किन अस्ताउँदै छन् महामानव वीपी ?

आज श्रावण ६ गते ३८ औं वीपी स्मृती दिवस, अर्थात महामानव विश्वेश्वर प्रसाद कोइरालाको स्मृति दिवस । म वीपी कोइरालाको नाति पुस्ताको मान्छे, न मैले वीपीलाई देख्न पाउनु, न भोग्न पाउनु । तर पनि उहाँले जन्माएको पार्टी नेपाली कांग्रेसको साधारण कार्यकर्ताका हैसियतले उहाँलाई स्मरण गर्न आँट देखाउनुु पर्ने बाध्यता अनी कर्तव्य छ ।

वीपीलाई प्रत्यक्ष भेट्न नपाएपनि मलाई निकै सहयोग भएको छ कि उहाँसँग संगत गरेका थुप्रै नेताहरुलाई देख्न र भोग्न पाईरहेको छु । उहाँका लेख रचनाहरु, महत्वपूर्ण भाषणहरु, दर्शनहरु र वाणीहरु अध्ययन गर्न पाईरहेको छु । उहाँको बारेमा लेख्दै गर्दा यो मन, मष्तिकले भ्याएसम्म स्मरण गर्ने छु ।

दक्षिण एसियाकै प्रजातन्त्रवादी, समाजवादी नेता वीपी कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनका सुत्राधार, प्रजातान्त्रिक आन्दोलनका योद्धा, नेपाली कांग्रेसका संस्थापक, प्रथम जननिर्वाचित प्रधानमन्त्री गरिब, किसान र मजदुर वर्गको नेतृत्वकर्ता हुनुहुन्थ्यो ।

वीपीसँगको मेरो परीवारको तीन पुस्ते कथा

वीपीसँग मेरो परिवारको तिन पुस्ते आस्था र भरोसाको नाता छ । मेरा आदरणिय पिता स्व. गुरुदत्त न्यौपाने, काका एवं अभिभावकहरु, गोर्खा जिल्ला नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति एवं जिल्ला विकास समिति गोर्खाका पूर्व सभापति चन्द्रप्रसाद न्यौपाने, नेपाली कांग्रेस चितवनका पूर्व जिल्ला सभापति टिकाराम न्यौपाने, सत्याग्रही प्रजातन्त्रका सेनानीत्रय स्व. चन्द्रकान्त न्यौपाने, स्व.श्रीधर न्यौपाने तथा स्व.दामोदर तिमल्सिना लगायतहरुबाट मैले पाएको जानकारी अनुसार नेपालको इतिहासमा नै पहिलो पटक जनताको अभिमतद्वारा २०१५ साल फाल्गुण ७ गतेबाट शुरु भएको संसदिय निर्वाचनमा नेपाललाई १०९ क्षेत्रमा बिभाजन गरिएको थियो ।

उक्त निर्वाचनमा नेपाली कांगे्रसले ७४ सिटमा बिजय प्राप्त गरेको थियो । लमजुङ्ग जिल्लालाई क्षेत्र नम्बर १०० र १०१ गरि दुई वटा क्षेत्रमा विभाजन गरेकोमा मेरो पुख्र्यौली जन्मथलो दुराडाँडा, देवतापानी १०० नम्बर क्षेत्रमा पर्दथ्यो । उक्त संसदिय निर्वाचन क्षेत्रमा नेपाली कांगे्रसका तर्फबाट हाम्रा काका स्व.कृष्णप्रसाद न्यौपाने र स्व.श्रीकान्त अधिकारीको दावी रहेकोमा पार्टीले स्व.श्रीकान्त अधिकारीलाई उम्मेदवारी बनाएपछि चुनावी प्रचारप्रसारका क्रममा कांग्रेसका संस्थापक नेताहरु वीपी कोइराला, सूवर्ण शम्सेर, गणेशमान सिंह लमजुङ्गको सोतीपसल, भाईरथी भन्ज्याङ्गबाट कोईराला फाँट हुँदै घोडामा चढी दुराडाँडा, देवतापानीमा पुगी चुनावी सभालाई सम्बाेधन गर्नुभएको थियो । त्यही नजिकको देवतापानीेको खुल्ला खेतमा तयार भएको सामुहिक भान्सामा सबै नेताहरुले खाना खानु भएको थियो । भान्सेको रुपमा मेरी हजुरआमा स्व.बाटुली देवी न्यौपाने, साईली हजुरआमा स्व.हरीमायाँ न्यौपाने समेत हुनुहुन्थ्यो । उहाँहरुले नै महामानव वीपीसँगै आएका सबै नेताहरुलाई सामुहिक रुपमा खाना खुवाउनु भएको थियो ।

२०१९ सालमा लमजुङ्गबाट बसाई सरेर चितवन भरतपुर महानगरपालिका वडा नं. ६ देवनगर (साविक गीतानगर गाउँ पञ्चायत वडा नं.४ देवनगर) मा स्थायी बसोबास गरीयो । गोर्खाबाट चितवन झर्दा पनि मेरो परीवारले कांग्रेसको आस्था र सिद्धान्तलाई बिर्सिएको थिएन । चितवन आइसकेपछि पनि राजनीतिक रुपमा कांग्रेसका गतिविधिहरुमा हाम्रो परीवार सक्रिय रह्यो ।

२०३६ सालको जनमत संग्रह र वीपी कोइरालाको स्वास्थ्य उपचारपछि, तत्कालिन समयमा केही राजनीतिक विषयमा कन्फयुजन रहेकाले ति बिषयहरुलाई स्पष्ट पार्ने अभिप्रायले २०३७ साल फाल्गुण १२ गतेदेखि चैत्र ५ गतेसम्म देशका विभिन्न ठाँउमा आमसभाहरु हुँदा फाल्गुण २९ गते नारायणगढको क्याम्पा चौरमा भएको आमसभामा वीपी आउने खवरले ७५ बर्ष कि मेरी साईली हजुरआमा हरिमायाँलाई २०१५ सालमा आँफैले खाना खुवाएका वीपीलाई नजिकैबाट हेर्ने र फुल दिने अभिलाषा पलायो । ७५ वर्षकी हजुरआमा आमसभामा आउँदा जब वीपीले बोल्ने पालो आएको थियो त्यही बखतमा तत्कालिन पञ्चायतका मण्डलेहरुले बालकुमारी मा.वि.को कम्पाउण्डबाट साँढे गोरुहरुको गुद्दारमा पेट्रोल राखि आगो लगाई आमसभा तिर छोडी दिँदा ठूलो भागदौड भयो । भागदौडमा मान्छे मान्छेले कुचल्दा मेरी साईली हजुर आमाको कम्मर भाँचिन पुग्यो, आर्थिक अवस्थाका कारण र स्वास्थ्य उपचार सुविधा नभएकाले, घरैमा जडीबुटीले मात्र उपचार थलिएरै २०४० साल भदौ १९ गते उहाँको निधन भयो । उहाँको वीपीलाई नजिकैबाट देख्ने र फुल दिने इच्छा त पुरा भयो, तर उहाँ आँफै चाहिँ यस धर्तीलाई छाडेर जानुभयो ।

यो घटना न्यौपाने परीवारमा अविस्मरणीय छ । यो त एउटा प्रतिनिधि घटना मात्रै हो । वीपीसँग आस्था र भरोसा राख्ने यस्ता परिवारहरु लाखौं थिए । जो वीपी र नेपाली कांग्रेसले मात्र देश र जनताको विकास गर्छ भन्ने विस्वास राख्दथे ।

परिवार नै सामाजिक परिवर्तनको पक्षमा

पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको माईलो सन्तानको रुपमा १९७२ साल भदौ २४ गते भारतको बनारसमा वीपी कोइरालाको जन्म भएको थियो । वीपीको न्वारनको चुडामणी थियो । पिता कृष्णप्रसाद, दाजु मातृकाप्रसाद, भाइहरु गिरिजाप्रसाद, तारणीप्रसाद, केशवप्रसाद लगायत कोइराला परिवारका सबै सदस्यहरु राजनैतिक परिर्वतन र सामाजिक रुपान्तरणका पक्षमा सकृय रहेका कारण घरायसी वातावरणबाट नै राजनैतिक परिर्वतन र सामाजिक रुपान्तरणका विविध गतिविधिमा वीपी चिरपरिचित हुनुहुन्थ्यो । परिवार नै राजनैतिक परिवर्तन र सामाजिक रुपान्तरणमा सकृय रहेका कारण वीपीमा बाल्यकाल देखिनै समाजमा विद्यमान राजनीतिक विभेदहरु निमिट्यान्न गर्नुपर्छ भन्ने सोच विकसित भयो ।

वीपी कोइराला नरिसाई सबै सँग हासेर बोल्ने, जस्तो सुकै दुःख कष्टहरु आईपरे पनि संयमित भएर नेतृत्व समाल्ने, ठुल्ठुला जोखिमहरु उठाउन तयार हुने, निडर स्वाभिमानी हुनुहुन्थ्यो । उहाँ सबै उमेरका नेता, कार्यकर्ता तथा साथीहरुले वीपी बाबु भनि बोलाउँदा खुसि हुनुहुन्थ्यो ।

सर्वस्वहरण सहित निर्वासित

तत्कालिन राणा शासनका बेलामा राजनैतिक परिवर्तन र सामाजिक रुपान्तरणका विषयमा कुरा गर्दा मात्रै जेल जानुपर्ने, ज्यान समेत जाने र सर्वस्वहरण भई देश निकाला समेत गरिदिने अवस्था थियो । पिता कृष्णप्रसाद, उहाँ र भाईहरु लगायत परिवारका सबै सदस्यहरु राजनैतिक परिवर्तन र सामाजिक रुपान्तरणका अगुवाको रुपमा चिनिएकोले राणा सरकारले वीपी र उनका परिवारका सदस्यहरुलाई पटक-पटक जेल सजाय, सर्वस्वहरण सहित देश निकाला गरेका थिए ।

वीपीको जेल जीवन

वीपीले प्रजातान्त्रिक भावनाबाट प्रेरित भएर भारतमा अंग्रेज विरोधी अभियानमा लाग्दा १९८७ सालमा पहिलो पटक जेलको यातना सहनु पर्यो । नेपाल र भारतमा गरि पटक पटक ३ वर्षको जेल जिवन बिताउँदा नेपालको सुन्दरीजल जेलमा मात्रै लगातार ८ बर्ष बिताउनु पर्यो । उहाँले एकपटक चिनजान भएको मानिसलाई कहिल्यै भुल्नु हुन्थेन । वीपी कोइरालाको जिवन नै सहि रुपमा भन्ने हो भने आजसम्म कसैले पढ्न नसकेको ग्रन्थ हो ।

वीपी समाजवादका बिषयमा भन्नुहुन्थ्यो ‘समाजवाद भनेको, हाम्रो मुलुक किसानहरुको, गरिबहरुको, श्रमजीवीहरुको हितको लागि हो । जस्ले गाउँमा बस्ने गरिब, किसान र श्रमजीवीहरुको भलाई गर्दछ । जसले उनिहरुको मुहारमा मुष्कान ल्याउन सक्दछ । त्यहि नै असली समाजवाद हो ।’

वीपीको जिवनका दुई पाटा

वीपी कोइरालाको जिवनलाई दुई भागमा हेर्नुपर्दछ । एउटा राजनैतिक जीवन र अर्को साहित्यिक जीवन । साहित्यिक जीवनमा उहाँका विभिन्न प्रकाशित, अप्रकाशित कृतिहरु पाउँदछौँ । सुन्दरीजल जेल जीवनयापन गर्दा उहाँले नेपाली साहित्यको भण्डार भर्ने काम गर्नुभयो । उनका कथा संग्रहमा दोषि चश्मा, श्वेत भैरवी, बिशेश्वर प्रसाद कोइरालाका कथाहरु रहेका छन् ।

उपन्यासहरुमा तीनघुम्ती, नरेन्द्र दाई, सुम्निमा, मोदीआईन, हिटलर र यहुदी, बाबु आमा र छोरा रहेकोमा निबन्ध र दैनिकीहरुमा जेलजर्नल, फेरि सुन्दरीजल, कोइरालाको डायरी रहेका छन् । संस्मरणात्मक लेखहरुमा आत्मबृतान्त, जिवनी उपनाम, आफ्नाे कथा र विश्वेश्वर प्रसाद कोइरालाका कविताहरु आदी पर्दछन् । फुटकर कथा कविताहरु धेरै छन् जसलाई अझै संग्रह र प्रकाशित गर्न सकिएको छैन । साहित्यिक क्षेत्रमा वीपीलाई समाजसुधारक क्रान्तिकारी साहित्यकारका रुपमा लिइन्छ ।

राजनैतिक घटनाहरुको सारसंक्षेप
३३ वर्षमै कांग्रेसको सभापति

वीपीको राजनैतिक जीवनलाई केदाउँदा वीपीले नेपाललाई विकास गर्न प्रजातान्त्रिक माध्यमबाट मात्रै सम्भव भएकोले प्रजातान्त्रिक संगठन निर्माणको अभियानमा २००३ साल कार्तिक १५ गते वनारसमा बस्ने सबै नेपालीहरुलाई भेला गराई औपचारिक रुपमा अखिल भारतीय नेपाली राष्ट्रिय कांगे्रसको गठन गर्नुभयो । पुनः बृहतसभा गर्ने निर्णयनुसार २००३ साल माघ १२ र १३ गते भारतको कलकत्ताको भवानीपुरस्थित खालसा हाईस्कुलमा सम्पन्न अधिवेशनले अखिल भारतीय नेपाली राष्ट्रिय कांगे्रसबाट नाम परिवर्तन गरि नेपाली राष्ट्रिय कांग्रेस गठन गरियो । र त्यहीँबाट ३३ बर्षका वीपीलाई कार्यकारी सभापति र नेपालको जेलमा रहनुभएका टंकप्रसाद आर्चायलाई मानार्थ सभापतिमा चयन गरियो । उक्त अधिवेशनले मुलतः ३ वटा राजनैतिक प्रस्तावहरु पारित गरेको थियो ।

(१) राज्य स्थापनाको दैविक मान्यतालाई चुनौती दिँदै नेपाल र नेपाली जनताका सार्वभाैम अधिकारको स्थापनाका लागी आफ्नो कर्तव्य नबुझ्ने राजा नै जनताको शत्रु हो ।

(२) देशमा प्रजातन्त्र स्थापनाका लागी अहिंसात्मक सशक्त जनक्रान्ति गर्ने ।

(३) सबै जात, धर्म, लिङ्ग, वर्ण, आर्थिक अवस्थाका नेपालीहरु यस पार्टीको सदस्य र पदाधिकारी बन्न सक्नेछन् ।

मजदुर आन्दोलन र सत्याग्रह

त्यसपछि वीपीकै निर्देशनमा नेपालको इतिहासमा पहिलो पटक २००३ साल फाल्गुन २० गते मजदुर आन्दोलन भएको थियो । त्यसको प्रभाव देशैभरी पहाड, तराई र काठमाडौं उपत्यकामा आन्दोलन सशक्त हुँदै गएको अवस्थामा आन्दोलनलाई अझ सशक्त बनाउन २००३ साल चैत्र ३० गतेबाट सत्याग्रह शुरु भएको थियो । नेपालमा यो नै पहिलो सत्याग्रही आन्दोलन थियो । त्यसपछि नेपालमा बिभिन्न रुपमा शान्तिपूर्ण आन्दोलन सञ्चालन हुदै गएको अवस्थामा २००४ माघ २० देखि २२ गतेसम्म भारतको बनारसमा नेपाली कांग्रेसकाे दोस्रो अधिवेशन भयो । दोस्रो अधिवेशनले वीपीलाई एकल सभापति चयन गर्दै, विभिन्न निर्णय गर्यो ।

(१) जनआन्दोलनको स्वरुप अहिंसात्मक हुनेछ ।

(२) अहिंसात्मक आन्दोलनको सबैभन्दा सशक्त हतियार जनताको संगठन भएकोले जनताका कार्यहरुमा सहयोग गरेर कांगे्रसलाई जनजागरण मार्फत संगठित र खुल्ला संस्था बनाउने ।

(३) देशमा नागरिक अधिकारको स्थापना गरि नागरिकबाट निर्वाचित जनप्रतिनिधिहरुको विधान परिषद्ले देशको शासन व्यवस्थाको स्वरुप निर्धारण गर्ने ।

(४) पार्टीका सबै गतिबिधिहरुलाई जनताका बिचमा जानकारी गराउने उद्देश्यले “युगवाणी” पत्रिका सञ्चालन गर्ने र त्यसको सम्पूर्ण जिम्मेवारी महाकवि लक्ष्मीप्रसाद देवकोटालाई जिम्मा लगाउने ।

नेपाली राष्ट्रिय कांग्रेसकाे तेस्रो महाधिवेशन २००५ फाल्गुण १८ गते भारत विहारको दरभंङ्गामा भयो । उक्त महाधिवेशनले मातृका प्रसाद काेइरालालाई सभापतिमा चयन गर्यो ।

सुवर्ण शमशेरकाे पार्टीसँग एकता

२००६ फाल्गुण १२ गते नेपाली राष्ट्रिय कांग्रेस र सुवर्ण शम्सेरको सकृयतामा २००४ साल श्रावण १ मा गठन भएको नेपाल प्रजातन्त्र कांगे्रस बिचमा एकीकरण गर्ने संयुक्त विज्ञप्ति जारी भयो । नेपाली जनताको स्वतन्त्र भावनाको प्रतिनिधित्व गर्न ऐतिहासिक आवश्यकतालाई समेत महसुश गरि २७ चैत्र २००६ मा दुवै पार्टीहरुको एकीकरण गरि पार्टीको नाम नेपाली कांग्रेस नामाकरण गर्ने काम भयो । संयुक्त चौथो महाधिवेशनले वीपीलाई पुनः सभापतिमा चयन गर्यो ।

नेपाली कांग्रेसले तत्कालिन राणा सरकारका विरुद्धमा जनताका बिचमा शान्तिपूर्ण आन्दोलन सञ्चालनका लागी २००६ सालमा ३ पृष्ठको प्रथम घोषणापत्र प्रकाशित गर्यो । उक्त घोषणा पत्रको संक्षेपमा, नेपालमा बर्तमान शासनप्रणाली स्थापित भएको एक सय बर्षभन्दा बढी भयो । यस व्यवस्थालाई राणा शासनका नामले सम्बोधन गर्ने गरिएको छ । विगत शताब्दी नेपालमा भयंङकर राजनीतिक, आर्थिक र सामाजिक दुष्परिणामका ऐतिहासीक घटनाहरु बने । यस पारिवारिक शासन व्यवस्थाको सूत्रपात जंगबहादुरले छल र कपटको भरमा गरे । तत्कालिन नेपालका वास्तविक शासक राजालाई समेत नजरबन्दमा दरबारमा नै राखेका छन् । राजा र जनताका बीचमा राणाशासन तगारो बनेको छ ।

राणा वंशीय प्रधानमन्त्रीहरुलाई जनताप्रति कुनै स्नेह छैन । विश्वका अन्य देशका जनताले प्राप्त गरेको संवैधानिक अधिकार नेपाली जनताका लागी पनि स्वप्नवत् छ । राणा शासनको निरङकुशता र स्वच्छाचारिता नै यस व्यवस्थाको वास्तविक स्वरुप हो । अतः यस प्रकारको शासन व्यवस्था जनतामा कहीँ कहिल्यै पनि अप्रिय नै हुन्छ । देशमा रहेको सम्पूर्ण प्राकृतिक स्रोत साधन र सम्पतीको मुख्य भाग राणाहरुको बिर्ता बनिसकेको छ ।

नेपालमा अहिले तिन आर्थिक वर्गहरु शेष छन् । शासक बर्ग जो सँग कूवेरकोे ढुकुटी छ । मध्यम बर्ग जो दिनप्रतिदिन कंगाल बन्दै छ । गरिब बर्ग जो दिनप्रतिदिन लुटिँदै छन् । नेपालमा बिदेशी सामरिक, आर्थिक कुनै प्रकारको पनि हस्तक्षेप नेपाली काँगे्रसले मन पराउँदैन । नेपालको बर्तमान निरकुंश शासकले स्वयम्लाई अझै केहिदिन कायम राख्ने उद्देश्यले विदेशी शक्तिलाई भित्राएर अधिकतम शक्ति प्राप्त गर्न सक्ने नीति बनाएका छन् । नेपालमा विदेशी शक्तिको हस्तक्षेपलाई नेपाली कांग्रेस घोर विरोध गर्दछ ।

मूलतः घोषणा पत्रमा निरंङकुश राणा शासनको समूल अन्त्य र जनताबाट निर्वाचित सरकारको अनिवार्यतालाई स्वीकार गरिएको थियो ।

२००७ सालको आन्दोलन

त्यसपछि नेपाली कांगे्रसको आयोजनामा वीपीको नेतृत्वमा २००७ साल असोज १० गते रौतहटको वैरगनियामा रणनैतिक, राजनैतिक सम्मेलनले अहिंसात्मक आन्दोलनबाट जनताको अधिकार प्राप्त हुन नसक्ने निष्कर्षसहित सशष्त्र आन्दोलन गर्ने निर्णय गरी, २००७ साल कार्तिक २१ गते नै सशष्त्र आन्दोलन तयारी पुरा गरि, पहिलो पटक २५ गते राती र २६ गते बिहान बिरगंज कब्जा गर्यो । त्यसपछि क्रमशः देशका विभिन्न ठाँउहरु कब्जा गरियो ।

राणा सरकार अत्तालिएर भारत सरकारसँग खुसामत गर्दै थियो । क्रान्तिकारीहरुले देश भरिका ठाँउ ठाँउमा आक्रमणलाई तिव्रता बढाएपछि राणाशाही लत्त्रिन बाध्य भयो । अन्तत् २००७ साल फाल्गुण ७ देशमा प्रजातन्त्रको घोषणा भई जनताका प्रतिनिधि सम्मिलित सरकार बन्यो । देशमा अन्तरिम संविधान बन्यो । चैत्र १७ गतेबाट कानूनी शासनको शुरुवात भयो ।

देशमा छिटो भन्दा छिटो विधान सभाको चुनाव गराउने त्यो अन्तरिम सरकारको प्रमुख दायित्व थियो । यसै बिच वीपीले नेपाली कांगे्रसजनहरुका बिचमा सरकारका गतिबिधिहरु र बिधान सभाको चुनावमा भएको आनाकानीलाई समाबेश गरी जानकारी गराउने उद्देश्यले २००८ साल चैत्र २५ गते घोषणा पत्र जारी गर्नुभयो । नेपाली कांगे्रसको २००९ साल जेष्ठ १० देखि १३ सम्म जनकपुरमा सम्पन्न पाँचौ महाधिवेशनले पुनः वीपीलाई सभापतिमा चयन गर्यो । महाधिवेशनले बिभिन्न राजनैतिक प्रस्तावहरु पारित गयो ।

(१) छोटो समयमै महान् राजनैतिक क्रान्ति सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा गर्वगर्दै क्रान्तिका सबै शहिद र योद्धाहरुप्रति श्रद्धा र सम्मान प्रकट गर्यो ।

(२) यस भन्दा अगाडीका महाधिवेशनहरुमा राखिएको राजनैतिक उद्देश्य प्राप्तीका लागी ठोस अभियान सञ्चालन गर्ने ।

(३) जिम्मेवारीलाई राजनैतिक र आर्थिक दिशाबाट सम्पन्न गर्नुपर्ने, प्रजातान्त्रिक संस्थाको रुपमा राज्यको राजनैतिक ढाँचा निर्धारण गर्नुपर्ने ।

(४) जनप्रतिनिधिहरुले नै मुलुकको शासन पद्धति तयार गर्नुपर्ने भएकोले बिधान सभाको निर्वाचन गरि जनप्रतिनिधि सभाको निर्माण गर्ने र उनिहरुले तयार गरेको बिधानका आधारमा मुलुकको शासन व्यवस्थालाई सञ्चालन गर्नुपर्ने ।

(५) जनअधिकार तथा कानूनी शासनको संरक्षणका लागी स्वतन्त्र न्यायालयको निर्माण गर्ने, विकेन्द्रित शासन प्रणालीको अबलम्बन गरि स्थानीय संरचनाहरु जनप्रतिनिधिहरु मार्फत शासन सञ्चालन गर्ने ।

(६) सामाजिक न्याय प्रदान गर्ने संस्थाको रुपमा राज्यको आर्थिक ढाँचा, भूमिकामा व्यापक सुधार, विर्ता, बटैया, प्रथाको अन्त्य, सहकारी खेती प्रणाली, अन्न कोष वा धर्म भकारीको निर्माण गर्ने, औद्योगिक निति निर्माण गर्ने ।

(७) पञ्चशिलको सिद्धान्तका आधारमा नेपालको बिदेश निति हुनेछ । हामी कसैको पनि सम्प्रभुता र सम्मानमा असर पार्ने छैनौ र हामी कसैको अनावश्यक हस्तक्षेप स्वीकार गर्ने छैनौ ।

प्रजातन्त्र मास्ने दरबारको षड्यन्त्र

२००९ साल श्रावण २२ गते मातृका प्रसाद कोइरालाको नेतृत्वको सरकारलाई राजिनामा दिन बाध्य पारियो । नेपाली कांग्रेसलाई विधान सभाको चुनाव नगराउने षड्यन्त्र दरबारबाट शुरुवात भएको आभाष भएपछि पार्टी आन्दोलनमा जानुको विकल्प रहेन । विभिन्न आन्दोलनका कार्यक्रमहरु चलाउँदै २०११ पुष २६ दोस्रो सत्याग्रह भयो । सोहि विच पार्टीको छैटौं महाधिवेशन २०१२ साल माघ १० देखि १२ गतेसम्म बीरगञ्जमा भयो । महाधिवेशनले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरुलाई उच्च तहको निर्देशन दिने निर्णय गयो ।

(१) प्रजातन्त्रवादका आधारमा समाजवाद र प्रजातन्त्रको सुदृण गठबन्धनबाट समाजवादी समाजको निर्माण गर्ने ।

(२) सामाजिक न्यायका आधारमा आर्थिक संवृद्धिका लागी भूमि सुधार र औद्योगिकीरण गर्ने ।

(३) धार्मिक, जातीय, वाणी र लिङ्गीय निरपेक्षताका आधारमा प्रजातान्त्रिक समाजवादको स्थापना गर्ने ।

(४) सामाजिक रुपान्तरणका लागी बिकेन्द्रिकरण कार्यक्रम लागु गर्ने ।

(५) बिधान सभाको निवार्चन तत्काल गर्न दबाव दिने ।

(६) एसिया समाजवादी सम्मेलनको सदस्यता लिने ।

(७) समाजवादी समाजको निर्माणका लागी राष्ट्रिय योजना समिति निर्माण गर्ने आदी ।

वीपीले २०११ सालमा जापानमा सम्पन्न प्रथम एसियाली समाजवादी सम्मेलनमा भाग लिनुभयो । २०१३ सालमा भारतको बम्बईमा सम्पन्न भएको द्धितिय एसियाली समाजवादी सम्मेलनमा कांगे्रसले संगठनको पूर्ण सदस्यता प्राप्त गर्योे । कांगे्रसको आयोजनामा वीपी कोइरालाको अगुवाईमा २०१४ साल चैत्र १३ देखि १५ गतेसम्म काठमाडौंमा एसियाली समाजवादी सम्मेलन भयो । उक्त सम्मेलनमा भारत, पाकिस्तान, बर्मा, जापान, पश्चिम इजरायल, इन्डोनेसिया, भियतनाम लगायतका देशहरुको सहभागीता थियो ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री

नेपाली कांग्रेसकाे विशेष महाधिवेशन २०१४ जेष्ठ १० बिराटनगरमा सम्पन्न भयो । त्यसपछि २०१४ मंसिर २२ गते भद्र अवज्ञा आन्दोलन भयो । देशभरी नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागीताले पार्टीको संगठन राम्रो हुन गई २०१५ सालको निर्वाचनमा राम्रो परिणाम आउन सक्यो । तत्कालिन राजा महेन्द्रले २०१५ माघ १९ गते शाही घोषणामार्फत बिधान सभाको होईन संसदको निर्वाचन हुने घोषणा गरेपछि वीपीले संसदको निर्वाचनमा गए पार्टीको अडान छाड्नुपर्ने, नजाउँ भने कांग्रेसले चाहँदैन भनेर आलोचना गर्ने स्थिति देखा पर्यो ।

त्यसपछि वीपीले २९ गते नेपाल पुकारमा अन्र्तरवार्ता दिँदै भन्नु भयो “निश्चय नै शाही घोषणालाई प्रजातन्त्रको घोषणापत्र भन्न मिल्दैन र सैद्धान्तिक दृष्टिबाट त्यसको सफलतापूर्वक आलोचना गर्न सकिन्छ । तर, राजनैतिक सिद्धान्त विश्वासको वस्तु मात्र हैन व्यवहारको बिषय पनि हो । यदि कुनैपनि कुराले आजको असैह्य स्थितिमा सुधार ल्याउँछ भने त्यो ग्राह्रय हुन्छ”

वीपीले देशभरि निर्वाचनमा जुट्न सबै तहका नेता तथा कार्यकर्तालाई ४ पृष्ठको लिखित निर्देशन दिनु भयो । नेपाली कांग्रेसकाे सक्रियता र अग्रसरताका कारण नेपालको इतिहासमा पहिलो पटक नेपाली जनताले मतदान गर्ने अवसर पाए । २०१५ साल फाल्गुण ७ गते देखि २०१६ बैशाख २८ सम्म सम्पन्न निर्वाचनमा नेपाली कांगे्रसले कुल १०९ सिट मध्ये ७४ सिटमा बिजयी भयो । नेपालको इतिहासमा जनताद्धारा प्रथम जननिर्वाचित सरकारको नेतृत्व गर्ने अवसर नेपाली कांग्रेसले पायो । २०१६ जेष्ठ १३ गते वीपीले प्रथम जननिर्वाचित प्रधानमन्त्रीको हैसियतमा सपथ ग्रहण गर्नुभयो । १८ महिना वीपीको नेतृत्वको सरकारले व्यापक सुधारका कार्य गर्यो ।

स्वतन्त्र र निष्पक्ष न्यायालयको बिकास, प्रशासनिक सुधार, बिकेन्द्रिकरण कार्यक्रमका लागी जिल्ला जिल्लामा बिकास बोर्ड गठन, आर्थिक सुधारका कार्यक्रमहरु, जिल्लाको कुल आम्दानीको २५ प्रतिशत सोहि जिल्लामा खर्च गर्नुपर्ने अनिवार्य व्यवस्था, कर्मचारीको तलब बृद्धि, भष्टाचार बिरुद्धको अभियान, विर्ता उन्मुलन ऐनको व्यवस्था, सम्पती करको व्यवस्था, जंङ्गलको राष्ट्रियकरण, मुद्रा प्रचलनमा एक रुपता, औद्यौगिक बिकास सघंको स्थापना, शान्ति सुरक्षाको प्रत्याभुती, राष्ट्यि योजना समितिको निमार्ण, राज्य रजौटाहरुको उन्मुलन, सहकारी संस्थाहरुको गठन, ग्राम बिकास कार्यक्रमको शुरुवात, रोयल नेपाल एयरलाइन्स कर्पोरेसनको राष्ट्रियकरण, राजमार्गहरुको सर्बेक्षण, हवाई यातायातको बिस्तार र पुलहरुको निर्माण, सिचाँई तथा कृषि बिकासका क्षेत्रमा मुलुकभरी अनेकौ परियोजनाहरुको शुरुवात, देशैभरी स्कुलहरु खोल्ने नीति खुल्ला, देशको प्रथम बिश्वबिद्यालय त्रिभुवन बिश्वबिद्यालयको स्थापना, बालाजु औद्योगिक क्षेत्रको स्थापना, चिनी र चुरोट कारखानाहरुको स्थापना, देशैभरि घरेलु उद्योगहरुको शुरुवात, नेसनल ट्रेडिङ्गको स्थापना, किसानलाई बढी अन्न उब्जाउका लागि प्रोत्साहन कार्यक्रमको शुरुवात भयो ।

२०१७ सालको  ‘कु’

देश विकासका लागि सुव्यवस्थित बजेट र योजनाबद्ध आर्थिक विकासको गतिशिल मार्ग अंगालेर नेपाली कांग्रेस अग्रसर हुन लागेको देखेर सामन्ती र प्रतिक्रियावादी तत्वहरुले राजालाई उक्साए । वीपीले थाहा पाएपछि २०१० कार्तिक १० गते गठन भएको नेपाल तरुण दललाई देशैभरि जागरुक गराई परिचालन गर्ने उद्देश्यका साथ तरुणहरुको राष्ट्रिय सम्मेलनमा सम्बोधन गरिरहेका बखत २०१७ साल पौष १ गते जनताबाट निर्वाचित सरकारलाई ‘कु’ गरी राजाले शासन व्यवस्था आँफै लिई, वीपी लगायत नेताहरुलाई सुन्दरीजल जेलमा राखियो ।

स्मरण रहोस् २०१५ सालको संसदिय निर्वाचनमा ४ सिट ल्याएका कम्यूनिष्टहरुले २०१७ साल पौष १ गते घर घरमा दिपावली मनाएका थिए । अन्ततः नेपालको इतिहासमा प्रजातन्त्रका लागी पौष १ गते कालो दिन भयो । वीपी लाई जेलमा राखिएता पनी अप्रत्यक्ष रुपमा आन्दोलनको नेतृत्व उहाँबाटै भई रहेको थियो ।

राजाबाट २०१७ पौष २२ गते देशका सबै पार्टी उपर प्रतिबन्धको घोषणा गरेपछि कांगे्रसलाई आन्दोलनमा जानुको बिकल्प रहेन । २०१८ देखि ०१९ सालसम्म इलामको च्याङथापु देखि जनकपुर, भरतपुर, गुल्मी, बझाङसम्म देशै भरि सशस्त्र प्रतिरोध आन्दोलन चल्यो । पुनः २०१९ साल कार्तिक २३ गते सशस्त्र आन्दोलन स्थगित गरि शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय भयो ।

नेपाली कांग्रेसकाे २०२४ साल १ देखि ६ गतेसम्म भारतको कलकत्तामा बसेको कार्यकारी परिषदको बैठकले संविधान सभाको निर्वाचन, बन्दि नेताहरुको रिहाई, भूमिसुधारका माध्यमबाट सामाजिक न्याय, ट्रेड युनियन अधिकारको स्थापना लगायतका मागहरु पुरा गराउन आन्दोलन गर्ने निर्णय गर्यो ।

वीपीको मेलमिलापको नीति

२०२५ साल जेष्ठ २ गते राजा सँग मेलमिलापको नीति अगाडी राख्ने निर्णयनुसार संविधान सभाको चुनावलाई पहिलो प्राथमिकता दिने निर्णय गर्यो र कार्तिक १४ गते वीपी कोइराला लगायतका नेताहरु सुन्दरीजल जेलबाट रिहा हुनुभयो । कांग्रेसले २०२६ देखि २०३३ साल सम्ममा आन्दोलनको त्रिकोणात्मक रणनैतिक कार्यनिति अगाडी ल्यायो ।

(१) सुवर्णसम्शेरको नेतृत्वमा राजासँग वार्ता र समझदारी कायम गर्ने ।

(२) कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अहिंसात्मक र असहयोग आन्दोलन मुलुकभित्रबाटै सञ्चालन गर्ने ।

(३) वीपी कोइरालाको नेतृत्वमा नेपालको तराई क्षेत्रबाट सशस्त्र संघर्ष गर्ने ।

बिगत १० बर्ष देखि स्वतन्त्र बिद्यार्थी आन्दोलनका नामबाट चलिरहेको संगठनलाई २०२७ साल बैशाख ६ नेपाल बिद्यार्थी संघको नामबाट बिधिवत् रुपमा गठन भयो । वीपीले २०२९ सालमा नेपाली मातृभूमीलाई बर्तमानको प्रसब बेदनाबाट मुक्त पार्न आवश्यक परेमा शल्यक्रिया गर्नुपर्ने बक्तव्य बिराटनगर दिनु भएपछि नेपालको राजनीतिमा ठुलो हलचल ल्यायो । पुनः २०२९ भदौ ९ गतेबाट वीपीको नेतृत्वमा सशस्त्र क्रान्ति शुरु भयो । त्यसक्रममा हरिपुर काण्डदेखि बिराटनगर बमकाण्ड समेतका अनेक काण्डहरु घटे, हजारौं नवयुवकहरु फेरि एकपल्ट प्राणको बाजी राखेर तानाशाहीका बिरुद्ध सघंर्षमा उत्रिए । नेपाली कांग्रेसले २०३० सालमा विराटनगरबाट काठमाडौंका लागी उडेको शाही नेपाल वायुसेवा निगमको जहाज अपहरण गर्यो । वीपी लगायतका नेताहरु भारत निर्वासनमा रहेका बेला २०३२ मंसिर १ भारतमा संकटकालको घोषणा भयो ।

वीपी कोइराला लगायत नेताहरुलाई भारत र नेपालमा दुवै तिर खतरा उत्पन्न भयो । जसका कारण नेपालको राष्ट्रियता पनि गम्भिर खतरा उत्पन्न भएको महशुस गर्दै वीपीले २०३३ साल पौष १६ गते राष्ट्रिय मेलमिलापको नीति अगाडी सार्नुभयो । तत्कालिन शाही सरकारले वीपीलाई ७ वटा मुद्दाहरु लगाएको थियो, एउटा मात्र मुद्दा सकृय हुँदा वीपीलाई फाँसीको सजाय हुन सक्दथ्यो ।

एउटा कुरा स्मरण रहोस् वीपी कोइरालाले आन्दोलनका बखत नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई लगाईएका सम्पूर्ण मुद्दाहरु आँफै स्वीकार गर्नुहुन्थ्यो । मँ बाँचे पनि नेपालमा नै बाँच्छु, मरे पनि नेपालमा नै मर्छु भनी, देशमा प्रजातन्त्रका सवालमा राजा सँग मेरो गम्भिर असहमती छ, तर राष्ट्रियताका सवालमा मेरो र राजाको घाँटी जोडीएको छ, मेरो घाँटी काटिँदा राजाको घाँटी पनि बाँकी रहने छैन भनी, राष्ट्रिय मेलमिलापको नीति लिएर वीपी नेपाल आउनु भयो । तर, वीपी लगायत नेताहरुलाई गिरफ्तार गरि जेल हालियो ।

धोकाबाट आएको जनमत संग्रह

उहाँमा घाँटीको क्यान्सरको समस्या देखिएपछि जेलबन्दि अवस्थामा नै उपचारका लागी अमेरिका जानु भयो । कांगे्रसले देशभरिका नेता तथा कार्यकर्ताहरुलाई आन्तरिक रुपमा जागरुप गराई रहेको अवस्था र २०३६ सालको बिद्यार्थी आन्दोलन र देशैभरि आन्दोलनले भित्रभित्रै सशक्त रुप लिने अवस्था देखेपछि राजाले फेरि अर्को षड्यन्त्रको रुपमा कांगे्रसको संविधानसभाको चुनावको बिकल्पको रुपमा २०३६ साल जेष्ठ १० जनमत संग्रहको घोषणा गरे । तत्कालिन शाही सरकारले बहुदल निलो, निर्दल पहेलो रङ हुने गरि २०३७ साल बैशाख २० गते जनमत संग्रह सम्पन्न भयो । २०३७ साल जेष्ठ १ गतेको मत परिणाम अनुसार बहुदल निलोको पक्षमा २० लाख ७ हजार ६५ र निर्दल पहेलोको पक्षमा २४ लाख ३३ हजार ४ सय ५२ बनाई जबर्रजस्ती निर्दललाई बिजयी गराइयो ।

देशमा देखिएको राजनैतिक कन्फुयजनहरुलाई स्पष्ट पार्ने अभिप्रायले २०३७ साल फाल्गुण १२ देखि चैत्र ५ गतेसम्म नेपालका बिभिन्न ५ स्थानमा कांगे्रसले आयोजना गरेका आमसभाहरुलाई सम्बोधन गर्नुभयो । यिनै कार्यक्रमहरु नै जननायक वीपी कोइरालाका औपचारिक अन्तिम कार्यक्रमहरु रहे । क्यान्सर रोगसँग लड्दै नेपाल र नेपाली अझै सेवा गर्ने तिब्र इच्छा हुँदै २०३९ श्रावण ६ गते काठमाडौंमा उहाँले देह त्याग गर्नु भयो ।

के आज नेपाली कांग्रेस पार्टीमा किसान, गरिब र श्रमजिविलाई चिन्ने नेता छ ? के गरिब, किसान र श्रमजिविले कांग्रेसकाे नाम लिन्छ ? जब गरिब र श्रमजिवि जनताले कांगेसलाई चिन्दैन अनि कसरी वीपीलाई चिन्दछ ?

जननायक वीपी कोइरालाको देशमा प्रजातान्त्रिक समाजवाद र प्रजातान्त्रिक सरकारको स्थापना गरि देशमा भएको सम्पूर्ण प्राकृतिक स्रोत, साधनको अधिकतम् आधुनिक र बैज्ञानीक ढंगले उत्पादन एवं परिचालन गरि सबै नेपाली जनतालाई युग सुहाँउदो रुपमा अगाडी बढाउने इच्छा अधुरै रह्यो ।

वीपीलाई अन्तर मनबाट कसरी बुझने ?

वीपीले गरिब, किसान, मजदुर, बिद्यार्थी, शिक्षक, निजामती कर्मचारी, व्यापारी, डाक्टर, इन्जिनियर, पाईलट, वकिल, सैनिक, भूपुसैनिक, भूपु राष्ट्र सेवक, पत्रकारहरु लगायतका बिषयमा उनिहरुको अवस्था, समस्या, उनिहरुको राष्ट्र निर्माणका लागी क्षमता र योग्यताका बारेमा सबैलाई मान्य हुने सर्बमान्य सिद्धान्त अपनाउनु भयो ।

उहाँले भन्ने गर्नुहुन्थ्यो ‘हाम्रो देशमा १०० जनामा ९० जना गरिब र श्रमजिवी छन् । जसलाई बिहान बेलुुका खान लगाउनको समस्या छ, नेपाल भनेको तिनै खान लगाउन नपाउने गरिब किसान र श्रमजिवि मजदुरहरुको हो । जब म नेपालको कल्पना गर्न थाल्दछु तिनै गरिब, श्रमजिवि नेपालीहरुको तस्विर मेरो मनमा झल्झल्ती आउँछ । खान नपाएको पेटमा अन्न जाओस्, हाँस्न नपाएको ओठमा हाँसो आओस्, रोगीले समयमा नै औषधि पाओस्, पढ्न नपाएकाहरुले पढ्न पाउन भनेर नै हामीहरु राजनीतिमा लागेका हौं । मन्त्रि हौँला, ठुलाठुला कुर्सीमा जाउँला भनेर राजनीति गरेका होईनौ ।’ आज वीपीले भनेका यि कुराहरु लागू गर्ने हिम्मत कुनै नेताहरुले गर्न सकेका छैनन् ।

वीपी समाजवादका बिषयमा भन्नुहुन्थ्यो ‘समाजवाद भनेको, हाम्रो मुलुक किसानहरुको, गरिबहरुको, श्रमजीवीहरुको हितको लागि हो । जस्ले गाउँमा बस्ने गरिब, किसान र श्रमजीवीहरुको भलाई गर्दछ । जसले उनिहरुको मुहारमा मुष्कान ल्याउन सक्दछ । त्यहि नै असली समाजवाद हो ।’

के आज नेपाली कांग्रेस पार्टीमा किसान, गरिब र श्रमजिविलाई चिन्ने नेता छ ? के गरिब, किसान र श्रमजिविले कांग्रेसकाे नाम लिन्छ ? जब गरिब र श्रमजिवि जनताले कांगेसलाई चिन्दैन अनि कसरी वीपीलाई चिन्दछ ?

अहिले राष्ट्रवादीहरु, प्रजातन्त्रवादीहरु, इमान्दार ब्यक्तिहरु जो शोषण, भ्रष्टाचार, दुराचार, अत्याचारको विरोधमा छन् । तिनिहरु बिस्तारै पार्टीका गतिविधिहरुबाट टाढा हुने अवस्था आउँदैछ । तर जसले आज देशलाई, पार्टीलाई यस अवस्थामा ल्याए, जो बाहीरबाट सञ्चालित छन् र अरु राष्ट्रप्रति बफादार छन् । पार्टीभित्र उनिहरुको हालिमुहाली बढ्दै गईरहेको छ । त्यसैले त अहिले राष्ट्रियता, पार्टी र लोकतन्त्र प्रति खतरा उत्पन्न भईरहेको छ ।

आज देशमा परिर्वतन भएको यतिका बर्ष सकेर धेरै शासकहरु आए गए तर देश र जनताले के पाए ? यसको जिम्मेवारी लिने कोही छ ? वीपीले २०१६ सालमा यो मुलुकको प्रथम जननिर्वाचित प्रधानमन्त्री हुँदा जनताको बिचमा कसम खाएर भन्नु भएको थियो ‘म १५ बर्षमा सबै नेपालीहरुलाई मेरो हैसियत बराबरको बनाउने छु’ तर आजसम्म देशमा कति जना प्रधानमन्त्रीहरु भए

कसैले पनि वीपीको जस्तो उदार भएर जनताका पक्षमा काम गरे त ?

संविधानका बिषयमा वीपीको स्पष्ट धारणा थियो कि संविधान भनेको त्यस्तो हतियार हो । जसले जनताको भलाई पनि गर्न सक्दछ र शोषण पनि गर्न सक्दछ । संविधान अनुसार शासन सत्ता सञ्चालन गर्ने शासक पनि प्रजातान्त्रिक आचरणको हुनु पर्दछ । संविधानमा लेखिने कुराहरु जनताको पक्षमा हुनु पर्दछ । त्यसैले त एक थान असली र लोकतान्त्रिक संविधानका लागी हजारौं नेपालीहरुले बलिदानी दिनु पर्यो, हजारौं मानिसहरु घाईते, अपाङ्ग, घरवार बिहीन हुन पुगे । तर देश र जनताले आजका दिनसम्म असली प्रजातन्त्रको स्वाद पाउन सकेका छैनन् ।

वीपीले चिन्ता ब्यक्त गर्दै भन्नु हुन्थ्यो- देशमा राष्ट्रिय स्तर देखि तल्लो स्तर सम्ममा एउटा यस्तो बर्ग हुन्छ । न त्यो सामन्त हो, न पुँजीपति । पुँजीपतिलाई धेरै राम्रो व्यापार, व्यवसाय गरेर प्रसस्तै धन आर्जन गर्न सकुँ भन्ने सोच हुन्छ । आम्दानी धेरै भएपछि मेरोसँगै देशको पनि विकास हुन्छ भन्ने स्वार्थ हुन्छ । तर उसले श्रमजिवि मजदुरहरुको मैले कति शोषण गरि रहेछु भन्ने ख्याल राख्दैन । त्यस्तै अर्को सामन्ती वर्गलाई खेतिपातीमा स्वार्थ हुन्छ । उसले पनि किसान र श्रमजिविहरुको शोषण गर्दछ । अर्को यहाँ एउटा खतरनाक बर्ग छ जो देशको मथिल्लो तल्लो तहदेखि तल्लोसम्म अधिकारको केन्द्रमा बसेर धन कमाई रहन्छ । त्यस बर्गलाई देशको, किसानको, गरिबको, श्रमजिविहरुको कुनै वास्ता हुदैन । देशको बजेट र बाहिरबाट बिभिन्न दातृ राष्ट्रहरुबाट आएको बजेट समेत अधिकांश हिस्सा प्रत्यक्ष अप्रत्यक्ष रुपमा उसैको पकेटमा जान्छ । देशमा जती ब्यापारको नाउँमा कालो बजारी हुन्छ त्यसमा पनि उसैको हिस्सा हुन्छ । उ केहि काम गर्दैन बिहान उठे देखि सुटेड बुटेडमा नै हुन्छ, सबैभन्दा धेरै सम्पत्ति आर्जन गरेको हुन्छ । उसको जीवन शैली पूँजीपती र सामन्ती बर्गभन्दा माथिल्लो स्तरको हुन्छ, त्यो भुँईफुट्टा हो ।

अहिले कांग्रेसकाे केन्द्रिय तहदेखि स्थानिय तहसम्म त्यहि भुईंफुट्टा वर्गको जालोले ढपक्कै ढाकेर कांग्रेसलाई चल्नबल्न नदिई अँठ्ठाई रहेको छ । यो जालो तोड्न कांग्रेसका माथिदेखि तलसम्मका इमान्दार नेता तथा कार्यकर्ताले अहिलेसम्म भेउ पाउन सकेका छैनन् । किनकी अहिले उनीहरुलाई पार्टीभन्दा गुट ठुलो हो भनी आन्तरिक प्रशिक्षण भइरहेको छ । सबै गुटमा असल मान्छेहरु हुन्छन् भन्ने चेतनाको कमी छ र उनिहरुले गुटका नाममा तिनै भुइँफुट्टा वर्गलाई नेता मान्नुपर्ने बाध्यता आम असली इमान्दार नेता कार्यकर्तामा छ ।

ति गुटमा समर्पित नेता तथा कार्यकर्ताहरुले जननायक वीपीलाई कसरी चिन्छन् त ? पार्टी जतीसुकै पुरानो भएपनि, आदर्श र सिद्धान्त राम्रो भएपनि त्यसमा काम गर्ने सबै नेता तथा कार्यकर्ता असल भएनन् भने आदर्श र सिद्धान्तको केहि अर्थ रहँदैन ।
वीपी कम्यूनिष्टहरु र पुर्व पञ्चहरुका विषयमा बडो स्पष्ट हुनुहुन्थ्यो । ‘कम्यूनिष्टहरु जनताका बिचमा कोरा आर्दशका कुरा गरेर, चर्का आकाश पाताल जोड्ने कुरा गर्दछन्, जनतालाई दिगभ्रमित पार्दछन् ।

पूर्व पञ्चहरु व्यवहारीकताका कुरा गरेर अलमल्याउने कोशिस गर्दछन् । यिनीहरुसँग कुनै पनि हालतमा राजनैतिक यात्रा गर्नु भनेको प्रजातन्त्रको हत्या गर्नु हो ।’ तर, नेपाली कांगे्रसले २०४६ सालको आन्दोलनदेखि आजसम्म बिभिन्न नामधारी कम्यूनिष्टहरुको संगतलाई छोड्न सकेको छैन । गल्ती यहिँनिर भइरहेको छ । अहिले त माथिल्लो तहदेखि तल्लो तहसम्म भोट साटासाट गर्ने, सत्ताको मोलमोलाई गर्ने भइरहेका छन् । आश्चर्य लाग्दो कुरा के छ भने दिउँसो, दिउँसो कम्यूनिष्टहरुको बिरोध गर्ने, रात परेपछि तिनै कम्यूनिष्टहरु गाला जोडेर सम्झाैता गर्ने चरित्रले नेपाली कांगे्रसको राजनीति र सिद्धान्त धर्मराएको हो ।

वीपीले भन्ने गर्नुहुन्थ्यो ‘जुनै पनि तहको जनताको प्रतिनिधिले जनताको सेवा गर्दा वा उनिहरुका नाममा योजना बनाउँदा गरिब किसान, श्रमजिवि मजदुरको तस्विर अगागी राखेर योजना बनाउनुपर्छ ।’ के आजका जनप्रतिनिधिहरुले त्यसो गरेका छन् ? जव जनप्रतिनिधिहरुले गरिब, किसान र श्रमिकहरुलाई चिन्दैनन् भने तिनीहरुलाई जनताको प्रतिनिधि बनेर शासन सत्तामा रमाउने अधिकार छैन । किसान र श्रमिकहरुलाई नचिन्ने हरुले वीपीलाई पनि चिन्न सक्दैनन् ।

वीपी कोइरालाको जीवन दुःखै दुःखमा बितेको हामी पाउँदछौ । व्यक्तिगत सुख, सुविधामा उहाँले कहिल्यै ख्याल गर्नु भएन । २०१६ सालमा वीपी नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री हुदाँ, उहाँकी धर्मपत्नी शुसिला आमाले वीपीसँग काठमाडौं एउटा आफ्नै घरको इच्छा राख्दा पनी उहाँले वास्ता गर्नुभएन ।

वीपीले चाहेको भए काठमाडौंमा घर बनाउने सामान्य कुरा थियो । तर, उनले आफ्नो आदर्श र इमान्दारिता कहिल्लै विक्रि गरेनन् । कहिल्लै सुखसयलमा बसुँ भनेनन् । के आज हाम्रो पार्टीमा यो हिम्मत र तागत भएका नेताहरु छन् ? के उनीहरुको

दैनिकी वीपीको जस्तो नैतिकवाद र आदर्शवान छ ?

आज जननायक वीपी कोइरालाको आर्दश, बिचार, सिद्धान्त र जीवन शैलीलाई बुझ्ने नेता तथा कार्यकर्ता कांग्रेसमा छैनन् । वीपीको बिचार र सिद्धान्त अस्ताउन लागेको डाँडा पारिको घाम जस्तै भएको छ । अत्यन्तै शालिन र भद्र स्वभावका धनी वीपीलाई नेपालमा धेरैले चिन्न र बुझ्न नसकेपनी उनी विश्वकै आदर्श र उदाहरणीय नेताका रुपमा तथा बलियो साहित्यकारका रुपमा परिचित छन् । नेपाल र नेपालीले वीपीको मान्यता, आदर्श र सिद्धान्तलाई अंगिकार नगरेको कारणले मुलुक पटक–पटक अस्थिर राजनीतिको शिकार भएको जग जाहेर छ ।

विश्वले वीपी कोइराला जस्तो महामानव नेपालको भूगोलमा जन्म लिनु नै विश्वमा प्रजातान्त्रिक अभियानका लागी ठुलो क्षति हो भनिरहँदा हामीले आफ्नै घरभित्रको हिरालाई चिन्न सकेनाैँ । अर्थात्, वीपीका विचार र मार्गदर्शनलाई अनुशरण गर्न सकेनौं । हाम्रा राजनीतिज्ञले वर्षका एकाधपल्ट उनका स्मरणमा शोकसभा गर्नु वाहेक अन्य केही गर्न सकेनन् ।

अलबिदा वी पी बाबु ।। अलबिदा ।।।

(लेखक नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनका सचिव हुन् ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *