‘अहिले प्रधानमन्त्रीलाई राजिनामा गर्न लगाउनु देश र जनताप्रति ठूलो गद्दारी हो’

काठमाडौं । पार्टीभित्र देखिएको मतान्तरकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन लगाउनु गलत हुने नेकपाका केन्द्रीय सदस्य नारदमुनी रानाले बताएका छन् । सरकार सञ्चालन र पार्टी सञ्चालनमा दुई अध्यक्षविच मतान्तर भएपनि जनमत विपरित सरकार परिवर्तन गर्नु ठूलो गल्ती हुने सांसद रानाको तर्क छ ।

उनले प्रधानमन्त्रीलाई अहिलेको विषम परिस्थितिमा राजिनामा माग्नु र ओलीले पनि राजिनामा दिएर हिँड्नु ठूलो भूल हुने ठोकूवा गरे । ‘यो बेला प्रधानमन्त्रीको राजिनामा माग्नु नै गलत हो, यदी उहाँले राजिनामा दिएर गए त्यो जनमतको अपमान हुन्छ । देश र जनताप्रति गद्दारी हुन्छ, जसको मुल्य शिर्ष नेता र पार्टीले चुकाउनु पर्छ ।’ रानाले भने ।

मकालु खबरसँग विशेष कुराकानी गर्दै संसदको अन्तराष्ट्रिय समन्वय समितिको सदस्य समेत रहेका नेता रानाले बर्तमान सरकारले राष्ट्रियता र विकास निर्माणमा उल्लेख्य काम गरेको समेत दावि गरेका छन् । ‘यो सरकारले कामै गरेन भन्दीन, राष्ट्रियताका सवालमा केपी ओली सरकारबाट ऐतिहासिक काम भएको छ, विकास निर्माणका सन्दर्भमा चीनसँग अन्तराष्ट्रिय व्यापार सन्धी, भारतसँगको प्रेटोलियम पाइपलाइनको काम लगायत यस्ता धेरै कामहरु सरकारले गरेको छ । जसले मुलुकलाई विकासको पथमा डोर्याइरहेको छ ।’ सांसद रानाले सरकारले एकदमै राम्रो गर्यो भन्न नमिलेपनि अहिलेको विषम परिस्थितिमा गर्दै नगरेको पनि भन्न नमिल्ने प्रष्ट पारे ।

भारतले अतिक्रमण गरेको भूभाग फिर्ता ल्याउने सवालमा बर्तमान सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको भूभाग समेटेर नेपालको नयाँ नक्सा जारी गर्नु ऐतिहासिक काम गरेको दावि गरे । ‘अब लिम्पियाधुरा, लिपुलेक, कालापानी सहित भारतले नेपालका जहाँ जहाँ भूमी अतिक्रमण गरेको छ त्यो ठाउँको जमिन फिर्ता ल्याउनु पर्छ । त्यसका लागि सिंगो राष्ट्र राष्ट्रियताको पक्षमा ओली सरकारसँग हुनुपर्छ ।’

नेता रानाले बर्तमान सरकारले राष्ट्रियताका पक्षमा काम गर्दै गर्दा केही पार्टी भित्रैकाले अरुको प्रभावमा परेर सरकार ढाल्ने सड्यन्त्र गरेको आरोप लगाए । असार १४ गते प्रधानमन्त्रीले मदन जयन्तीको अवसरमा ओली सरकार ढाल्न भारतले खोजेको भन्नुमा केही सत्यता रहेको तर्क गरे । ‘नत्र भने स्थायी कमिटिको बैठक भित्र भएका कुरा नेपाली मिडियालाई थाहै नभइ भारतीय मिडियालाई कसरी थाहा भो ? उनले प्रश्न गरे ।

रानाले सरकारले अतिक्रमित भूमी सहितको नक्सा र निशान छाप सहितको नक्सा जारी गर्दैगर्दा जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले त्यसको विरोध गर्नुको पछाडी भारतको हात हुन सक्ने जिकिर गरे । ‘मेरै समितिमा हुनुहुन्छ, मैले पटकपटक नेपालले आफ्नो नक्सा जारी गर्दा तपाईलाई किन आपत्ति भनेर सोधेको थिए, उहाँ कहाँबाट परिचालित हुनुहुन्थ्यो प्रष्ट भइसकेको छ ।’ उनले भने । रानाले सरिता गिरीले राज द्रोह गरेको जनाए । राजद्रोह गर्नेलाई राज्यले कानुनी सजाय दिनेमा आफु विस्वस्त रहेको समेत जिकिर गरे ।

रानाले नेकपा भित्र विगतमा ठूलो संघर्ष गरेका, जेलनेल भोगेका, टुटफुटको राजनीतिबाट अनुभव हासिल गरेका, पटकपटक सरकार र पार्टी चलाएका नेताहरु भएकाले उनीहरुले पुनः गल्ती गर्ने अवस्था सृजना नभएको जनाउँदै अहिलेको निकास वार्ता र संवादबाटै निस्कने आशा व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *