निषेधाज्ञामा थप कडाई, मर्निङवाकका नाममा अटेरी गरे बल प्रयोग !

काठमाडौं । उपत्यकास्थित काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनको संयुक्त बैठक आज बस्दै छ । कोरोना संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरण गर्न जारी गरिएको निषेधाज्ञाको अवधि थप गर्नेबारे निर्णय गर्न बैठक बस्न लागेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यस विषयमा निर्णय गर्न आज दिउँसो ४ बजे बैठक बस्ने तयारी भइरहेको जानकारी दिए । त्यसअघि दिउँसो १ बजे उपत्यकाका मेयरहरूसँग बैठक बस्ने समेत उनले बताए । गएको बुधबार मध्यरातिदेखि जारी गरिएको निषेधाज्ञाको अवधि भोलि (बुधबार) राति सकिँदै छ ।

सोमबार उपत्यका नगरपालिका फोरमले पनि भदौ १५ गतेसम्मका लागि स्थानीय तहबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सबै सेवा स्थगनको निर्णय गरेको छ । फोरमले निषेधाज्ञा भदौ १५ गतेसम्म बढाउन पनि सिफारिस गरेको छ ।

उपत्यकामा संक्रमणदर नघटेकाले निषेधाज्ञा लम्बिने सम्भवना छ । तर यसबारे बैठकपछि मात्रै भन्न सकिने काठमाडौंमा प्रजिअ दाहालले बताए । उनका अनुसार अब निषेधाज्ञा लम्बियो भने कडाईका साथ कार्यन्वयन गरिने छ । अहिले मर्निङवाकमा ननिस्कन बारम्बार आग्रह गर्दा पनि अटेर हुन थालेकोले बल प्रयोग नै गर्न प्रहरीलाई निर्देशन दिइएको उनले बताए ।

‘मर्निङवाक, इभिनिङवाक लगायतबाट हुने आउजाउले आफू त जोखिममा परे नै, अरूलाई पनि संक्रमणको दलदलमा फसाउने खतरा भयो,’ उनले भने, ‘अब अत्ति भयो, केही दिनका लागि घरभित्रै बसेर व्यायाम गर्दा हुन्छ, जथाभावी बाहिर निस्किए बल नै प्रयोग हुन्छ ।’

गत मंगलबार राति बसेको उपत्यकास्थित तीन जिल्लाकै संयुक्त सुरक्षा समिति बैठकले अत्यावश्यक र सरकारले आउजाउ गर्न दिने भनी तोकिएबाहेकका वस्तु तथा सेवाको कारोबार र मानिसका आउजाउ भदौ १० गतेसम्मका लागि बन्द गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *