गीत-संगीतमा चम्किएका एकनारायणकाे अबकाे याेजनाः उपन्यास र कविता

काठमाडौं । स्याङ्जामा जन्मिएका लोकप्रिय सर्जक एक नारायण भण्डारी लकडाउनको समय परिवारसँग बिताइरहेका छन् । साथै उनी अनलाईनबाटै गितार सिक्दैछन् ।

उनको बाल्यकाल स्याङ्जामा नै बित्यो । सरल स्वभावका उनी करीब १८–१९ वर्षसम्म स्याङ्जामै बसे । ८ कक्षासम्म घर नजिकैको विद्यालयमा पढे । ९ कक्षादेखि घरदेखि अलि टाढा रहेको वालिङ बजारमा २ वर्षसम्म पढे ।

उनले १३–१४ वर्षको उमेरदेखि नै घर छोडेका थिए । पढ्नका लागि जब वालिङ्ग बजार आए, त्यहाँदेखि उनी महिनाको एक पटक वा वर्षको ३–४ पटक मात्रै घर जान्थे । पढाइमा उनी ट्यालेन्ट थिए, प्रथम, द्धितीय भइरहन्थे ।

बाल्यकालदेखि नै एकान्त मन पराउने उनलाई हिँड्न अथवा कहीँकतै जान साथीभाइ चाहिँदैन थियो । एक्लै हिँड्न रुचाउँथे । सानैदेखि गम्भीर स्वभावका उनी कतै ढिकीजाँतो देखे भने यसले कसरी मकै पिस्छ भनेर सोच्ने गर्थे । किसानका छोरा भएकोले खेत बारीमा आमालाई सघाउन पुग्थे ।

उनको परिवारमा बाबा, आमा, एक जना बहिनी, २ जना भाइ छन् । उनी घरको जेठो छोरा हुन् । सांगीतिक क्षेत्रमा त्यति ठुलो योजना लिएर लागेका थिएनन् । गाउँ घरमा हुने पुजाआजाको भजन कृतनमा जाँदाजाँदै उनको विचारमा संगीत आयो । रहर पलायो यस क्षेत्रमा लाग्ने ।

बाटोमा हिँड्दा पनि आफैँ दोहोरी गीत गाउने अभ्यास गर्थे । कसैले इन्टरभ्यु लिएको कल्पना गर्दै आफैँ कलाकार र पत्रकार प्रश्नोत्तर गर्थे । स्कुलमा हुने साँस्कृतिक कार्यक्रम तथा प्रतियोगीताहरुमा भाग लिन्थे । ती कार्यक्रममा पनि प्रथम या द्धितिय भइरहन्थे । जे देख्यो त्यसैलाई शब्दमा उतार्ने प्रयासमा लागेका उनले व्रतबन्धपछि म र मेरो टुप्पी भन्ने कविता लेखेका थिए । गजल, मुक्तकमा पनि उनको रुचि थियो । लेख्थे पनि ।

१० कक्षामा पढ्दै गर्दा उनको पहिलो गीत ‘देउरालीमा हावा चल्यो’ रेकर्ड भयो । हालसम्म उनले ६ सय बढी गीत लेखिसकेका छन् भने ४ सय बढी गीतमा संगीत भरिसकेका छन् । २०५९ सालमा उनी काठमाडौं आए र गीत संगीततिर लागे । सफल पनि भए । गायक भण्डारी एउटा गीत लेखेको तथा संगीत भरेको २० हजार लिने गर्छन् । सुपारी चाम्रो गीत बजारमा आएपछि उनले आर्थिक अभाव खेप्नु परेको छैन । उनलाई गीत संगीतमा पहिचान दिलाउने गीत पनि यही हो ।

जिम्मल बाउ कि छोरी, डाफे नाँचेर, लालुपाते नुघ्यो भुइँतिर, मन परेरै हो कि, फूलमा मौरी डुल्ने बेलामा, तिर्खा लाग्यो पानी खाएँ , मलाई बाँसुरीले रुवायो, जोडेको नाता तोडेर गयौ, मलाई जसले पनि किन रुवाउँछ, म बाँचेकै तिमीसँग माया लाउन हो, मेरो मनैको फुल टिपी, नाइँ मलाइ थाहा छैन, हातमा रातो झोला, यो कुरा गोप्य नै राखौँला जस्ता दजर्नौँ सुपर हिट गीतहरुमा शब्द संगीत भरेका छन् ।

साहित्यबाट सुरु भएको उनको यात्रा गीतसंगीतसँगै उपन्यासतिर पनि लम्किएको छ । गायक भण्डारीकाे अबको योजना उपन्यास, कविता संग्रह निकाल्ने रहेको छ । गीत संगीतको गोरेटोलाई फराकिलो गर्दै साहित्यसहितको राजमार्ग बनाउने सोच छ उनको ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *