नेपालमा पहिलाेपटक हुँदैछ ‘एक्सट्रिम इ–कार रेस’

तस्विरः माेटर स्पाेर्ट डटकम
कार्तिक २९, काठमाडौं । आगामी २०२१ मा मुस्ताङमा एक्सट्रिम इ–कार रेस अर्थात् विद्युतीय कारको रेस हुने भएको छ ।
एक वर्षअघि लण्डनबाट शुरु गरिएको ‘एक्सट्रिम–इलेक्ट्रोनिक्स अफ रोड रेसिङ सिरिज’ सन् २०२१ को मे महिनामा मुस्ताङमा गर्ने घोषणा गरेका हुन् ।

करिब एक अर्ब रुपैयाँको लागत अनुमान गरिएको रेस मुस्ताङको ग्राभल सडकमा सम्पन्न हुने आयोजकले जनाएको छ।
उक्त रेसमा इलेक्ट्रिक एसयुभि (स्पोर्ट युटिलिटी भेहिकल) गाडीमार्फत् रेस आयोजना गरिने जानकारी दिँदै सीईओ एलेजेन्ड्रो अगागले भने, ‘आज हामी यहाँ हिमालयको मुटु, मुस्ताङ जिल्ला एक्स्ट्रिम ई पहिलो दौड हुने घोषणा गरिरहेका छौँ । जुन विश्वको सबैभन्दा अग्लो हिमालय श्रृंखलामा आयोजना हुनेछ । हिमालयन क्षेत्र शानदार, नौलो वातावरण र अफरोड रेसका लागि अतुलनिय क्षेत्र हो। जसले संसारका लिडिङ ड्राइभर, इन्जिनियर र टिमलाई नयाँ स्वाद दिनेछ।’
यसअघि अध्ययनका लागि भुटान, भारत पनि गएको र पूर्वाधार तथा शान्तपूर्ण वातावरणको हिसाबले नेपालको मुस्ताङ जिल्ला उपयुक्त पाएको उल्लेख गर्दै उनले भने, ‘हामी शाब्दिक रुपमा यहाँ पहाडहरुको मुटुमा छौँ । यो सुन्दर ठाउँ हो । जहाँ हामी यस्तो शानदार कार्यक्रम, महान दौड ल्याउँदैछौँ । जुन त्यस्तो ठाउँमा कहिल्यै भएको थिएन । त्यहाँ हामी पक्कै पनि सकारात्मक छाप छोड्नेछौँ र स्थानीयलाई पनि यसले मद्दत गर्ने विश्वास लिएका छौँ ।’
त्यस्तै संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री योगेश भट्टराईले एक्स्ट्रिम इ–रेसलाई नेपाल भित्र्याउन आतुर रहेको बताए ।
उनले भने, ‘नेपालमा युनिक प्राकृतिक तथा सांस्कृतिक विविधता रहेको छ। र, संसारकै अग्लो सगरमाथा तथा बुद्धको जन्मस्थल लुम्बिनी जस्ता महत्वपूर्ण क्षेत्रहरु छन् ।’ उनका अनुसार चरणवद्ध रुपमा आयोजना हुने रेसको अवधिभर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिनेछ।
नेपालको पर्यटन प्रबर्द्धन, विद्युतीय गाडीको बजार विस्तारसँगै विश्वभर वातावरण संरक्षणसम्बन्धी चेतना फैलाउने उद्देश्यले हिमाली क्षेत्रमा इ(रेस आयोजना गर्न लागिएको हो।
रेसमार्फत नेपाल सरकार र स्थानीय सरकारको सहकार्यमा विश्वभर भइरहेको जल तथा मौसम परिवर्तनको विषयलाई मध्यनजर गर्दै जनचेतनामुलक कार्यक्रम आयोजना गरिने बताइएको छ।
एक्सट्रिम इ–रेस मार्फत नेपालको पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले बताए उनले भने, ‘यो इभेन्टमा विभिन्न मुलुकका उच्चपदाधिकारी, कलाकार लगायतको सहभागिता हुनेछ। यो इभेन्टले नेपालको पर्यटन प्रबर्द्धनमा टेवा पुग्नेछ।’








