कोरोना संक्रमित बढेपछि धरान, इनरुवा र दुहवी सिल

  • भरतराज शर्मा (गोपाल)

सुनसरी । एकै घरका दुई दाजुभाईमा कोरोना संक्रमण पुष्टि भएपछि धरान- १५ को सेन्ट्रल रोड सिल गरिएको छ ।

धरान- १५ पिण्डेश्वर चोकदेखि उत्तर र एभरेष्टलाइनमा पर्ने दन्तकाली चोकसम्मको सडकमा आवतजावत बन्द गरिएको धरान १५ का वडाध्यक्ष नरेश इङवारामले जानकारी दिए ।

प्रहरी र स्थानीयवासीले आवत जावत बन्द गर्दै सो सडकमा बाँस तेर्स्याएर बाटो अवरुद्ध पारेका छन् । त्यहाँका अरूमा पनि कोरोना सङ्क्रमण भएको हुनसक्ने भन्दै आज धरान १५ को प्रहरी चौकीबाट गएको प्रहरीले सिल गरेको हो ।

सोही रोड निवासी सङ्क्रमितका परिवार र सम्पर्कमा रहेका ७ जनालाई परीक्षणको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको वडाध्यक्ष नरेश इङ्वारामले जानकारी दिए ।

धरानमा पछिल्लो समय कोरोनाको जोखिम बढेकाे छ । केही दिनअघि मात्रै धरान ८ को प्रीति भल्भ एन्ड फिटिङ्स इन्डस्ट्री प्रा.लीमा कार्यरत स्थानीय एक व्यक्तिलाई कोरोना पुष्टि भएको थियो । उनै सङ्क्रमितका भाइमा पनि आज कोरोना सङ्क्रमण देखिएपछि सेन्ट्रल रोड सिल गरिएको हो ।

यस्तै इनरुवा नगरपालिकाले पनि आज ४ बजेदेखि लकडाउनको घोषणा गरेको छ । साउन २६ गते राती १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । स्वास्थ्य र सरसफाई बाहेकका अन्य सम्पूर्ण सेवा सहित बजार पसल तथा सरकारी कामकाज पूर्ण रुपमा बन्द गर्ने निर्णय भएकाे इनरुवा नगरपालिकाका मेयर राजन मेहताले जानकारी दिए ।

त्यस्तै दुहबी नगरपालिकाले पनि बजार क्षेत्र र नगरपालिका कार्यालय सिल गर्ने निर्णय गरेको छ । दुहबीमा आज ४ जनामा संक्रमण पुष्टि भएसँगै सिल गर्ने निर्णय गरिएकाे हाे । नगर प्रमुख बेदनारायण गच्छदारको अध्यक्षतामा बसेको कोभिड १९ आपतकालिन व्यवस्थापन समिति बैठकले यस्तो निर्णय गरेको हो ।

उनका अनुसार आजदेखि औषधी पसल र खाद्यान्न बिहान ८ बजेदेखि १ बजेसम्म मात्र खोल्न दिइने छ । निर्णय आजदेखि भदौ २ गतेसम्म लागु हुनेछ । उल्लंघन गरेमा प्रतिपटक ५ हजार जरिवाना गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − two =