देउवाले आफ्ना पक्षका नेताहरुलाई ‘नेकपा फुट्दैछ तयार रहनु’ किन भने ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी फुट्ने अवस्थामा पुगेको बताउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु निकटका नेताहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

देउवाले आफ्ना नेताहरुलाई किन तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् प्रष्ट नभएपनि नेकपाको फुट पछि कांग्रेस सहितको संयुक्त सरकार बन्न सक्ने भन्दै आफ्ना निकट नेताहरुलाई सोको लागि तयार रहन उनले निर्देशन दिएको स्रोतको दावि छ ।

सानेपा स्रोतका अनुसार असार १७ गते बुधबार राती देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग करिब डेढ घण्टा भेटवार्ता गरेपछि उनले आफ्ना निकटका नेताहरुलाई ओली कै नेतृत्वमा संयुक्त सरकार गठन हुन सक्ने बताएका हुन् ।
‘पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले देउवालाई पार्टी विभाजनको अन्तिम अवस्थामा पुगेको बताउँदै त्यसपछि उत्पन्न राजनीतिक परिस्थिति कसरी अगाडी बढाउने बारे देउवासँग छलफल गर्नु भएको छ ।’ स्रोत भन्दछ । तथापि, देउवा र प्रधानमन्त्री विचको भेटघाटलाई संबैधानिक निकायमा नियुक्ति बारे मात्र छलफल भएको बाहिर ल्याइएको छ ।

ओलीले पार्टी विभाजन पछि देउवालाई सरकारमा सहभागी हुन आग्रह गरेको र सोहि अनुसार देउवाले पनि आफ्ना पक्षका नेताहरुलाई निर्देशन दिएको स्रोतको दावि छ । तर, नेपाली कांग्रेसभित्रै एकथरी अहिलेको अवस्थामा सरकारमा गए पार्टीको लोकप्रियता खस्कने बताउँदै आएका छन् । ‘ओली सरकारले केही गर्न सकेन भनेर जनमानसमा निशारा छ, यसैबेला हामीले पदलोलुपता देखाउने हो भने हामीलाई जनताले फेरी विस्वास गर्ने अवस्था रहन्न, त्यसकारण आउँदो निर्वाचनसम्म सरकारमा जाने कुनै नगरौं ।’ एक कांग्रेस केन्द्रीय सदस्यले मकालु खबरसँग भने–‘ओलीको नेतृत्वमा कांग्रेस सरकारमा जानु भनेको कांग्रेस सती जानु हो ।’

यता नेकपाभित्र पनि ओली र देउवाविचको भेटघाटले ओलीले पार्टी विभाजन गर्नै लागेको थप आशंका उब्जिएको छ । पार्टीको स्थायी कमिटि सदस्यहरु मध्ये अधिकांश पुष्पकमल दाहाल र माधव नेपाल पक्षसँग लागेर ओलीको राजिनामा मागिरहेका छन् । नेकपाभित्र दाहाल, नेपाल, खनाल, गौतमको गठबन्धन भएपछि ओलीलाई सरकार र पार्टी अध्यक्षबाटै हटाउने खेल चर्किएको बेला नेकपाका दोस्रो दर्जाका नेताहरु भने ओली र दाहाल नेपाल पक्षलाई फकाउने र नरम बनाउने रणनीतिमा लागेका छन् ।

तर, हिजो साँझ मात्रै ओलीले मन्त्रिपरिषद्का मन्त्रीहरु र राज्यमन्त्रीहरुलाई समेत बालुवाटारमा बोलाएर आफु र राष्ट्रपतिलाई हटाउन ठूलो सड्यन्त्र भइरहेको जनाउ दिँदै पार्टी विभाजनको जनाउ दिइसकेका छन् । यसले नेकपाभित्र पार्टी विभाजनको स्पष्ट रेखा कोरिँदै गएको देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *