बहराइन र कुवेतले गरे इरानी आक्रमण विफल पारेको दाबी

काठमाडौं । बहराइन र कुवेतले सोमबार इरानबाट गरिएका हवाई आक्रमणका प्रयासलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले विफल पारेको बताएका छन् ।
अमेरिका र इरानबीच एक साताभन्दा बढी समयदेखि जारी सैन्य तनावबीच दुवै देशले पछिल्ला आक्रमणको जानकारी सार्वजनिक गरेका हुन् । होर्मुज जलसन्धिमा ओमानतर्फको जलमार्ग प्रयोग गर्ने जहाजलाई इरानी जलक्षेत्र प्रयोग गर्न बाध्य पार्ने प्रयासपछि अमेरिका–इरानबीचको कमजोर युद्धविराम लगभग भङ्ग भएको छ । त्यसयता दुवै पक्षले एकअर्कामाथि आक्रमण जारी राखेका छन् ।
अमेरिकी ‘फिफ्थ फ्लीट’ तैनाथ रहेको बहराइनले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले इरानका धेरै हवाई आक्रमणका प्रयासलाई अवरोध गरी नष्ट गरेको जनाएको छ । कुवेतको सेनाले पनि इरानबाट आक्रमण गरिएको पुष्टि गरेको छ । यसअघि सोमबार इरानको रिभोलुसनरी गाड्र्सले कुवेतस्थित अमेरिकी सैन्य लक्ष्यमा प्रहार गरेको दाबी गरेको थियो ।
बहराइनको राजधानी मनामामा रहेका एएफपीका संवाददाताका अनुसार साइरन बजेसँगै विस्फोटका आवाज सुनिएका थिए । बहराइनस्थित अमेरिकी दूतावासले इरानले मध्यमनामाका केही स्थानलाई लक्षित गर्न सक्ने सम्भावित जोखिमबारे सूचना प्राप्त भएको जनाएको छ । दूतावासले त्यहाँ रहेका अमेरिकी नागरिकलाई सतर्क रहन, स्थानीय अधिकारीको निर्देशन पालना गर्न तथा दूतावासबाट जारी सुरक्षा सूचनामाथि ध्यान दिन आग्रह गरेको छ ।
यसै महिना अमेरिका र इरानबीच युद्धविराम तथा समझदारीपत्रमा हस्ताक्षर भएपनि त्यसपछि पुनःद्वन्द्व चर्किएको छ । अमेरिकी सैन्य उपस्थितिका कारण कुवेत र बहराइन इरानी आक्रमणको मुख्य निशानामा परिरहेका छन् । बहराइनले इरानमाथि सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाएको छ । कुवेतले पनि पानी तथा विद्युत् उत्पादन केन्द्र र तेलसम्बन्धी पूर्वाधारमा इरानी आक्रमण भएको जनाएको छ ।








