कामलाई प्रसादको रूपमा लिन्छु : उमेश राई (फुलन्देकी आमा)

काठमाडौँ । कुनै समय नेपाली चलचित्र उद्योगमा हास्य कलाकारहरूलाई कथालाई अघि बढाउने सहायक पात्रका रूपमा मात्र हेरिन्थ्यो । उनीहरूलाई मुख्य भूमिकामा केन्द्रित गरेर चलचित्र निर्माण गर्नु लगभग असम्भवजस्तै मानिन्थ्यो । तर समयसँगै यो धारणा बदलिएको छ ।

हास्य कलाकारबाट आफ्नो अभिनय यात्रा सुरु गरेका दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल र विजय बरालजस्ता कलाकारहरूले मुख्य अभिनेताका रूपमा आफूलाई स्थापित गरिसकेका छन् । उनीहरूले बक्स अफिसमा पनि सफलता हासिल गर्दै हास्य कलाकार केवल सहायक पात्र मात्र हुन् भन्ने पुरानो भाष्यलाई परिवर्तन गरिदिएका छन् ।

यसले नयाँ पुस्ताका हास्य कलाकारहरूलाई पनि ठुलो पर्दामा आफ्नो क्षमता देखाउने प्रेरणा दिएको छ ।

यही यात्राका पछिल्ला प्रतिनिधि पात्र हुन्- चर्चित हास्य कलाकार उमेश राई । टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ मा ‘फुलन्देकी आमा’ को भूमिकाबाट घर–घरमा लोकप्रिय बनेका उमेश अब चलचित्रमार्फत ठुलो पर्दामा देखिँदै छन् । उनको डेब्यु चलचित्र ‘चमेलीको पोइ’ यही असोज १६ गतेदेखि प्रदर्शनमा आउँदै छ ।

‘चलचित्रमा उनको भूमिका कस्तो हुनेछ ?’ भन्ने कुरा ट्रेलर र टिजर सार्वजनिक भएपछि थप प्रस्ट हुनेछ । तर, चलचित्रको पहिलो गीत ‘ओई ओई चमेली, तम्रा शेरे खोई’ सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उमेशले आफ्नो कामप्रतिको दृष्टिकोण खुलेर व्यक्त गरेका छन् ।

‘नेपालमा पछिल्लो समय हास्य कलाकारहरूको फिल्म लगातार आइरहेका बेला तपाईँलाई पनि चलचित्र गर्नुपर्ने दबाब थियो कि ? यो नै सही समय हो ?’ भन्ने पत्रकारको प्रश्नमा उमेशले यस्तो जवाफ दिए ।

‘म त प्रेसर केही पनि लिन्न । हिजोको कुरा पनि बिर्सिदिन्छु, भोलिको लागि पनि आशा राख्दिन । आज के छ, त्यसैमा बढ्ने मान्छे हो । जे छ, त्यसैमा रमाउँदै हिँड्ने मान्छे हो । त्यस्तो प्रेसर लिन्न पनि, लिएको पनि छैन । आएका कामहरूलाई चाहिँ प्रसाद सम्झेर रेस्पेक्ट (सम्मान) गर्छु’ उनले भने ।

वर्तमानमा रमाउन चाहने उमेशले आफूले पाएका अवसरलाई सधैँ सम्मानका साथ लिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =