सडकमा सुतेर प्रदर्शनः बेसार प्यार प्यार, काम कहिले सरकार ?

काठमाडौं । आज (शनिबार) पनि युवाहरुले सहिदगेट अगाडी सडकमा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन् । कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै उनीहरुले सडकमा सुतेर प्रदर्शन गरेका हुन् ।
१० अर्बको हिसाब पारदर्शी हुनुपर्ने, १०० प्रतिशत पिसिआर विधिबाट कोरोना परीक्षण गर्नुपर्ने भन्दै प्रदर्शनमा उत्रिएका उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार राष्ट्रिय सभामा दिएको ‘बेसार अभिव्यक्ति’ प्रति पनि असन्तुष्टि जनाए ।

बेसार नै कोरोनाको औषधि नभएको उनीहरुको भनाइ छ । बेसारले पहेंलै भएका युवाले ‘बेसार प्यार प्यार, काम कहिले सरकार ?’ भन्ने प्लेकार्डसहित सरकारको विरोध गरे ।
सडकमा मात्रै होइन सामाजिक सञ्जालमा समेत प्रधानमन्त्रीको भनाइको उछितो काडिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको भान्सामा अदुवा, लसुन, बेसार लगायत औषधिजन्य खाने कुरा हुने र त्यो सन्तुलित खानाले रोग प्रतिरोधात्मक क्षमता बढी हुने गरेको बताएका थिए ।
प्रम ओलीले बेसारको फाइदा मात्रै होइन बेफाइदाबारे पनि धारणा राखेका थिए । त्यतिमात्रै होइन प्रम ओलीले कोरोना रूघाखोकीजस्तै भएको र तातोपानी खाएर हाच्छ्यूँ गरेर उडाइदिनुपर्ने बताएका थिए ।









