सरिता गिरीलाई कानुनी रूपमा दण्डित गराएर नजिर बसाल्नु छ : रमेश प्रसाईँ

काठमाडौँ । रमेश प्रसाईँले नेपालको राष्ट्रियता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिने सांसद सरिता गिरीलाई कानुनी रूपमा दण्डित गराउनको लागि आफूहरूले प्रहरीमा जाहेरी दिएको स्पष्ट पारेका छन् । आफूहरूले दिएको जाहेरीउपर सही सुनुवाइ नभए १५ दिनपछि आफू कानुनबमोजिम जाहेरी लिएर अदालत जानेपनि उनले जानकारी दिए । तर, यो बिचमा प्रहरी प्रशासनले आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ । शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले यस्तो जानकारी गराएका हुन् ।

जाहेरी दिनकैलागि काठमाडौँ आउन अलिकति समस्या परेको बताउँदै परिवारले २१ हजार दुई सय ५५ रुपैयाँ उपलब्ध गराएको पनि उनले सुनाए । काठमाडौँ आउने क्रममा गाडी बिग्रिएर सिन्धुलीमा १२ घण्टासम्म बस्नुपरेको पनि उनले कष्टकर क्षण सुनाए । र, त्यहाँबाट ट्याक्सी चालकले लिफ्ट दिएर काठमाडौँसम्म ल्याइदिएको प्रसाईँले जानकारी दिए ।

महानगरीय प्रहरी परिसर, टेकुमा दर्ता गराएको जाहेरी रमेश प्रसाईँले मात्रै दर्ता गराएको जाहेरी वा मुद्दा नभएर नेपालका सम्पूर्ण राष्ट्रभक्त नेपालीहरूले दर्ता गराएको मुद्दा भएको उनको भनाई छ ।

उनले भने,‘त्यसको प्रतिनिधि पात्र मात्रै रमेश प्रसाईँ हो, १८ घण्टासम्म काम गरेर प्रति दिन दुई जनाले ज्यान गुमाएर कोरोनाको कहरले सोत्तर बनाएका ठाउँहरूमा आफ्ना आमा सम्झिने अलाप विलाप गर्दै पठाएको रेमिट्यान्स, रगत पसिना काढेर ती नागरिकहरूले पठाएको रेमिट्यान्सबाट तलब, भत्ता खाने एक जना सांसदले जसले देशको प्रतिनिधित्व गर्नुपर्ने हो, राष्ट्रिय र अन्तराष्ट्रियतास्तरमा देशको प्रतिनिधित्व गर्नुपर्ने, देशका बिचारहरूलाई पुर्‍याउनुपर्ने, देशको हितमा नीति निर्माण गर्नुपर्ने, गरिमामय पदमा बसेको सांसदजस्तो व्यक्तिले देशविरुद्ध अर्को राष्ट्रको पक्षमा, छिमेकी राष्ट्रको पक्षमा, देशको नीतिविरुद्ध र राष्ट्रियताविरुद्ध टिप्पणी गर्ने, यो कुनै नेपाली नागरिकलाई सह्य हुनैसक्दैन् । हामीले माननीय सांसद सरिता गिरी, जो अहिले जनता समाजवादी पार्टी, नेपालको प्रतिनिधित्व गर्नुहुन्छ, उहाँ सरिता गिरी सांसदज्यू विरुद्ध एउटा नागरिकको स्तरबाट मैले महानगरीय प्रहरी परिसर टेकुमा राज्यविरुद्धको कसुरको जाहेरी दर्ता गरेको छु । राजद्रोहको उजुरी दर्ता गरेको छु । र, त्यो जोहरी प्रहरी कार्यालयमा दर्ता भएको छ ।’

उनले आफूहरूले जाहेरीमार्फत गिरीले राष्ट्रियतामाथि राष्ट्रघात टिप्पणी गरेको कुरालाई उठाएको, हिन्दी मधेसको जिनमा र डिएनएमा छ भनेर भनेको कुरामा पनि आपत्ति जनाउँदै उक्त विषय जोहरीमा उल्लेख गरिएको सुनाए । उनले भने,‘नेपालको सरकारी कामकाजको भाषा नेपाली हो भनेर संविधानमै स्पष्ट रूपमा लेखिएको छ । उहाँले मधेस र पहाडमा विभाजन ल्याउनेगरि नेपालको जिनमा नेपाली भाषा छ, र मधेसको जिनमा हिन्दी भाषा छ भनेर उहाँले राष्टमा विभाजन गराउने खालको टिप्पणी गर्नुभएको छ ।’

उनले सरिता गिरीको टिप्पणीले आफूहरूले छानेको प्रतिनिधिको शरीर चाहिँ नेपाली तर उनको आत्मा चाहिँ भारतजस्तो देखिएको टिप्पणी गरे । गिरीले भारतको प्रतिनिधित्व गरेको उनको आरोप छ । गिरीको राष्ट्रविरोधी वक्तव्य र मन्तव्यका कारण नेपालीहरूमा धेरै चोट लागेको प्रसाईँले बताए । यस्तै रहिरहे कुनै दिन नेपालको संसद्मा सरिता गिरी प्रवृत्तिको बहुमत नपुग्ला भन्न सकिन्छ ? भन्दै उनले प्रश्नसमेत उठाए ।

प्रसाईँले सरिता गिरीको सांसद पद खारेज गराउने आफूहरूको लक्ष्य नभएको जिकिर गरे । उनले कुनै जिम्मेवारी पदमा बसेको व्यक्तिले पदबाट राजीनामा दिँदैमा वा बर्खास्त हुँदैमा उसले गरेको अपराध क्षम्य नहुने स्पष्ट पारे । गिरीले कानुनी कठघरामा उभिएर दण्ड भोग्नै पर्ने उनको भनाई छ । आफ्नो मुद्दा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले निःशुल्क लडिदिने वचन दिएको पनि उनले जानकारी गराए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले रमेश प्रसाईँ राष्ट्रवादी व्यक्ति भएको र उनको प्रत्येक आवाज र ढुकढुकीमा मुलुक बोलिराखेको बताए । भण्डारीले भने, ‘मुलुकप्रति भएको अन्याय उहाँ सहन सक्नुहुन्न । उहाँको यो पुनित भावना छ । र, रमेश प्रसाईँजीप्रति मेरो ज्यादै ठुलो श्रद्धा र सम्मान छ । त्यही भएर म उहाँको कानुन व्यवसायी भएर सहयोग गर्न पाउँदाखेरि मैले आफूलाई खुसी मात्रै होइन, गौरवान्वित ठानेको छु ।’

प्रसाईँको जाहेरी असार ५ गते शुक्रवार टेकुमा दर्ता भएको उनले बताए । भण्डारीले प्रसाईँले दर्ता गराएको जाहेरी वाचन गरेर समेत सुनाएका थिए । उनले प्रसाईँलाई साथ दिनको लागि सबैमा आग्रह र अपिलसमेत गरेका छन् । पत्रकार सम्मेलनको सञ्चालन भने जीवन विष्टले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + two =