मध्यपूर्व युद्ध विस्तार गर्ने हुथीको धम्की पछि इरानद्वारा अमेरिकी सैन्य सुविधा केन्द्रित आक्रमणमा वृद्धि

तेहरान । मध्यपूर्वमा तनाव बढ्दै जाँदा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनामाथि थप निर्णायक र शक्तिशाली आक्रमण गर्ने चेतावनी दिएको छ ।

यमनका हुथी विद्रोहीहरूले साउदी बन्दरगाहहरूमा नाकाबन्दी गर्ने चेतावनी दिएपछि युद्ध थप भड्किने जोखिम बढेको भन्दै इरानको रिभोलुसनरी गार्ड्सले यस्तो चेतावनी दिएको हो ।

इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी राडार, हवाई रक्षा प्रणाली तथा अन्य सैन्य सुविधालाई लक्षित गरी थप आक्रमणको तयारी भइरहेको जनाएको छ ।

इरानी रिभोलुसनरी गार्ड्सले होर्मुज जलमार्ग पार गर्ने प्रयास गरिरहेका दुई वटा तेल ट्याङ्करमाथि आक्रमण गरी नियन्त्रणमा लिएको दाबी गरेको छ ।

यसैबीच, पछिल्लो झडपमा कम्तीमा तीन जना अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाले इरानविरुद्ध नयाँ चरणको आक्रमण सुरु गरेको जनाएको छ । उक्त अभियानको उद्देश्य होर्मुज जलमार्गमा व्यापारिक जहाजमाथि आक्रमण गर्ने इरानी सैन्य क्षमतालाई कमजोर बनाउनु रहेको अमेरिकी पक्षले जनाएको छ ।

यसअघि इरानी सेनाले कुवेत र बहराइनमा रहेका अमेरिकी हवाई रक्षा प्रणाली, राडार केन्द्र तथा प्रशासनिक भवनलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको थियो ।

इरानी समाचार संस्था आईआरएनएको विज्ञप्तिमा मिसाइल आक्रमणलाई थप प्रभावकारी र शक्तिशाली बनाउने तयारी भइरहेको उल्लेख गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्वमा मारिएका प्रत्येक अमेरिकी सैनिकको मृत्युको मूल्य इरानले चुकाउनुपर्ने चेतावनी दिएका छन् भने इरानी राष्ट्रपति मसूद पेजेस्कियनले द्वन्द्व पूर्ण रूपमा फैलिएको बताएका छन् ।

पेन्टागनका अनुसार गत जुलाई ७ यता भएको द्वन्द्वका क्रममा करिब एक सय जना अमेरिकी सैनिक घाइते भएका छन् ।

यसैबीच, तेहरानका सहयोगी हुथी विद्रोहीहरूले साउदी बन्दरगाहहरू अवरुद्ध गर्ने घोषणा गर्दै युद्ध विस्तार गर्ने चेतावनी दिएका छन् ।

हुथीहरूको यस्तो कदमले साउदी अरेबियाको तेल निर्यातमा असर पार्न सक्ने र विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पर्न सक्ने आकलन गरिएको छ ।

साउदी अरेबियाले भने हुथी विद्रोहीको चेतावनीको कडा विरोध गर्दै यमनी जनता र त्यहाँको सरकारलाई समर्थन जारी राख्ने बताएको छ ।

अप्रिलमा भएको युद्धविराम र जुनमा भएको सम्झौता कमजोर भएपछि मध्यपूर्वमा पुनः तनाव बढेको हो ।

इरानले होर्मुज जलमार्गमा नाकाबन्दी पुनः लागू गरेको दाबी गरेको छ भने अमेरिकाले इरानी बन्दरगाह अवरुद्ध गर्ने कदम अघि बढाएको जनाएको छ ।

विश्वको प्रमुख तेल आपूर्ति मार्गमध्ये एक होर्मुज जलमार्ग प्रभावित हुँदा लामो समयसम्म युद्ध जारी रहे तेलको मूल्य अझै बढ्न सक्ने चिन्ता बढेको छ ।

यद्यपि होर्मुज अवरुद्ध भए पनि साउदी अरेबियाले लाल सागरस्थित यानबु बन्दरगाहबाट लाखौँ ब्यारेल तेल निर्यात जारी राख्न सक्ने बताइएको छ ।

यसैबीच, कूटनीतिक प्रयास पनि जारी रहेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले मध्यस्थकर्तामार्फत अमेरिकासँग कूटनीतिक संवाद भइरहेको बताएका छन् ।

इरानका आन्तरिक मन्त्री इस्कन्दर मोमेनी दुई दिने भ्रमणका लागि पाकिस्तान पुगेका छन् । उनले पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ र सेना प्रमुख असीम मुनीरसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यता, लेबनानका राष्ट्रपति जोसेफ आउनले पनि मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वासिङ्टनमा भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 10 =