ओलीले छाडेनन् अडानः स्थायी कमिटी बैठकअघि सहमति जुटाउने प्रयास

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउन आज पनि नेताहरु छलफलमा जुट्दैछन् । पार्टी स्थायी कमिटी बैठकअघि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदैछ ।

ओली र प्रचण्डबीच शुक्रवार बालुवाटारमा भएको छलफलमा कुनै निर्णय नभएर आज बिहान पुनः छलफल हुने गरी बैठक टुङ्गिएको थियो । बैठकमा प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने अडान दोहोर्‍याएका थिए । उनले गल्ली सच्याउने तर पद नछाड्ने अडान दोहोर्‍याएका हुन् । बुधबार नेकपाका बहुमत स्थायी कमिटी सदस्यले भेला गरेर प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा गराउने निष्कर्ष निकालेका थिए ।

ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै नछाड्ने तर एकताबद्ध भएर जान चाहे मंसिर ४ को सहमतिलाई थप परिभाषित गर्न तयार रहेको भन्दै दाहाललाई आफ्नो बटमलाइन दिएका छन् । मंसिर ४ को सहमति ओलीले पाँच वर्ष सरकार चलाउने र दाहालले पार्टीको काम गर्ने भन्ने हो ।

अध्यक्ष दाहालले भने मंसिर ४ को सहमति कार्यान्वयनमा ओलीले नै बाधा सिर्जना गरेकाले अब पार्टी एकता गर्दा जेठ २ मा भएको सहमतिअनुसार जानुपर्ने प्रस्ताव गरेका छन् । जेठ २ को सहमतिको स्पिरिट भनेको दुवै अध्यक्षले सरकारको नेतृत्व आलोपालो गर्ने भन्ने हो । यसको अर्थ ओलीले अब पद छोड्नुपर्छ भन्ने हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउँसो अध्यक्षद्वयबीच करिब ४ घण्टा वार्तालाप चले पनि दुवैले अडान नछाडेपछि सहमति हुन सकेन । प्रधानमन्त्री ओली र दाहाल–नेपाल पक्षीय नेताहरुबीच ओलीको राजीनामाको विषयलाई लिएर तीब्र धु्रवीकरण भएपछि विवाद सामसुम पार्न भन्दै शुक्रबार स्थायी कमिटी बैठक रोकिएको थियो ।

शुक्रबार रोकिएको स्थायी कमिटी बैठक आज बिहान ११ बजे बस्नेगरी बोलाइएको छ । स्थायी कमिटी बैठकअघि दुई अध्यक्ष र अन्य नेताहरुबीच पनि छलफल जारी रहने छ । पार्टी एकतालाई जोगाउन र सहमतिका साथ अघि बढ्न नेकपाका दोस्रो पुस्ताका नेता र कार्यकर्ताले पनि नेतृत्वलाई दबाब दिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *