उदित नारायणले सम्झिए विगतः ‘आत्महत्या गर्ने सोच समेत आयो !’

काठमाडौं । भारतीय फिल्म उद्योगमा आफ्नो ४० वर्ष पूरा गरिसकेका उदित नारायण झाले यो अवधिमा दुई पटक पद्म पुरस्कार प्राप्त गरे । ५ पटक उनले फिल्म फेयर अवार्ड समेत जितिसकेका छन् ।

सन् १९८० मा उनको पहिलो फिल्म ‘उन्नीस बीस’ आएको थियो । उक्त गीत उदित नारायणले मोहम्मद रफीसँग गाएका थिए । उनले ४० वटा भाषामा गीत गाएका छन् । यी सबै उपलब्धि उनले सजिलै हासिल भने गरेका होइनन् । उनले आफ्नो जीवनको संघर्षको क्षण एक भारतीय सञ्चार माध्यमसँग खोलेका छन् ।

‘संघर्षका दिनमा मानिसहरुले भन्ने गर्थे कि यो त अब कुनै कामको छैन । आफूसँग क्षमता हुँदा समेत मुम्बईका ठूला गीत सङ्गीतकारको ढोका ढक्ढकाएँ । बल्लबल्ल पहिलो काम पाएँ । त्यसपछि सन् १९८८ मा ‘कयामत से कयामत तक’ नामको फिल्म आयो, त्यसपछि पछाडि फर्केर हेरेको छैन’, उनले भनेका छन् ।

गायक झाका अनुसार सन् १९८० देखि पहिलो काम पाउने संघर्ष अलग थियो । ६ देखि ७ व्यक्तिसँग मुम्बईमा एउटा कोठामा बस्थे । त्यतिबेला उनलाई लगातार धम्की आउँथे । ‘सन् १९९८ मा ‘कुछ कुछ होता हे’ बाट सफलता पाएपनि एउटा भिन्न संघर्ष सुरु भयो । लगातार धम्की आउन थाल्यो । ‘धेरै हावामा उडिस्’ भनिन्थ्यो । पैसाका लागि फोन आउन सुरु भयो । कामसमेत छोडिदिन भनियो । एउटा समूह थियो जसले मेरो नामको सुपारी दिएको थियो, जो मेरा कामका लागि असुरक्षित महसुस गरिरहेका थिए’, उनले भारतीय मिडियासँगको कुराकानीमा बताए ।

यस्तो अवस्थामा मुम्बई क्राइम ब्रान्चले आफूलाई लगातार सहयोग गरेको उनले बताए । सुरुमा सन् १९९८ मा तत्कालीन पुलिस कमिश्नर एम एन सिंहले उनलाई दुई प्रहरी अधिकारी दिए । पछि जब राकेश मारिया आए उनले पनि सतर्क रहन भने । उनले पनि गायक झालाई सुरक्षा प्रदान गरे ।

एक समय लखनउबाट उनको नामको सुपारी लिएका केही मानिस आएका थिए । त्यतिबेला प्रहरीले स्थिती नियन्त्रणमा लियो । अर्को एक पटक पनि उनीमाथि हमला गर्ने तयारी भएको थियो । उनले सन् १९९८ देखि २०१९ सम्म धम्कीयुक्त फोन पाए । कतिपटक त हत्या गरिदिने धम्की पनि पाउने गर्थे । गाली गलौज त हरेक फोनमा पाउँथे ।

उनले भने, ‘मैले भाइ त्यस्तो केही होइन, खासै राम्रो कमाई छैन, एउटा गीतमा १५ देखि २० हजार भारु कमाउँछु भनेर सम्झाउनु पर्दथ्यो । तर कसैले सुनेनन् । लगातार २२ वर्ष मैले धम्की सुनेर बिताएँ ।’

सुरुसुरुमा आफूलाई पक्कै पनि डर लागेको उनले बताए । उनका थुप्रै रात ननिदाइकनै बित्थे । कतिपटक डिप्रेशनमा समेत गएको उनले रहस्य खोले । ‘आत्महत्यासम्मको विचार आयो, तर एक सैनिकले झैं डटिरहेँ’, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *