धरानमा नाटक घरको शिलान्यास, नाट्य मण्डलीहरुको सपना साकार

धरान । कुनैबेला धरानलाई नाटककै जन्मदाताको शहर भनेर चिनिन्थ्यो । तीन दशक अघिसम्म धरानमा दर्जनौं नाट्य मण्डलीहरु सक्रिय थिए । ४० को दशक धरानमा नाटकको लागि स्वर्ण युग थियो ।

०५० को दशकको मध्यतिर आइपुग्दा भने नाट्यकर्मीहरु सुस्ताउँदै गए । मण्डलीहरु विघटन भए । धरान आसपास, इटहरी, विराटनगर, धनकुटा आदी क्षेत्रमा सक्रिय रहेका नाट्यकर्मीहरु पलायन भए । नाट्य क्षेत्र ब्यवसायीक हुन नसकेपछि कतिले पेशा नै परिवर्तन गरे ।

यद्यपि, धरानका केही कलाकर्मी र नाट्यकर्मीहरुले नाटकलाई ज्युँदै राख्ने काम गरिरहेका थिए । तर, त्यो पनि लामो समयसम्म टिक्न सकेन । अनाम नाट्य जमात १० वर्ष अघिसम्म धरानमा सक्रिय रहेको भएपनि संस्थाभित्रको अपारदर्शीता र अनियमितताले फुट्यो । अन्य केही नाट्यकर्मीहरु पनि विदेश पलायन भएपछि कुनै बेला नाटकको शहर, नाट्यकर्मीहरुको शहर भनेर परिचित धरान सुस्त भएकोमा अहिले पुनः जुर्मुराएको छ ।

अहिले धरानलाई पुनः नाट्यकर्मीको शहरका रुपमा परिभाषित गर्न धरानका नाट्यकर्मी, साहित्यकर्मी तथा स्थानीय निकाय जुर्मुराएका छन् । त्यसको पछिल्लो उदाहरण धरानमा बन्न लागेको ‘नाटक घर’ हो ।

धरानको सभागृह परिसरमा आजबाट विधिवत रुपमा ‘नाटक घर’ को शिलान्यास गरीएको छ । धरान सभागृहको परिसरमा निर्माण हुन लागेको ‘नाटक घर’ ले धरानको नाट्य क्षेत्रलाई पुर्नजागृत गर्ने अपेक्षा गरिएको छ ।

धरान सभागृहमा अव्यवस्थित रुपमा नाटक देखाउनु पर्ने बाध्यतालाई चिर्न सुविधासम्पन्न ‘नाटक घर’ को परिकल्पना गरीएको हो । ४ करोड अनुमानित लागतमा निर्माण हुने ‘नाटक घर’ मा ४० लाखको सासंद बिकास कोषको रकम प्रयोग हुनेछ ।
धरान प्रज्ञा प्रतिष्ठान र बिभिन्न कलाकर्मीहरुको अगुवाईमा सो ‘नाटक घर’ निर्माण हुने बताइएको छ । ‘नाटक घर’ को शिलान्यास सुनसरी क्षेत्र नं. १ का संघिय सासंद जय कुमार राईले गरेका छन् ।

उनले धरान कलाकर्मीहरुको शहर रहेको बताउँदै नाटककै लागि नाटक घर निर्माण हुनु खुसीको कुरा भएको बताए ।
राईले धराने कलाकर्मीहरुले चलाएको अभियानमा आफुले सक्ने जति सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । ‘धरानको मात्र नभइ मुलुककै कला क्षेत्रको विकास र विस्तारमा धरानको योगदान महत्वपूर्ण रहेको छ । यसलाई अझ व्यवस्थित गर्न र यहाँको कला क्षेत्रको विकासमा जोडिन पाउँदा म असाध्यै खुसी भएको छु ।’ सांसद राईले भने ।

धरानमा ‘नाटक घर’ को शिलान्यास भैरहँदा धरानका कलाकर्मीहरु पनि निक्कै खुसी देखिन्थे । धरान उपमहानगरपालिकाको धरान प्रज्ञा प्रतिष्ठान लगायतका संघ संस्थाहरुको शुरुवात कालदेखिकै ‘नाटक घर’ निर्माणको ठुलो सपना बोकेका थिए । ‘धरानमा सुविधा सम्पन्न ‘नाटक घर’ होस् र, निरन्तर नाटक मञ्चन गर्न पाईयोस्’ भन्ने धराने कलाकर्मीहरुको सपना विपनामा परिणत हुने अवस्था आएको कलाकर्मीहरुले बताएका छन् । धरान उपमहानगरपालिकाकी उपमेयर मन्जु भण्डारीले ‘नाटक घर’ निर्माण थालनीसँगै धरानलाई साँस्कृतिक शहर बनाउन महत्वपूर्ण पुर्वाधार थपिएको बताइन् ।

नाटक घर निर्माणका लागि करिब ४ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा धरान उपमहानगरपालिकाले बिभिन्न सरकारी निकाय, सासंद बिकास कोष, स्थानीय दाताहरुबाटै सहयोग उठाएर ‘नाटक घर’ निर्माण गर्ने योजना बनाएको छ ।

८ः३७ मा अद्यावधिक गरिएकाे । सम्पादक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *