नेकपा सचिवालय बैठकमा एमसीसीबारे छलफल, दुई मन्त्रीसहित भीम रावल पनि सहभागी

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा र नेता भीम रावल पनि सहभागी छन्।

एमसीसी अध्ययन कार्यदलले दिएको प्रतिवेदन तथा गर्नुपर्ने निर्णयमा छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। एमसीसीलाई संसदबाट पारित गराउने विषयमा नेकपा भित्र विवाद भइरहेको बेला आमन्त्रित सदस्यहरुबीच बैठक बसेको हो।

बैठकमा पार्टीका दुवै अध्यक्ष र सबै सदस्यहरूको उपस्थितिमा छलफल भइरहेको उनले जानकारी दिए। नेकपामा यथास्थितिमा एमसीसी पारित गर्न नहुने आवाज बुलन्द भइरहेका बेला त्यसबारे निर्णय लिन पार्टीले बैठक डाकेको हो। गत केन्द्रीय समिति बैठकमा नेकपाभित्र एमसीसीबारे चर्को विरोध भएपछि एमसीसीबारे अध्ययन गर्न कार्यदल गठन भएको थियो ।

सो कार्यदलले एमसीसीसँग सम्बन्धित ११ वटा बुँदाहरू सच्याउन सुझाव दिएको थियो। यस्तै नेपालको राष्ट्रिय सुरक्षाका विषयहरूलाई गम्भीर रूपमा सम्बोधन गर्न संशोधनको आवश्यकता रहेको पनि ठहर गरिएको थियो। तर सो कार्यदलको सुझाव र पार्टीभित्र विवाद कायम रहेको बेला सरकारले बजेटमै एमसीसी घुसाएको छ।

नीति तथा कार्यक्रममा एमसीसीको कार्यक्रम समावेश गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र भीम रावलले आपत्ति जनाएका थिए। उनीहरूले एमसीसी जस्केलाबाट घुसाउन खोजेको हो भन्दै प्रधानमन्त्रीलाई पत्र पनि लेखेका थिए। अर्थमन्त्री डा खतिवडाले बजेट भाषणमा एमसीसीबारे जिकिर नगरे पनि अनुदानबारे अनुसूचीमा यसलाई समावेश गरेको पाइएपछि नेकपाभित्र हलचल मच्चिएको छ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को यही अधिवेशनबाट एमसीसी पारित हुने जिकिर गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *