भारतीय प्रख्यात अभिनेता लागूको निधन

पुष २, काठमाडौं । भारतीय अभिनेता एवं रंगकर्मी श्रीराम लागूको निधन भएको छ । चलचित्र तथा रंगक्षेत्रमा लामो समय सक्रिय रहेका लागूको ९२ को उमेरमा निधन भएको हो । सन् १९२७ को नोभम्बर १६ मा सातारामा जन्मेका लागू पछिल्लो केही वर्षदेखि बिरामी थिए । 

सयभन्दा बढी हिन्दी र मराठी फिल्ममा काम गरिसकेका श्रीराम लागूका आफन्त सुनिल महाजनले बीबीसीसँगको कुराकानीमा मंगलबार बेलुका साढे सात बजे पुणेमा उनले अन्तिम सास फेरेको जानकारी दिए ।   

उनले २० भन्दा बढी मराठी नाटक आफ्नो निर्देशनमा मञ्चन गरेका थिए । मराठी रंगमञ्चमा उनलाई २० औँ शताब्दीका सबैभन्दा उत्कृष्ठ कलाकारका रुपमा लिने गरिन्छ । 

null

लागू लामो समयसम्म चिकित्सकका रुपमा कार्यरत थिए । ४२ वर्षको हुँदासम्म उनले नाक, कान, घाँटी शल्यचिकित्सकका रुपमा काम गरे, त्यसपछि चिकित्सा पेशा छोडेर उनी अभिनयमा लागेका हुन् । 

बाल्यकालदेखि नै अभियनमा रुची भएका लागूले पुणे र मुम्बईमा अध्ययन गरेका हुन् । उनले चिकित्सा अध्ययन गर्दा पनि नाटकलाई भने चटक्क छोडेका थिएनन् । डाक्टरी पेशा गरे पनि उनको मन अभियनमा थियो । 

सन् १९६९ मा उनी पूर्ण रुपले मराठी रंगमञ्चमा जोडिए । ‘नटसम्राट’ नाटकमा उनले गणपत बेलवलकरको भूमिका निर्वाह गरे । सो नाटकलाई मराठी रंगमञ्चमा कोशेढुंगा मानिन्छ । 

गणपत बेलवलकरको भूमिका अति कठिन मानिन्छ । यो भूमिका निर्वाह गर्ने धेरै कलाकार गम्भीर बिरामी परेका छन् । नटसम्राटको यो भूमिकापछि डा. लागूलाई पनि हृदयघात भएको थियो । 

सन् १९७७ मा आएको चलचित्र घरौंदामा मिस्टर मोदीको भूमिकामा देखिएका उनको सो अभियन अहिले पनि प्रिय छ । 

घरौंदाका लागि उनले फिल्मफेयरमा सर्वोत्कृष्ठ सहअभिनेताको अवार्ड पाएका थिए । उनले सिंहासन, सामना, पिंजडा जस्ता मराठी चलचित्र तथा चलते–चलते, मुकदरका सिंकन्दर, सौतन, लावारिस जस्ता हिन्दी चलचित्रमा काम गरेका छन् । 

लागूको आत्मकथा लमाण अति चर्चित छ । अभिनेता नसरुद्दीन शाहले उनको सो आत्मकथा कुनै पनि कलाकारका लागि ‘बाइबल’ सरह रहेको बताएका थिए । एजेन्सी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − six =