स्वतन्त्र र स्वच्छ निर्वाचन नै सुशासन र लोकतन्त्रको आधार हो: राष्ट्रपति

 

असार १०, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वतन्त्र र स्वच्छ निर्वाचन नै सुशासन र लोकतन्त्रको आधारस्तम्भ भएको बताएकी छिन् । 

निर्वाचन आयोगले सोमबार शीतल निवासमा आयोजना गरेको ‘निर्वाचन समीक्षा तथा आयोगको भावी रणनीतिसम्बन्धी उच्चस्तरीय अन्तरक्रिया’ मा उनले आगामी दिनमा हुने निर्वाचनलाई आयोगले अझ स्वच्छ, स्वतन्त्र र पारदर्शी एवं मितव्ययी बनाउनुपर्ने सुझाव दिइन्। 

null

निर्वाचनका सन्दर्भमा हासिल भएका अनुभव, विभिन्न समयमा उठ्ने गरेका सवाल र प्राप्त सुझावलाई मनन गरी सुधारको प्रक्रियाको प्रारम्भ गर्न अब ढिलाइ गर्न नहुने उनको धारणा थियो । 

राष्ट्रिपति भण्डारीले निर्वाचनलाई कम खर्चिलो, मितव्ययी र धान्न सकिने बनाउन निर्वाचन व्यवस्थामा आधुनिक सूचना प्रविधिको प्रयोग बढाई पारदर्शी, पहुँच र विश्वसनीय बनाउँदै निर्वाचनसम्बन्धी कानुनलाई एकीकृत गरी उचित व्यवस्थासहितको आवधिक निर्वाचनको सुनिश्चितता गर्नुपर्ने बताइन्। 

उनले स्वच्छ र स्वतन्त्र निर्वाचन अभियानका सिलसिलामा आचारसंहिताको पालनामा सबैलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिइन्। 

आयोगअन्तर्गतका कार्यालयमा आवश्यक पूर्वाधारसहित कार्यरत जनशक्तिलाई थप दक्ष, लगनशील र उच्च मनोबलका लागि अनुकूल वातावरण बनाउन र कार्यालयलाई निरन्तर रुपमा क्रियाशील बनाउन राष्ट्रपतिले सुझाव दिइन्। 

मतदानमा आम जनताको व्यापक सहभागिता बढाउनु निर्वाचनको महत्वपूर्ण कडी हो भन्दै उनले यसका लागि आयोगले मतदाता शिक्षालाई थप व्यवस्थित र सञ्चालन गर्नुपर्ने धारणा राखिन्। विदेशमा रहेका नेपालीलाई मतदान गर्न दिइने विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ थियो। 

‘निर्वाचनसम्बन्धी विवादको समाधानमा कानुन, नियम र प्रचलनबमोजिम एकरुपता र स्पष्टता काम गरी निर्वाचन प्रणालीलाई निर्विवाद तुल्याउन निर्वाचन विधिमा सबैको स्वीकार्यतालाई व्यापक बनाउनुपर्दछ,’ उनले भनिन् । 

उपनिर्वाचनको तयारी 

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगको हरेक निर्णयमा सरकारले कुनै पनि दबाब नदिने प्रष्ट पारे। ‘सरकारको तर्फबाट कुनै पनि काम गर्नका लागि गैरकानुनी दबाब दिइने छैन । आयोगले स्वतन्त्र, निष्पक्ष भएर काम गर्नुपर्दछ’, उनले भने । 

उनले चाँडै सरकारले आयोगको समन्वयमा उपनिर्वाचन गर्ने तयारी गरेको समेत जानकारी दिए । 

उनले विद्युतीय यन्त्रबाट मतदान गरिने प्रणाली विवादास्पद हुनसक्ने भन्दै सबैको सहमतिमा भने यन्त्रबाट मतदान गर्न सकिने मत राखे । उनले निर्वाचनका बेला खटिने कर्मचारीको मतदानको अधिकार दिलाउन सरकार लागिपरेको समेत बताए । प्रधानमन्त्री ओलीले चुनावमा हुने खर्चको स्थिति गम्भीर रहेकाले यसलाई पुनर्विचार गर्नुपर्नेमा जोड । 

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले सर्वोच्च अदालतले पनि विदेशमा रहेका नेपालीलाई मतदान प्रक्रियामा सहभागी गराउनुपर्ने आदेश दिएको बेला अबको निर्वाचनमा प्रवासीलाई समेत सहभागी गराउनुपर्नेमा जोड दिए । उनले निर्वाचन खर्चिलो भएकाले मितव्ययिता अपनाउनुपर्ने र मतदानस्थलमा नै मतगणना गर्न सक्ने गरी सुरक्षाको प्रवन्ध मिलाउनुपर्ने बताए । 

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन प्रणाली खर्चिलो भएकाले स्थानीय तहबाट नै खर्च रोक्नुपर्ने धारणा राखे । उनले विद्युतीय यन्त्र प्रणाली राम्रो भएकाले यसलाई सबैको सहमतिमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । उनले महिला र दलितका लागि छुट्टै आरक्षण छुट्टाउनका लागि सोच्नुपर्ने बेला आएको पनि भत राखे । 

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराईले निर्वाचन खर्चलाई नियन्त्रण गर्नुपर्ने भन्दै राजनीतिक दलको आर्थिक पारदर्शितामा कडाइ गर्नुपर्ने धारणा राखे । 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको तेस्रो पञ्चवर्षीय रणनीति सार्वजनिक गर्दै आयोगलाई अझ स्वतन्त्र, निष्पक्ष र व्यावसायिक बनाइने दृढता व्यक्त गरे । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *