समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता हुँदै


काठमाडौं, ३० जेष्ठ । समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा पार्टी दर्ता गराउने निर्णय गरेको छ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति र उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम मिलेर बनेको समाजवादी पार्टीलाई निर्वाचन आयोगमा दर्ता गराउन ढिलाइ भएका कारण उठेका विभिन्न शंकाउपशंका समाधान गर्न बिहीबार पार्टी दर्ता गराउने निर्णय गरिएको पार्टी नेताहरूले बताएका छन् ।
पार्टी एकताको सन्देश दिन तराई मधेशका विभिन्न सहरमा पार्टीका दुवै अध्यक्षसहितका नेताहरूले संयुक्त कार्यक्रमबाट फर्केपछि पार्टीमा विवाद उत्पन्न भएको थियो । तराई मधेशका कार्यक्रमबाट फर्केका डा भट्टराईले उपेन्द्र यादवलाई सरकारबाट हट्न गरेको आग्रहको समाचार सार्वजनिक हुन पुगेको थियो । त्यो समाचारबाट पार्टी पंक्तिमा आंशका उत्पन्न गराएकोले यसको समाधान गर्न पार्टी दर्ता गराउन निर्णय गरिएको यादव पक्षीय एक नेताले बताएका छन् ।
null
उनीहरूका अनुसार राजपा लगायतका दललाई मिलाएर बन्ने पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने योजना भए पनि सरकार छोड्ने र सरकारमा बस्ने दुई धारको समाचारले यसलाई तत्कालै टुंगो लगाउने योजना बनेको हो । पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले मौकाको खोजीमा रहेका छन् । आन्दोलन उठाएर मात्रै नहुने त्यसको कम्पनलाई केहीबेर कायम राख्न नसके आन्दोलनबाट फाइदा हुन सक्ने बुझाइ यादवको रहेको छ । यादव तत्कालै सत्ताको बाटो छाड्न नखोजेको पार्टी निकटले बताउँछन् ।
उपेन्द्र निकट नेताका अनुसार भट्टराईको नीतिमा यादव होइन, यादवको नीतिमा भट्टराई आएकाले सत्तामा बसेर संविधान संशोधनको राजनीति पार्टीमा केही समय अझ अगाडि बढ्नेछ । भट्टराई र यादवबीचको विवाद केही नभएको भनी यसअघि पार्टीले सार्वजनिक गरेको विज्ञप्तिबाट पनि यो दुई धार पार्टीमा रहेको स्पष्ट छ ।
समाजवादी पार्टीको घोषणा सभामा डा भट्टराईले तत्काल पार्टी सरकारबाट नहट्ने तर संविधान संशोधनको मागलाई सरकारले अटेर गरे त्यसपछि मात्र सरकार छाढ्ने निर्णय गरिने जनाएका थिए । यसबाट यादव निकट नेताको भनाइको पुष्टि भएको देखिन्छ । सरकार छोड्ने सवालमा यादवले जुन बेहोरोका सर्त राष्ट्रिय जनता पार्टीलाई पठाएका थिए, सोही सर्तमा डा भट्टराईसँग एकीकरण गरिएको हो ।
भट्टराईले सरकारबाट पार्टी हटाउनलाई पार्टीमा निर्णय गराउनुपर्ने हुन्छ । बिहीबार निर्वाचन आयोगमा पार्टी दर्ता गराउने भनी जारी गरेको विज्ञप्तिबाट समाजवादी पार्टीबीचको शंका–उपशंका समाधान गर्न दर्ता गराउन खोजिएको पार्टी नेताको भनाइ स्वाभाविक देखिन्छ । आजको कारोवार दैनिकमा खबर छ ।
