फुलाराको ‘जूनसरी विलाई गयौं…..’ लिरिकल भिडियो सार्वजनिक

 

काठमाडौँ । नेपाली साहित्य फाँटमा विशिष्ट स्थान बनाइसकेका युवा साहित्यकार भीष्म राज फुलारा गीतकारको रूपमा नेपाली गीत, सङ्गीतको क्षेत्रमा पदार्पण गरेका छन् ।

फुलाराद्वारा आमाको सम्झनामा लिखित ‘जूनसरी बिलाई गयौँ…..’ बोलको उक्त गीतका सङ्गीतकार विक्रम थापा र गायक स्वरूप राज आचार्य रहेका छन् भने सङ्गीत संयोजन विसन मानन्धरको रहेको छ ।

फुलारा लिटरेचर फाउण्डेसन र द लभ अफिसेस अफ बासु डि. फुलारा पि.सी.को सहकार्यमा निर्माण गरिएको उक्त गीतको लिरिकल म्युजिक भिडियो गीतकार फुलाराको आधिकारिक युट्युब च्यानल ‘फुलारा इन्टटेनमेन्ट’ बाट एक कार्यक्रम बिच सार्वजनिक गरिएको हो ।

गीतकार भीष्म राज फुलारा गीतका बारेमा यसो भन्छन्, ‘आज म निक्कै नै भावुक भएको छु । मैले सानैमा मेरी आमा गुमाउनु परेकोले मेरी आमाको सम्झनामा यो गीतको सिर्जना गरेको थिएँ । यसका अतिरिक्त यो गीत संसारकी आमाहरूमा समर्पित गीत हो भन्न चाहन्छु ।’

त्यसै गरी उक्त गीतका गायक स्वरूप राज आचार्य यसो भन्छन् ‘मैले मेरो २५ वर्षे साङ्गीतिक यात्रामा सयौँ गीतहरू गाएँ । म सधैँ गहन गीतहरूको खोजीमा हुन्छु । गीतकार भीष्मराज फुलाराज्युका शब्दहरू निक्कै नै अब्बल रहेको पाएँ । गीतकार फुलाराजीले भने झैँ आमा गुमाइसकेका संसारका ती सबै सन्तानहरूको साझा गीत हो यो भन्ने कुरामा म पनि सहमत छु ।’

कार्यक्रममा उक्त गीतका सङ्गीतकार विक्रम थापाले समेत गीतकार भीष्म राज फुलारा नेपाली गीत सङ्गीत क्षेत्रमा अब्बल गीतकारको रूपमा पदार्पण गरेको हुँदा उत्कृष्ट गीतहरूको अभाव रहेको वर्तमान अवस्थामा फुलारा जस्ता संवेदनशील गीतकारको खाँचो रहेको औँल्याएका थिए ।

उक्त गीतको छायाङ्कन किशोर खनाल र सम्पादन श्यामराजा श्रेष्ठले गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + one =