कृषिमन्त्री भन्छन्- तरकारीको विषादी परीक्षण सुरू गर्न एक वर्ष लाग्छ

असार २२, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले भारतलगायत तेश्रो मुलुकबाट नेपाल आयात गरिने फलफूल तथा तरकारीको एकीकृत विषादी परीक्षणको काम सुरु गर्न कम्तिमा एक वर्ष लाग्ने बताएका छन् ।
राष्ट्रियसभाको आज (आइतबार) बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा विनियोजित बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
null
उनले भने, ‘तेस्रो मुलुकबाट आयातित तरकारीको एकीकृत विषादी परीक्षण सुरु गर्न कम्तिमा एक वर्ष लाग्छ । सरकारले पूर्वाधार निर्माण गरी ६ महिनापछि परीक्षण सुरु गरिने भनेपनि सो अवधिमा घोषणा गरिए अनुसार एकीकृत र प्रविधियुक्त परीक्षण सुरु गर्न सकिँदैन ।’
यस्तै उनले एक नम्बर प्रदेशको बिर्तामोड, दुई नम्बरको सर्लाही, ३ नम्बरको कालीमाटी, गण्डकी प्रदेशको पोखरा, ५ नम्बर प्रदेशको बुटवल र ७ नम्बर प्रदेशमा रहेका २ वटा विषादी परीक्षण केन्द्रबाट विषादी परीक्षण हुँदै आएकोमा अहिले भने रोकिएको पनि संसदमा जानकारी गराए ।
सरकारले २ असारमा राजपत्रमा सूचना प्रकाशित गरी भन्सार बिन्दुमा क्वारेन्टाईन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति ल्याउको थियो ।
तर, भारतले गम्भीर चासो व्यक्त गर्दै नेपाल सरकारलाई निर्णय फिर्ता लिन दबाब दिएपछि यो निर्णयबाट पछि हटेको थियो । भारतसामु झुकेर जनतालाई विष खुवाएको भन्दै अहिले यसको सर्वत्र विरोध हुँदै आएको छ ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विषादी परीक्षणको निर्णय कसैको दबावले नभई पूर्वाधार नभएकाले फिर्ता लिनु परेको दाबी गरेका थिए ।








