भारतीय मिडिया : सबै गर्न भ्याउने, सिवाय पत्रकारिता

काठमाडौं । नेपाल सरकारले आफ्नो अतिक्रमित भूमि समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि भारतीय मिडियाले नेपालविरुद्ध लगातार भ्रामक, काल्पनिक र असत्य सामग्री पचार–प्रसार गर्दै आएका छन् ।

पत्रकारिताको सामान्य विश्वव्यापी मान्यतालाई समेत ख्याल नगरी नेपालविरुद्ध उत्रिएको भारतीय मिडिया अहिलेसम्म पनि थाकेको छैन । भारतीय मिडियाको यस्तो हर्कतका कारण नेपालको सार्वभौमसत्ता तथा राष्ट्रियता नै संकटमा पर्ने प्रतिक्रिया जानकार, विज्ञ तथा सरोकारवालाहरुले दिइरहेको बेलामा पुनः एकपटक यो शृङ्खलाले प्रशय पाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र आन्तरिक कलह चर्किएपछिको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता र प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीभित्रको भूमिकालाई लिएर बनाइएको भ्रामक, असत्य तथा आपत्तिजनक रिपोर्ट प्रशारण भएपछि उक्त शृङ्खला पुनः दोहोरिएको हो ।

१६ मिनेटभन्दा लामो रिपोर्टमा राजदूत यान्छीलाई ‘विषकन्या’को संज्ञा दिनुको साथै राजदूत यान्छीकै मायाजालमा फसेर प्रधानमन्त्री ओलीले भारतविरुद्धका आवाज तथा कदम उठाएको भनी भारतीय न्यूज च्यानल जी टीभीले दुष्प्रचार गर्ने चेष्टा गरेको छ ।

भारतीय न्यूज च्यानल जी टीभीद्वारा प्रशारित आपत्तिजनक रिपोर्टको एक दृश्य–

प्रधानमन्त्री ओली र राजदूत यान्छीविरुद्धको अनर्गन प्रचारपछि यहाँका राजनीतिक व्यक्तिदेखि सम्बन्धित विषयविज्ञहरुले विभिन्न आवाजहरु उठाएका छन् ।

अनर्गल प्रचार गर्ने भारतीय मिडिया प्रधानमन्त्रीको नोटिसमा
आफू र राजदूत यान्छीविरुद्ध अनर्गल प्रचार भएपछि प्रधानमन्त्री ओलीले आफू र राजदूत यान्छीसँगै नेपालको विपक्षमा उभिएका भारतीय न्यूज च्यानलहरु आफ्नो नोटिसमा रहेको प्रतिक्रिया दिएका छन् ।

“प्रधानमन्त्री तथा राजदूत र नेपालविरुद्ध काल्पनिक प्रचार गर्ने जी टीभीलगायतका भारतीय मिडिया प्रधानमन्त्रीज्यूको नोटिसमा छन् ।” प्रधानमन्त्रीलाई उदृत गर्दै उनका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार (हिजो) प्रतिक्रिया दिएका छन् ।

पत्रकार महासंघले भन्यो, ‘भारतीय प्रचार पीत पत्रकारिता’
प्रधानमन्त्री ओली र राजदूत यान्छीविरुद्धको प्रचारलाई नेपाल पत्रकार महासंघले पीत पत्रकारिताको संज्ञा दिएको छ ।

जी टीभीको रिपोर्टपछि विज्ञप्ति निकालेर निन्दा गरेको महासंघले भारतीय प्रचार विश्वव्यापी मान्यताविपरीत भएको उल्लेख गरेको हो ।

यस्तै उसले आफ्नो कर्म/धर्म भुलेर नेपालविरुद्ध उभिएको भारतीय मिडियाविरुद्ध कानूनी तथा राजनीतिक उपचार खोज्नुपर्ने माग गरेको छ ।

नेपालमा भारतीय न्यूज च्यानलहरुमा रोक
विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटरले नेपालविरुद्ध शृङ्खलाबद्ध रुपमा अनर्गल प्रचार गर्दै आएको भारतीय न्यूज च्यानलहरुलाई रोक्ने निर्णय गरेको छ ।

बिहीबार (हिजा)देखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्यूज च्यानलहरुको प्रशारण रोक्ने निर्णय अपरेटरले गरेको हो ।

“भारतीय मिडियाहरुले नेपालविरुद्ध गरेको दुष्प्रचारले सीमा नाघेपछि हामीले यसको प्रशारणलाई रोक्ने बाध्य भयौं ।” मेघा म्याक्स टीभीका उपाध्यक्ष ध्रुब शर्माले भनेका छन् ।

यस्तै उनले सरकारी नीति नआइ इन्टरनेटबाट उपलब्ध हुने सामग्रीहरु रोक्न आफूहरु असक्षम रहेको पनि उनले प्रतिक्रिया दिएका छन् ।

भारतका लागि नेपाली राजदूतको अमूर्त ढंगको प्रतिक्रिया
जी टीभीलगायतका न्यूज च्यानलहरुले प्रधानमन्त्री र राजदूत यान्छीविरुद्ध भ्रामक र कपोलकल्पित रिपोर्ट प्रशारण गरिरहँदा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भने गैह्रजिम्मेवारी प्रतिक्रिया दिएका छन् ।

उनले हिजो आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा लेखेका छन्, ‘बोल्नुपर्ने ठाउँमा बोल्ने हो, लेख्नुपर्ने ठाउँमा लेख्ने हो । त्यो बोलिएको छ, लेखिएको छ ।’

उनको यो प्रतिक्रियापछि नेपालमा उनको पनि तीब्र आलोचना भएको छ । विभिन्न सञ्चारमाध्यम तथा विज्ञहरुले एउटा जिम्मेवार राजदूतले यस्तो प्रतिक्रिया दिनु गैह्रजिम्मेवारीपूर्ण आलाकाँचापन भएको बताएका छन् ।

राजदूत आचार्यको ट्वीटमा जानकार तथा विषयविज्ञहरुले ब्ल्याङ्केटभित्र बसेर आफैँ फत्फताउनुको कुनै अर्थ नरहेकोदेखि दुनियाँले सुन्नेगरी बोल्नुपर्नेसम्मको टिप्पणी गरेका छन् ।

भारतीय मिडियाविरुद्ध सरकारले कानूनी उपचार खोज्छ
सरकारका प्रवक्ता डा. युवराज खतिवडाले नेपालविरुद्ध आक्रमण शैलीको प्रस्तुत भइरहेका भारतीय मिडियाविरुद्ध कानूनी तथा राजनीतिक उपचार खोजिने बताएका छन् ।

“कुनै दूर्भाव फैलाउने गरी, चरित्र नै हत्या गर्ने गरी, मान-मर्यादालाई नै आँच पु्र्याउने गरी सम्प्रेषित समाचार र विश्लेषणहरुविरुद्ध भर्त्सना गर्दछौं ।” सरकारका तर्फबाट नियमित रुपमा आयोजना हुने पत्रकार सम्मेलनमा सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै गरेका खतिवडाले भने ।

उनले थपे, ‘यस्ता मिडियाविरुद्ध सरकारले कानूनी र राजनीतिक उपचार खोज्छ ।’

के अब हामी भारतीय मिडियाको दादागिरीविरुद्ध नतमस्तक भइरहने ?
भारतीय मिडियाको अतिवादप्रति सिङ्गो नेपाल जानकार रहे पनि तत्कालै केही गर्न भने सकेको छैन ।

उनीहरु (भारतीय मिडिया)को यो भर्त्सनापूर्ण र आपत्तिजनक आवाजहरु हामीले श्रवण गरिरहने हो भने सानो, सुन्दर र शान्त नेपालले आफ्नो सार्वभौमिकता र राष्ट्रियतालाई गुमाउन पुग्छ ।

सांसदको निधनमा उद्योगीको तस्वीर छापेर आफैँ सिद्धिने हैसियत राख्ने भारतीय मिडियाहरुसँग त्यस्तो ठूलै आशा केही छैन । अनि हामी, त्यो चाहान्छौं, हामीलाई यत्ति धेरै पनि नचिढ्याइदेओस् ।

पत्रकारिताबाहेकका सबै सबै गर्न भ्याउने भारतीय मिडियाका कारण हाम्रो राष्ट्रियतामा आँच नपुगोस् । र कुनै हालतमा हामी पुग्न पनि दिँदैनौं ।

त्यसो त यसमा नेपाल सरकारको भूमिका पनि उस्तै हुनुपर्यो । विषयविज्ञ तथा सरोकारवालाहरुले भनेझैं कूटनीतिक तवरबाट नेपालीत्वलाई सखाप पार्न खोज्ने त्यस्ता भारतीय मिडियाविरुद्ध एकढिक्का हुनुपर्छ ।

अब चाँडै नेपालले आफूविरुद्ध आक्रामक भएर लागेको भारतीय मिडियाविरुद्ध कानूनी तथा राजनीतिक उपचार खोजोस् । सरकार हाँकेको दल पनि आफ्नै आन्तरिक कलहमा मात्रै अल्झेर नबसोस् ।

बम, बारुद र बन्दुकसँग नझुकेको नेपाली शिर हामी ठाडै राख्न चाहान्छौं । हामी नेपाली, नेपाली भएर बाँच्छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *