लोक सेवा आयोगको निर्णय : लकडाउनको अवस्था सामान्य भएपछि परीक्षा कार्यक्रम सार्वजनिक गरिने

काठमाडौं ।लोक सेवा आयोगको सोमबार बसेको बैठकले लकडाउनको अवस्था सामान्य भइसकेपछि परीक्षा कार्यक्रम सार्वजनिक गरिने बताएको छ ।  आयोगले पहिलो चरणको परीक्षा भइसकेका नायब सुब्बा र शाखा अधिकृतका परीक्षा स्थिति सामान्य भएपश्चात् हुने बताएको छ ।

यस्तै, लिखित परीक्षा सम्पन्न भएका र अन्तर्वार्ता कार्यक्रममा प्रवेश गरिसकेका विज्ञापनको हकमा भने नयाँ कार्य तालिका निर्धारण गरी पछि प्रकाशन गरिने आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए ।

आयोगले दरखास्त सङ्कलन भई सकेका तर कुनै पनि चरणको परीक्षा कार्यक्रम सञ्चालन नभएका विज्ञापनको हकमा नेपाल सरकारबाट अर्को निर्णय भई नआएसम्मका लागि परीक्षा कार्यक्रम स्थगन गरिएको जनाएको छ ।

२०७६ फागुन २८ मा प्रकाशित अप्राविधिक खरिदार वा सो सरह पदका लागि भएका विभन्नि विज्ञापनहरुमा दरखास्त लिने कार्य २०७७ जेठ ९ गते शुक्रवार देखि बन्द गर्ने निर्णय भएको छ । साथै दरखास्त बुझाई सकेका तर दरखास्त दस्तुर बुझाउन बाँकी उम्मेदवारहरूका लागि स्थिति सामान्य भएपश्चात् निश्चित अवधि तोकी दस्तुर बुझाउने प्रबन्ध गरिने आयोगले जनाएको छ ।

आयोगले नेपाल सरकारबाट अर्को निर्णय नभएसम्मका लागि उक्त विज्ञापनहरूको परीक्षा कार्यक्रम स्थगन गरिएको जानकारी दिएको छ ।

यस्तै, आयोगको स्वीकृत वार्षिक कार्य तालिका बमोजिम विज्ञापन हुन बाँकी रहेका पदहरूको विज्ञापन प्रकाशनको कार्य हाललाई स्थगन गर्ने निर्णय गरेको छ ।

न्याय सेवा आयोगका क्षेत्राधिकार भएका न्याय सेवाका पदका विज्ञापनको हकमा स्थिति सामान्य भएपश्चात् नयाँ परीक्षा कार्यक्रम निर्धारण गरिने छ । न्याय सेवाले आयोगलाई परीक्षा नगर्ने भनेमा आयोगले सोबारे आवश्यक निर्णय गर्ने बताएको छ ।

यस्तै सुरक्षा निकाय तथा सङ्गठित संस्थाको परीक्षा सञ्चालन सम्बन्धमा पनि आयोगले दुई बुँदे निर्णय गरेको छ । कुनै पनि चरणको परीक्षा कायृक्रम भई सकेका वा परीक्षा प्रक्रियामा प्रवेश गरी सकेका निकाय तथा संस्थाका लिखित परीक्षा सञ्चालन हुन बाँकीको हकमा स्थिति सामान्य भएपश्चात् नयाँ परीक्षा कार्यक्रम निर्धारण गरी सार्वजनिक गर्ने बताएको छ ।

सम्बन्धित निकाय तथा संस्थाबाट विज्ञापन प्रकाशन गरिसकेको तर आयोगबाट परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी रहेका निकाय तथा संस्थाका विज्ञापनको परीक्षा कार्यक्रम नेपाल सरकारबाट अर्को निर्णय भई नआएसम्मका लागि स्थगन गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *