‘काेरियामा काम गाह्राे हुन्छ, जाेतिनै पर्छ’

सन् २००७ देखि निरन्तर कोरियन भाषा प्रशिक्षार्थीलाई पोख्त बनाउँदै आएका छन्, प्रशिक्षक प्रकाश सुवेदी । स्वदेशमै पौरख गर्नुपर्छ भन्ने ध्येय बोकेका उनी प्रशिक्षार्थीलाई सकेसम्म नेपालमै केही गर्न सुझाउँछन् । अहिले कोरियाबाट फर्किएका नेपालीलाई पुँजी सिञ्चित गरेर नेपालमै व्यवसाय गर्न, रोजगारी सिर्जना गर्न तथा नेपालमै बस्न उत्प्रेरित गर्नका लागि एउटा संस्था खोलिएको छ, अंकुर नेपाल । उनी उक्त संस्थाको सचिव पनि हुन् । 

सन् २००० मा कोरिया गएका उनले त्यहाँ करिब ५ वर्ष बिताए । त्यहाँको संस्कृति, कामदारप्रति गरिने व्यवहार, वातावरण लगायतका कुरासँग उनी भिजिसकेका छन् । पॉच बर्षको कोरिया बसाइँ पश्चात् नेपालमा फर्केर +२ देखिको पढाईलाई पुनः शुरु गरेर फाईनान्समा MBA का साथै विश्वभाषाबाट कोरियन भाषाको छैठौँ लेभल सम्मको अध्ययन पनि पुरा गरिसकेका सुबेदी पर्यटन व्यवसायी पनि हुन् ।   

अहिले शिक्षा र पुँजी कम भएका युवापुस्तामा कोरिया जानका लागि प्रतिस्पर्धा बढिरहेको छ । कोरियनहरुको स्वभाव, भाषा परीक्षा, लगायतका विषयमा प्रशिक्षक सुवेदीसँग गरिएको कुराकानीः 

कोरिया कस्तो देश हो ? नेपाली कामदारका लागि कहिलेदेखि खुल्ला गरियो ?   

कोरिया मानव अधिकार प्रत्याभुत भएको, लोकतान्त्रिक राष्ट्र हो । महिला पुरुष सबैलाई स्वतन्त्रता दिइएको छ । कोरियामा सन् १९५० देखि १९५३ सम्म युद्ध चलेको थियो । युद्धपछि त्यहाँको आर्थिक, सामाजिक अवस्था निकै दयनीय थियो । कोरियनहरुले धरै आरोह अवरोह झेल्नु परेको थियो । १९६० सम्म पनि गरीब राष्ट्रमा गनिन्थ्यो, कोरिया । त्यसपछि भने कोरियाले द्रुत गतिमा प्रगति गर्यो ।   

वास्तवमा कोरियामा अझैपनि यथेष्ट स्रोतहरु छैनन् । कृषि उत्पादनलाई नै हेर्ने हो भने, त्यहाँ ३–४ महिना हिँउ नै हिँउ हुन्छ । त्यसका बाबजुद पनि उनीहरुले ठुलो प्रगति गरे । त्यसैले कोरियालाई पसिनाले बनाएको देश भन्दा पनि फरक पर्दैन ।   

कोरियाले सन् २००५ बाट इपीएस प्रणाली लागु गरेको हो । नेपालबाट २००८ बाट जान सुरु भएको हो । रोजगारीका लागि सन् १९९४ देखि लुम्बिनी म्यानपावरले नेपाली युवाहरुलाई ट्रेनिङको रुपमा कोरिया लान सुरु गरेको थियो । त्यहाँ काम गर्ने अवधि ३ वर्षको हुन्छ, कामदार र कम्पनीले चाहेर सहमति भयो भने पछि १ वर्ष १० महिना थपिएर ४ वर्ष १० महिनासम्मको हुन्छ । 

कोरियामा कामदारलाई कस्तो व्यवहार गरिन्छ ?   

कोरियामा खासै कामदार र कम्पनी मालिकबीच भिन्नता पाइँदैन । माथिल्लो पोष्ट, तल्लो पोष्टमा गरिने व्यवहारमा त्यति फरक हुँदैन । किनकि त्यहाँ कामदार मात्रै होइन, साहु तथा व्यवसायीहरु पनि उत्तिकै खटिएका हुन्छन् । कामदारको जतिकै पसिना बगाइरहेका हुन्छन् ।   

कोरियनहरु निकै परिश्रमी र जाँगरिला हुन्छन् । त्यसैले कामदारबाट पनि यही अपेक्षा राख्छन् । तर, हामीलाई चाहीँ पेलाएको जस्तो लाग्छ । कामदारलाई पनि स्वतन्त्रता दिइएको छ । काम अलिक गाह्रो हुन्छ ।   

कोरियनको स्वभाव अलि छुच्चो खालको हुन्छ भनिन्छ, कामदारलाई पिट्छन् रे नि ? 

कोरियनहरु एकदमै मिलनसार हुन्छन् । घुलमिल भएपछि उनीहरुले विश्वास र माया पनि बढी गर्छन् । कोरियनहरु आफ्नो काम आफैँ गर्छन् । जतिसुकै पैसावाल, सम्पन्न भएपनि उनीहरुको घरमा कामदार राखेको पाइँदैन । खानपान एकदमै स्वस्थ खालको हुन्छ । काममा अलिकति जोताउने भएर छुच्चो लागेको हुन सक्छ ।   

कोरिया जाने मान्छेले पहिले नै आफू जोतिन हिँडेको हो भन्ने मानसिकता चाहीँ बनाउनै पर्छ । कोरियनहरु बसेर अह्राउने मात्र होइन आफैँ पनि जोतिन्छन् । अरुलाई छुट दिने त कुरै आउँदैन । प्रायः जसो कम्पनीहरुमा दिसापिसाब गर्न पनि समय छुट्याइएको हुन्छ । त्यो भन्दा अघि नै गयो भने रिसाउँछन् उनीहरु ।   

उनीहरुको संस्कार नै आफूभन्दा सानालाई नियन्त्रणमा राख्ने खालको हुन्छ । त्यसकारण कोहीकोहीले हात हाल्छन् । सानासाना कम्पनीहरुमा यस्तो बढी हुने गर्छ, ठुलो कम्पनीमा हुँदैन । अहिले त धेरै नै परिवर्तन आइसकेको छ, उनीहरुको सोचमा पनि ।   

त्यहाँको संस्कार, समाज, वातावरण कस्तो छ ? घुलमिल हुन कति समय लाग्छ ?   

कोरियनहरु चाँडै घुलमिल हुने हुन्छन् । संस्कार एकदमै राम्रो छ । तर, स्वदेशी होस् या विदेशी सानालाई एकदमै नियन्त्रणमा राख्न खोजिन्छ । कुनै अवस्थामा आफ्नो गल्ती नभएपनि ठुलासँग माफी माग्नुपर्ने हुनसक्छ । सानालाई गाली पनि ज्यादा गरिन्छ । उनीहरुको संस्कार नै त्यस्तो छ । अहिले हेर्ने हो भने कोरियनहरुमा केही हदसम्म परिवर्तन आएको छ । त्यतिबेलाका कोरियनहरु अन्य सोसाइटीसँग त्यति घुलमिल थिएनन् । अहिले उनीहरु देशविदेश घुम्छन् । विदेशी संस्कार अलिकति हावी भएको पाइन्छ । विदेशीलाई आदर गर्छन् । ठुलालाई सम्मान गर्ने संस्कार चाहीँ गज्जबको छ त्यहाँको । हिँड्दै गर्दा ठुला र सानाबीच ठोक्कियो भने गल्ती ठुलाको भएपनि सानाले माफी माग्नुपर्छ ।   

त्यहाँको गर्मीयाम हाम्रो पहाडी भेगको जस्तै नै हुन्छ । जाडोयाममा निकै चिसो हुन्छ, नेपालको हिमाली भेगतिर जस्तै । हिँउ परेर माइनस १५–२० डिग्रीसम्म पुगेको हुन्छ । जाडोयाममा कम्पनीमा पनि निकै कम काम हुन्छ । कृषिमा अलि धेरै बिदा हुन्छ । टनेलभित्र गरिने खेतिपाती, पशुपालन क्षेत्रतिरको काम भने रोकिँदैन । 

खाडी मुलुकहरुमा भन्दा कोरियामा तलब अत्याधिक छ, त्यहाँको अर्थतन्त्र बलियो भएर हो कि कोरियनहरु कामदारप्रति उदार भएर हो ?  

देश सानो भएपनि कोरियाको अर्थतन्त्र आफैँमा मजबुत छ । एसियाकै दाँजोमा ठूला अर्थतन्त्र भएका १५ देशभित्र अटाउँछ । अरबतिर अरेबियनले पाउने तलब र विदेशी कामदारले पाउने तलब फरक पर्छ । कोरियामा भने कोरियनहरुले पाउने र विदेशी कामदारले पाउने न्यूनतम तलब बराबर हुन्छ । त्यसकारणले पनि त्यहाँको तलब धेरै हुन गएको हो ।   

कोरियन सरकारले अहिले ताेकेकाे तलब प्रति घण्टा ८ हजार वनकाे हाराहारीमा छ । कम्पनीले काम भएपनि नभएपनि कामदारलाई त्यो तलब बुझाउनै पर्छ । कम्पनीमा राति १० बजेसम्म ओभरटाइम भयो, बिदाको दिनमा काम गर्यो भने त्यसको डेढ गुणा बढी दिइन्छ । ओभरटाइम पनि राति १० बजेपछि गर्यो भने बेसिक परआवरको दुई गुणा बढी हुन्छ । कतिपय कम्पनीहरुले बोनसपनि दिने गर्छन् । बोनस कोरियनहरुलाई अनिवार्य हुन्छ, विदेशीहरुलाई भने अनिवार्य छैन । दिनको ८ घण्टा काम गर्नुपर्ने हुन्छ । कुनै कम्पनीमा १२ घण्टे काम पनि हुन सक्छ । कृषिमा न्यूनतम तलब त कम्पनीमा जस्तै हो । तर काम, बिदाको दिन, समय निश्चित हुँदैन । त्यहाँको सरकारले कृषिलाई अलि छुट दिएको छ । ओभरटाइम पनि कम हुने गर्छ ।   

युएई, साउदी अरबतिर महिला कामदारलाई शोषण गरिन्छ भनिन्छ, कोरियामा महिला कामदार कतिको सुरक्षित छन् ? त्यहाँको कानून कस्तो छ ? 

त्यहाँको कानुन महिलाहरुलाई रक्षा गर्ने खालको छ । अरबतिर जस्तो पुरुषलाई मात्रै प्राथमिकतामा राखेको पाइँदैन । सबैलाई बराबर स्वतन्त्रता र हकअधिकार छ । महिलाहरुलाई कुनै रोकावट छैन । भैपरी समस्या आएमा स्वदेशी विदेशी सबैले कानुनी रुपमा लड्न पाउने अधिकार छ । सुरक्षा, सहायता प्रदान गर्ने संघ संस्थाहरु पनि छन् । उनीहरुले पनि धेरै सहयोग गर्छन् । प्रवासी महिलाहरुलाई संरक्षण गर्ने सरकारी संस्थाहरु छन्, आफैँले पनि लड्न सकिन्छ । 

बढि स्वतन्त्रता भएको हुनाले उनीहरु आफैँबाट पनि त्यस्तो घटना निम्तन सक्छ । अन्य कारणले यौन दुर्ब्यहारको शिकार भएको त्यत्ति पाइँदैन । खुल्ला समाज भएकोले यौनलाई सामान्य रुपमा लिइन्छ । महिलाको अगाडी कुनै पुरुषले अश्लिल शब्द बोल्यो भने ती महिलाले यौन दुर्ब्यहारको उजुरी दिन मिल्छ । धेरै बेरसम्म घुरेर हेरे पनि यौन दुर्ब्यहारका रुपमा लिइन्छ । उजुरी दिएमा कारवाही हुन्छ ।   

कोरियाका लागि के–कति योग्यता तोकिएको छ ? खर्च कति लाग्छ ?   

कोरिया जानका लागि आवश्यक भनेको कोरियन भाषा हो । भाषा परीक्षा पास गर्नैपर्छ । १८ वर्ष पुगेको र ३९ वर्ष नकटेको हुनुपर्यो । यो वर्षबाट भने स्कील टेष्ट हुने भनिएको छ । इन्टरभ्यु पनि छ । उनीहरु परीक्षामा पास भएर मात्रै हुँदैन स्कील टेष्टमा पनि छानिनु पर्ने हुन्छ । इपीएस कार्यालयबाट जाने हो भने ७०–८० हजारको हाराहारीमा छ । राम्रो इन्ष्टिच्युट पर्यो भने १ लाखमा पढाइदेखि सबै खर्च टर्छ ।   

भाषामा पोख्त कसरी हुने ? भाषा नजान्दा के कस्ता समस्या झेल्नुपर्छ कोरियामा ?   

लगभग ८ महिनाजति कोरियन भाषा पढिन्छ । त्यहाँको भाषा सहज छ । छोटो समयमा नै धेरै बुझ्न सकिन्छ । भाषा प्रयोगमा ल्याउने, पढ्दै गर्दा कोरियन फिल्म हेर्ने, पढिरहेका साथी, नेपाल घुम्न आएका कोरियनहरुसँग कुराकानी गर्ने हो भने राम्रोसँगै भाषा प्रयोगमा ल्याउन सकिन्छ ।   

कोरियनहरु अन्य भाषा कमै प्रयोग गर्छन् । एउटै कम्पनीमा सँगै काम गर्ने भएपछि भाषा नबुझ्दा समस्या त हुन्छ नै । भाषा जानिएन भने आफूलाई आइपरेको समस्या पनि बताउन सकिँदैन । डिप्रेशन हुन सक्छ । भाषा जान्यो भने अहिले त भिजा परिवर्तन गरेर, त्यहाँको रेसिडेन्सी लिएर बस्न पनि सकिन्छ । त्यहाँको जसरी जीवनयापन गर्न सकिन्छ । 

त्यहाँ कम्पनी परिवर्तन गर्न पनि सहज छ भनिन्छ, कस्तो छ प्रक्रिया ?   

कम्पनी बन्द भएको अवस्थामा, कम्पनीले हात हाल्ने, पिट्ने गरेमा सहजै परिवर्तन गर्न सकिन्छ । कम्पनीको लेटर लिनुपर्छ । अन्य देशका कामदारको तुलनामा नेपालीहरुले बढी कम्पनी परिवर्तन गर्ने गरेको देखिन्छ । कम्पनी बन्द भएको अवस्थामा जतिपटक पनि परिवर्तन गर्न सकिन्छ, नत्र अधिकतम तीन पटक सम्म पाइन्छ ।   

अवैध रुपमा काम गर्नेहरु पनि धेरै छन्, उनीहरुलाई कारवाही हुँदैन ?  

कोरिया प्रजातान्त्रिक राष्ट्रसँगै मानव अधिकार प्रत्याभूत भएको देश हुनाले त्यहाँको कानुन लचिलो छ । बेलाबेलामा अवैध रुपमा काम गरिरहेकालाई छुट पनि दिने गरिन्छ । प्रहरीले कुनै बेला खोज्दै हिँडेको हुन्छ अवैध कामदारलाई । कम्पनीतिर पनि छापा मारेको हुन्छ । पक्राउ गर्यो भने केही समय राख्छ, निश्चित जरिवाना लिन्छ । अनि पठाइदिन्छ । अहिले त अवैध रुपमा काम गर्नेको संख्या निकै कम भएको छ । 

त्यहाँ ५ वर्ष कमाएको पैसालाई राम्रोसँग सदुपयोग गर्ने, खर्चमा नियन्त्रण गर्ने हो भने अवैध रुपमा बस्नै नपर्ने गरी लाइफ बन्छ । लगभग पाँच वर्षमा सबै खर्च कटाएर एक करोड मज्जाले कमाइ हुन्छ । त्यहाँको केटीहरुसँग लागेर पैसा उडाइयो भने त जति वर्ष बसे पनि पुग्दैन ।   

कोरियन भाषा परीक्षामा जान्नेहरु पनि उत्तिर्ण हुन नसक्नुको कारण के हो ?  

जो नेपालीसँग सिप, पढाइ र पुँजी छैन, उनीहरुका लागि कोरिया निकै ठुलो अवसर हो । चिठ्ठा जस्तै हो । पाँच वर्ष बस्दा उनीहरुको पारिवारिक स्थिति नै कायापलट हुन्छ । उनीहरु गुणस्तरिय जीवन यापन गर्न सक्छन् । यही कारण अहिले युवापुस्तामा कोरियाको क्रेज बढेको पाइन्छ । कोरियाका लागि अहिले लोकसेवाको भन्दा चर्को प्रतिस्पर्धा छ । यस्तो प्रतिस्पर्धा अरु देशमा हुँदैन । पास हुनेहरु केहीको भाषा क्षमता पनि अहिले पढाइरहेका प्रशिक्षकहरुको जस्तै छ ।   

निश्चित समयभित्र निश्चित प्रश्न मिलाउनुपर्ने हुन्छ । समय थोरै हुन्छ । यसले गर्दा जान्ने विद्यार्थीमा पनि हडबड हुन्छ र परीक्षा बिगार्ने गर्छन् ।   

उत्तिर्ण भएकाहरु सबैले कोरिया जाने अवसर पाउँदैनन्, कामदार कसरी छान्छ कोरियाले ? 

मानौँ, कोरियालाई ५ हजार नेपाली कामदार चाहिएको छ । परीक्षामा ५० वटा प्रश्नमा ४५–४६ वटा मिलाउने छान्दा जम्मा ४ हजार मात्र पुगे, ५ हजारको टार्गेट त पुगेन । अब ४४ मिलाउनेलाई पनि पास गराउँदा एकैचोटी ७, ८ हजार पुग्छ । भनेपछि ३ हजार त एक्स्ट्रा भए । ३ हजारलाई सेलेक्ट गर्ने छुट्टै माध्यम त छैन । एउटै अंक आएका कसैलाई राख्ने कसैलाई फाल्न पनि मिलेन । त्यसकारण कति पास भएकाहरु पनि जान नपाएका हुन् ।  पास भएकाहरु सबैको रोष्टरमा नाम चढ्छ । त्यसपछि उता कम्पनीबाट नाम सेलेक्सन भएर आयो भने जान पाउने हो । क्रमैसँग जाँदा अब चाहीँ भाग्यमै विश्वास गर्नुपर्ने हुन्छ ।   

नेपाली कामदारका लागि के–कस्ता काम छुट्याइएको हुन्छ ?   

नेपालीलाई कोरियाले कृषिमा खेतीपाती र पशुपालन अनि उत्पादनमा कम्पनीतर्फ साना तथा मझौलामा लिने गरेको छ । ठुल्ठुला कम्पनीमा भने विदेशी कामदारको पहुँच कमै छ ।  पहिले नेपालीका लागि फिसिङ पनि थियो, अहिले छैन । त्यस्तै कन्स्ट्रक्सनतिर नेपाल सरकारले पहल गर्ने हो भने सम्भव छ । यसमा पहल गरे कोटा पनि बढ्न सक्छ ।  

कोरियन भाषा पढ्दै गरेका र पढेर पनि जान नपाएकाहरुलाई के भन्नुहुन्छ ? तयारी कसरी गर्ने ? 

कोरिया नै मात्र सबथोक होइन । अवसर एउटैमा मात्रै हुँदैन । त्यसलाई च्यालेन्जका रुपमा लिएर अरु काम गर्नुपर्छ । त्यो भन्दा राम्रो अवसर पनि मिल्न सक्छ । यस्तो कुरामा चिन्ता लिएर समय बर्वाद गर्नु हुँदैन । कोरिया मात्रै सबथोक हो भनेर पढ्नु पनि हुँदैन । यसले परीक्षामा हडबड गराउँछ ।   

नेपालमै सानोबाट व्यवसाय सुरु गरेपनि पछि ठुलो उद्यमी बन्न सकिन्छ ।  विदेशको चक्करमा मात्रै धेरै पैसा डुबाउनु हुँदैन । कोरियामा गएर काम गर्न नसकेकाहरु पनि छन् । कोरियामा त्यत्रो वर्ष दुःख गरेर फर्केर सडकमा आएकाहरु पनि छन्, श्रीमतीले सम्पत्ति कुम्लाएर अर्कैसँग हिँडेका कारण । त्यसैले जीवन चलाउने बाटाहरु धेरै छन्, मात्र मिहेनत गर्नुपर्यो ।   

विदेशिने ट्रेन्डलाई सरकारले रोक्न सक्दैन ?   

यो कुरा सरकारले मात्रै होइन, उनीहरुको आर्थिक अवस्था र समाजले पनि निर्धारण गर्छ । अर्को कुरा नेपालको तलबले जीवन धान्न मुश्किल छ । नेपालीहरु स्वदेशमा स–साना काम गर्न रुचाउँदैनन्, विदेशमा भाँडा माझ्न समेत तयार हुन्छन् । यसकारण पनि विदेश जाने ट्रेन्ड बढेको हो ।   

यसलाई रोक्नका लागि सरकारले साना काम गर्नेलाई अझै प्रोत्साहन दिनुपर्छ । पुरस्कृत गर्ने, साना व्यवसायीलाई करमा छुट दिने वातावरण मिलाओस् । उनीहरुको छोराछोरीलाई पढ्नका लागि सहुलियत देओस् । स्वास्थ्य, सुरक्षाको प्रत्याभूति होस् । स्वास्थ्य उपचारमा सहुलियत होस् । त्यसो भएमा नेपालमै थोरै आम्दानीमा पनि सन्तुष्ट हुन्छन् नेपाली ।   

हुन त सरकार मात्रै सबैथोक होइन । हामीसँग स्रोत पनि पर्याप्त छैन । होस्टेमा हैँसे सरकारले गरिदिनु पर्छ । विदेशबाट केही गर्छु भनेर नेपाल आएकालाई होइन, नेपालमै केही गर्छु भनेर बसेकालाई ऋण दिनुपर्छ । विदेशमा पैसा कमाएर आएकालाई छुट्टै ऋण दिने प्रक्रिया त उल्टो भएजस्तो लाग्छ मलाई ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *