नेपाली भूमि अतिक्रमणको विरोधमा गलकोटमा ‘राँके जुलुस’

कात्तिक ३०, बागलुङ । छिमेकी मुलुक भारतले नेपालको भु–भाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा बागलुङको गलकोटमा राँके जुलुससहित विरोध प्रदर्शन गरिएको छ ।
गलकोट नगरपालिका–३ हटिया बजारमा नेपाल तरुण दल वडा समितिको आयोजनामा शुक्रबार साँझ भारतीय बिस्तारवादविरुद्ध प्रदर्शन गरिएको हो । नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले अतिक्रमण गरेको विरोधमा साँझ राँकेजुलुस प्रदर्शन गरिएको हो ।
उग्रराष्ट्रवादको आडमा सरकार नेपाली सीमाना अतिक्रमणको विषयमा केही पनि नबोलेको भन्दै नेपाली कांग्रेसले भारतीय विस्तारवादको विरुद्ध दबाब सृजना गर्ने उद्येश्यका गलकोटस्थित लोकतान्त्रिक चोकबाट विरोध जुलुस निकालेको कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेस गलकोट नगरपालिका–३ नं वडा समिति, नेपाल तरुण दल, गलकोटले आयोजना गरेको उक्त जुलुसमा भारतीय विस्तारवाद विरुद्ध एक होऔँ, कम्युनिष्ट सरकार राजिनामा दे जस्ता नारा लगाइएका थिए ।
लोकतान्त्रिक चोकबाट सुरु भएको जुलुस जिपपार्कमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी मञ्जु शर्मा चालिसे, नेपाली कांग्रेस जिल्ला सदस्य फमबहादुर खत्रीलगायतले सम्बोधन गरेका थिए ।
विरोध प्रर्दशनमा नेपाली कांग्रेसका नेता, कार्यकर्ता, भातृ संगठनलगायतको उल्लेख्य सहभागिता रहेको थियो ।








