको तर्क गरे । सुर्य बहादुर थापाको विरासत सुर्य बहादुरको छोरोले नै बोक्ने पनि दावि गरे । ‘सुर्य बहादुर थापाको विरासत छोरोले नै लिन्छ, बाघको छोरा बाघै हुन्छ, अहिले म बाघ हुने क्रममा छु ।’ उनले भने ।

पार्टी परिवर्तन गर्दा सुर्य बहादुर थापाको विरासत कसरी जोगिन्छ भन्ने प्रश्नमा नेता थापाले भने–‘मलाई कसैले भन्न सक्दैन कि सुर्य बहादुर थापाको छोरा तँ होइनस भनेर । म जहाँ जान्छु उहाँको विरासत त्यहिँ जान्छ ।’ हिजो राप्रपा छुट्टिदा आफु जहाँगएँ सुर्य बहादुर थापाको विरासत त्यहिँ गएको पनि तर्क गरे ।

जुनदिन तीन राप्रपाको एकता भयो त्यहिदिन राप्रपाले सुर्य बहादुर थापाको सिद्धान्तलाई विर्सिएको नेता थापाको तर्क छ । ‘राप्रपा जनताको पक्षमा नलागेर परिवर्तनलाई आत्मसात नगरी पुरानै बाटोमा लाग्यो । ०७३ सालमा राप्रपा नेपाल र राप्रपाको एकता भएकै दिन सुर्य बहादुर थापालाई विर्सने श्रृंखला शुरु भयो ।’

हेर्नुहोस भिडियो

उनले ०७३ सालदेखि ७७ सालसम्म पार्टीभित्र आफुले अन्तरसंघर्ष गरेपनि सुर्य बहादुर थापाको सिद्धान्त र विचारलाई संरक्षण गर्ने अवस्था नभएको जिकिर गरे । ‘हामीले हाम्रो दृष्टिकोण जनता र पार्टीको माझ राख्दै गर्दा सुर्य बहादुर थापाले पशुपति शमशेर र प्रकाशचन्द्र लोहनीहरुको काँधमा पार्टी सुम्पिदिइसकेपछि उहाँहरुले बोक्न नसक्ने अवस्था आयो ।’ उनले भने । बुबाले ०५३ सालदेखि बृहद् प्रजातान्त्रिक शक्तिको आवश्यकता पर्दछ र त्यसको नेतृत्व कांग्रेसले गर्नुपर्छ भनेकोले आफु कांग्रेसमा आएको थापाको भनाई छ ।

प्रजातान्त्रिक शक्ति एक ठाउँमा उभिएर नेपाली कांग्रेसले नेतृत्व गरे भौतिक रुपमा र सैद्धान्तिक पक्षले सुर्य बहादुर थापालाई जोड्ने र त्यसको नेतृत्व आफुले लिने उनको दावि छ ।

राप्रपाले सुर्य बहादुर थापालाई विर्सिएको तथा सुर्य बहादुर थापाले बनाएको झण्डा, निती र सिद्धान्तलाई नै त्यागी सकेपछि त्यो पार्टी सुर्य बहादुर थापाले बनाएको पार्टी समेत नरहेको जिकिर गरे ।

‘हामीले परिवर्तनलाई जहिले पनि अंगालेर जानुपर्छ । मलाई भन्न अफ्टेरो लाग्छ, अहिले राप्रपामा भएका हिजो राजा मान्नेहरुले नै शक्ति र पदको लागि राष्ट्रपतिको प्रथम समर्थक बन्दै उपप्रधानमन्त्री र मन्त्रीहरु भए । त्यो गलत थियो । यदी उहाँहरुले चाहेको बाटो त्यो थिएन भने मधेशवादी दलहरु जस्तै बाहिर बस्नुपर्दथ्यो ।’ उनले राप्रपा भित्र सैद्धान्तिक र बैचारिक विचलन समेत आएको बताए ।

फागुनमा तीन राप्रपाहरु विचको एकीकरण नै जनताले अनुमोदन संविधानको खिलाफ भएकाले आफुले पार्टी परिवर्तन गरेको जिकिर नेता थापाको भनाई छ । राप्रपा एकीकरणपछि अहिले उनीहरु ०४६ साल अगाडीको परिदृश्यमा गएको पनि सुनिल थापाको तर्क छ ।

उनले आफु कुनैपनि पद पाउन नेपाली कांग्रेसमा नआएको जिकिर गरे । साथै आफुले कुनै गुटको सदस्यता नलिएको बताउँदै आफुले लिएको सदस्यतामा स्पष्ट रुपमा म सुनिल बहादुर थापा नेपाली कांग्रेसको सदस्य भनिएको पनि बताए । ‘अब गुट उपगुटको कुरा नगरौं । म गुटमा छिरेको हैन, अब देश र जनताको लागि सकृय भएर निष्पक्ष रुपमा काम गर्ने सुनिल बहादुर थापालाई तपाईंहरुले देख्न सक्नुहुन्छ ।’ उनले भने ।

नेता थापाले बर्तमान सरकार कोरोना संक्रमण नियन्त्रण र रोकथाममा पूर्ण असफल भएको बताउँदै जनताको जीवन रक्षार्थ सरकारले दायित्व पुरा गर्न नसकेको तर्क पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *