‘लिसोजस्तो कुर्सीमा जवरजस्ती टाँसिनु पनि अपराध हो’

प्रदीप घतानी   

कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै जाँदा आम नागरिकमा थप त्रास पैदा गरिरहेको छ । त्यसमाथि ‘लकडाउन’का कारण घरभित्र बस्नु पर्ने बाध्यता छ । नबसौँ पनि कसरी ? कोरोनाबाट बच्नुको अरु बिकल्प पनि त छैन । तर, रातदिन घरभित्र बस्नु पर्दाको पीडा हुने खाने र हुँदा खानेहरुको विच विल्कुल फरक छ ।   

हुने खानेहरुलाई घरभित्र बस्दाको छटपटाहट खाद्यान्न, अतिआवश्यकीय बस्तु अभाव हुने होकी भन्ने डर होला तर, हुँदा खानेहरुलाई छाक कसरी टार्ने, साना लालाबालाहरुको भोक कसरी मेटाउने ? अनि दैनिक ज्याला मजदुरी गर्न कहाँ जाने ? पिरलो छ । त्यसमाथि सबैको एक मात्र आशाको केन्द्र मानिने सरकारको कार्यशैली कमजोर र अब्यवस्थित भएपछि हुँदा खानेहरुलाई झनै कठिन भइरहेको छ ।   

हामी सरकारले दिएको आदेश पूर्णरूपमा पालना गर्दै पूर्ण रुपमा ‘लकडाउन’मा नै छौँ । तर, सरकारले गरेका गलत निर्णयको फड्के साक्षी बस्न निदाएका चाहिँ छैनौं । सरकारको नेतृत्वमा हुनेहरुले गरेका र गर्न खोजेका हरेक काम, कारबाहीलाई नजिकैबाट नियाँल्दै छौँ । विश्वलाई कोरोना संक्रमणले गाँजेको बेला नेपाल सरकारका केही मन्त्री र तिनका आसेपासेले राज्यको ढुकुढीमा ब्रम्हलूट गरेको देखिरहेका छौं । भोलीका दिनमा तिनका विरुद्ध जनतालाई जागरुक गराउँन परेको खण्डमा अगाडी बढ्न हामी तयार छौं । अहिले हामी जनताका आवाज सुन्दै पनि छौँ । पर्यो भने आवश्यक भौतिक सहयोगमा पनि खटिने छौँ । सरकार ! हामी जस्ता युवालाई खटाउ र वातावरण तयार गर ।   

ती मजदुर जो दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउँथे, अहिले उनीहरुको चुलोमा आगो बलेको छैन । उनीहरुको चुलो नबल्दा राज्यको छातीभित्र आगो दन्किनु पर्ने हो । सर हाम्रा प्रधानमन्त्री र तिनको सरकार निदाएको नाटक गर्दै नाक कान र आँखा ठूल्ठूला पारेर बसेको छ । लक डाउनको यतिका दिन हुँदा पनि सरकारले स्थानीय तहमा राहत पुर्याउन सकेन । धेरै ठाउँमा राहतको फारम मात्र आयो, राहत आएन ।   

महामारीको यो विषम परिस्थितिमा पनि हाम्रा मन्त्री ज्यूहरु जनताको राहतमाभन्दा आफ्नै भकारी भरिपूर्ण गर्नमा ब्यस्त हुनु जस्तो लज्जाको कुरा अरु कुनै छैन ।  कोरोनाको त्रासमा घरभित्र भोकभोकै बसिरहेका जनतालाई राहत स्वरुप सान्त्वना मात्रै भएपनि दिनुपर्ने सरकारका सल्लाहकारहरुले दिनदहाडै जनआवाजमाथि धम्कीपूर्ण तवरले शब्दका वाँण प्रहार गर्नु अर्को निर्लज्जताको उदाहरण हो । र, भ्रष्टाचारको मुखपनि हेर्दिन र गर्नपनि दिन्न भन्ने सम्माननीय प्रधानमन्त्रीज्यू तिनीहरुकै अघिपछि रहेर जनताका नाममा खोक्रो संवोधन गरेरै दिन कटाउनु भनेको बेशरमको हद हो ।   

अहिलेको युग विज्ञान प्रविधिको युग हो । संसार निक्कै साँघुरो भइसकेको छ भन्ने कुरामा कोही पनि अनभिज्ञ छैन । जुन सुकै चिज लुकाउन, दवाउन खोजेर दबिने वाला छैन । यो विज्ञानले पनि प्रमाणित गरिसकेको छ । न्यूटनको नियमले भन्छ, यदि कुनै चिजलाई दबाउन खोज्यो भने त्यसको रियाक्सन बिपरित दिसामा फैलन्छ । हो यहाँ यस्तै भएको छ । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले खरिद गरेको कोरोना सामग्रीमा भएको भ्रष्टाचारमा जोजो छन् तिनलाई बसन्तपुरको डबलीमा ल्याएर कोर्रा बर्साउँदा पनि पाप लाग्दैन । जनता कोरोनाको त्रासमा घरभित्र लुकेर बस्दा तीनै जनताको स्वास्थ्यमा खेलवाड गर्दै कमजोर सामग्री चर्को मुल्यमा खरिद गर्नेहरु मानव हैनन मानवका नाममा दानव हुन् ।   

केहीलाई लाग्छ होला काम गर्न सजिलो कहाँ छ र ? हो काम गर्न कहीँ सजिलो छैन तर, नियत र ईच्छा शक्ति सही भयो भने जुनसुकै कुरा असम्भव पनि छैन । कोरोना सामग्री खरिदमा राज्यको ढुकुटीमा नाङ्गो नाच देखाउनेहरुले काम गरेका हैनन् जनताका नाममा राज्यद्रोह गरेका हुन् । 

राज्यको जिम्मेवार पदमा रहेर काम गर्न सकिन भनेर लिसोजस्तो कुर्सीमा जवरजस्ती टाँसिनु पनि अपराध हो । आफु काम नगर्ने, अरुलाई काम गर्न दिएनन् भनेर रुनुको अर्थ छैन । जनतालाई दोष दिएर वा अरुलाई गाली गरेर राज्यको ढुकुटी दुरुपयोग गरेर बस्ने छुट् कसैलाई छैन । 

लामो संघर्ष र संक्रमणबाट गुज्रिएर आएका हामी नागरिकसँग स्थायी र बहुमत प्राप्त सरकार छ जसले जस्तो सुकै कठिन परिस्थितिमा साथ र सहयोग गर्छ भन्ने आश जनतामा थियो । हिजो चुनाबबाट सत्तामा आएका दलका नेताहरुले चुनावी मैदानमा गरेका बाचाहरु ताजै छन् । जनअपेक्षा असाध्यै धेरै थिए र छन् पनि । तर, सरकार गठनको दुई वर्ष वितिसक्दा बहुमतको सरकारले जनताको त्यो अपेक्षा, विश्वास र भरोसामाथि कुठाराघात गर्ने शिवाय अरु केही गर्न सकेन ।   

अहिले राज्यका दक्ष जनशक्ति भन्ने यूवाहरु मुलुकको सिष्टम र राजनीति हेर्न नसकेर पलाएन हुने क्रम दिनप्रतिदिन बढेको छ । शिक्षित वर्ग अमेरिका, अस्ट्रेलिया, युके, जापान पलायन हुँदा अर्धदक्ष युवाहरु पनि खाडी मुलुकमा १८ घण्टा काम गर्न गइरहेका छन् । उनीहरुलाई दैनिक १२ घण्टा सम्मानपूर्वक यहि मुलुकमा काम गरीखाने बाटो राज्यले बनाइदिएको भए अहिले गाउँघरमा रोगी बुढाबुढीहरु मात्र हुने थिएनन् । सधैं हरियाली हुनुपर्ने घरबासी खेल सुख्खा लागेर चिरा पर्ने थिएनन् । र, मुलुकले वर्षेनी अरबौंको खाद्यान्न छिमेकी मुलुक भारतबाट ल्याउनु पर्ने थिएन ।  हिजो निर्वाचन ताका जनताका घरघरमा खुट्टैमा ढोगेर भोट माग्नेहरुले हामीलाई देखाएको समृद्ध मुलुक सुखी नेपालीको सपना चकनाचूर भएको छ ।   

सार्वभौम नागरिक हुँ भनेर गर्व गर्ने म जस्ता युवाहरु आज आफ्नै देशको राजनितीको शिकार हुनु पर्दाको पीडा सानो छैन । चुनावी मैदानमा साटिएको म जस्ता हरेक नागरिकको हजारौँ भोटको अवमुल्यन भएको छ । 

अहिले आफैंभित्र, अब के गर्ने ? के छ हामीसँग बिकल्प ? के नेपालमा बहुदलीय संसदीय व्यवस्थाको औचित्य समाप्त भएको हो त ? प्रश्ज उब्जिएको छ । किनकि हिजो सबैखाले आन्दोलन, कठोर त्याग, बलिदान र संघर्षबाट आएका भनिएका नेताहरुको ल्याकत, कार्यशैली परीक्षण गरिसकियो । अब कसैमाथि आशा भरोशा बाँकि छैन । अब त हाम्रा अघिल्तिर गरिबि, अशिक्षा, बेरोजगारी, भ्रष्ट्राचार जस्ता कुराहरु नेपालको परिचय भएर स्थापित भइसकेका छन् । योसँगै जटिल सामाजिक न्यायका प्रश्न, समावेशिताका मुद्दा, महिला हिंसाका मुद्दा, जातीय बिभेद, अनगिन्ती सामाजिक, साँस्कृतिक समस्याहरुको पहाड ज्यूका त्यूँ छ ।  यी प्रश्नको हल खोज्ने ल्याकत बर्तमान सत्तासँग छैन ।   

कोरोनाको त्रासका कारण स्वदेशको कमजोर शिक्षा र स्वास्थ्य प्रणालीबाट जोगिन बिदेशिनेहरु आज आफ्नै देश भित्रिन पाउँ भनेर चिच्याईरहेका छन् । यसले हामीलाई विदेशमा जतिसुकै सुख सुविधा भाग गरेपनि मातृभूमी भन्दा ठूलो हेकी रहेनछ भन्ने राम्रो पाठ सिकाएको छ ।   

आधुनिक युगमा बैज्ञानिक पद्धति अँगाल्दै हरेक चुनौतिको समाना गर्ने हो भने देशको मुहार फेरिन समय लाग्ने छैन भन्ने तर्फ अबका युवा पीढिँले सोच्ने बेला आएको छ । हिजो संघर्ष गर्ने हरेक नयाँ पुराना भनाउँदाहरुले आफ्नो लगानीको व्याज उठाईसकेका छन् । अझ पनि यहि सोँच र प्रवृत्तिबाट आएकालाई राजनीति र शासन सुम्पेर मुकदर्शक बन्ने हो भने भोली अर्काे रक्तपात नहोला भन्न सकिन्न ।   

यसर्थ बेलैमा अबका पुस्ताले आफ्नो भविष्य र देशको भविष्यको नक्सा आफैँ बनाउन अघि सर्नुको बिकल्प छैन । कोरोनाले विश्वको अर्थतन्त्रमा गम्भीर असर पारेको छ । त्यसमाथि हामी जस्तो विकासोन्मुख देश, रेमिट्यान्सले धानेको हाम्रो अर्थतन्त्र त झन पछाडी धकेलिदिएको छ ।   

संसार पीडाले छटपटाईरहेका बेला पनि आफ्ना नागरिकको सारथी र साहारा बन्न नसक्ने हाम्रा कथित सरकार, दल र नेताबाट वर्तमान पुस्ताले केही पाउनेवाला छैनन् । जनताबाट बिश्वास र भरोशा गुमाई सकेकाहरुबाट राहत र संमृद्धिको आशा गर्नु नै बेकार छ । 

अब जनताको आश र सपनामाथि कुठाराघात गर्नेहरुलाई सडकमा नाङ्गेझार बनाएर अबको युवा पुस्ताले राजनीतिको बागडोर संहाल्ने बेला आएको छ । यसका लागि अब स्वदेश र विदेशमा रहेका लाखौं दक्ष युवाहरु एक जुट हुनुको विकल्प छैन । अब बुढाहरुले हैन युवाहरुले देश हाँक्नु पर्दछ ।   

लेखक समाजवादी पार्टीका संघिय परिषद्का सदस्य हुन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *