प्रधानमन्त्री ओली बिहान देशभक्तिमा, बेलुका दिल्लीभक्तिमाः कांग्रेस नेता गुरुङ

 

असार २१, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली हाँस्यास्पद पात्रको रुपमा परिचित रहेको व्यंग्य गरेका छन् । 

शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा उनले यस्तो व्यंग्य गरेका हुन् । 

null

उनले भने, ‘प्रधानमन्त्री ओलीजी हाँस्यस्पद पात्र बन्नुभयो । बिहान उठ्दा देशभक्तीका कुरा गर्नुहुन्छ, अनि बेलुका भयो कि दिल्लीभक्ति बन्नुहुन्छ ।’ 

उनले ओलीको कार्यशैली चित्तबुझ्दो नभएको टिप्पणी गरे । उनले भने, ‘अहिलेकै ताजा विषयको कुरा गर्नुहुन्छ भने प्रधानमन्त्रीले बिहान भारतबाट आयात गरिने तरकारी तथा फलफूलजन्य वस्तुमा विषादी भेटिएकोले रोक्ने निर्णय गरियो भन्नुभयो, बेलुका हुनेबित्तिकै आयात गर्न दिने भनेर निर्णय गराउनु भएछ । उहाँलाई कतिबेला के मुड चल्छ ? थाहै हुँदैन ।’ 

गुरुङले आईफा अवार्ड नेपालमा आयोजना गर्ने सवालको कुरा उठाउँदै सरकारले क्षणमै राष्ट्रवादी र क्षणमै दिल्लीबादी चरित्र देखाएको पनि आरोप लगाए । उनले भने, ‘चर्को विवाद भएपछि आईफा अवार्ड नेपालमा आयोजना नहुने भनिएको थियो, फेरि अहिले प्रधानमन्त्री ओलीले जसरी पनि नेपालमा गराएरै छोड्ने भन्नुभएछ, उहाँ एक्कासी फेरि दिल्लीभक्त हुनुभयो ।’ 

नेपालका नेताले यही देश र यहाँको जनताको लागि राजनीति गर्नुपर्ने बताउँदै कसैलाई खुशी तुल्याउनको लागि जे मन लाग्यो त्यही निर्णय गर्न नहुने उनको भनाई छ । उनले भने, ‘अब कांग्रेसले टुलुटुलु हेरेर बस्दैन । यो सरकारलाई हामी आन्दोलनबाटै ढाल्छौं । सरकार नालायक भयो ।’ 

वर्तमान प्रधानमन्त्री ओलीले दुई तिहाईको भारी बोक्न नसक्ने उनको ठोकुवा छ । उनले भने, ‘दुई तिहाईको भारीले थिचेर ओलीजीको मृत्युवरण हुन्छ कि भन्ने डर लागेको छ ।’ 

सरकारका गलत काम र क्रियाकलापका कारण सरकारविरुद्ध आन्दोलनका आधारहरु पनि प्रशस्तै तयार भएको गुरुङले जनाए । उनले वर्तमान सरकार भ्रष्टाचारको दलदलमा फसेकोले सरकारविरुद्ध आन्दोलन आजको आवश्यकत्ता भैसकको पनि सुनाए । 

गुरुङले आफ्नो पार्टीभित्र पनि अहिले किचलो रहेको स्विकार गरे । उनले भने, ‘हो, म ढाँट्दिन, हाम्रो पार्टीभित्र पनि आन्तरिक किचलो छ । नेतृत्वको बीचमा हानाथाप छ ।’ 

उनले पार्टीलाई सशक्त रुपमा अघि बढाउनको लागि पनि अब छिटोभन्दा छिटो महाधिवेशन गराउनुपर्ने आवश्यकत्ता औंल्याए । 

२०७९ मा स्थानीय तहको निर्वाचन भएकोले आगामी २०७७ को फागुनभित्रै महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने पनि उनले सुनाए । उनले भने, ‘२०७७ को फागुनभित्रै महाधिवेशन सम्पन्न गर्न सकियो भने उपलब्धिमूलक हुन्छ ।’ 

कांग्रेसमा गणेशमान सिंह, विपी कोईराला, कृष्णप्रसाद भट्टराई, सुवर्ण शमशेरजस्ता नेताहरु नभएका कारण किचलो हुनु र नेतृत्वको लागि होडबाजी चलेको उनको भनाई छ । अहिले नेतृत्वदायी भूमिकामा बसेका नेताहरुले एक आपसमा सिँगुरे खेलेर बसिरहे आफूजस्ता युवा नेताहरुले नेतृत्वको लागि अब कदम चाल्नेपनि उनको उद्धघोष थियो । 

पार्टीको झण्डामा रहेको चार तारामध्ये एक ताराले धार्मिक स्वतन्त्रताको वकालत गरेकोले अहिले हिन्दूराष्ट्रको गुञ्जायस नभएको गुरुङको भनाई छ । उनले भने, ‘नेपालमा गणतन्त्रको विकल्प छैन । बरु, यो भ्रष्ट सरकारको विकल्प छ । किनकी यो सरकार भ्रष्टाचारी, राष्ट्रघाती र नालायकी परिचित छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *