देशकै पुरानो होमस्टे व्यावसायिक बन्दै, सूर्योदय हेर्नकै लागि जान्छन् डेढ लाख

  

 

राष्ट्रलाई चिनाउने तथा पर्यटन भित्र्याउने उपायहरु दिनानुदिन बढ्दै गईरहेको समयमा पुर्वी नेपालको पर्यटकीय स्थल ईलामको श्रीअन्तुमा करिब एघार वर्षअघि ४–५ घरले होमस्टे (घरबास) ब्यवसाय सुरु गरे । अहिले सोही पर्यटन ब्यवसाय त्यहाँका ४२ घर परिवारको जीवन चलाउने माध्यम बनेको छ त्यो पनि एकाविहानै झुल्किने सूर्योदयको कारण । 

null

ईलामको श्रीअन्तुमा पत्रकार महासंघ १ नं प्रदेश कमिटीको अधिवेशनको क्रममा सयौं पत्रकार त्यहाँ पुगे । सोही क्रममा सबैले आ–आफना ढंगबाट चर्चा परिचर्चा गरेपनि सुनसरीका पत्रकारको बुझाईमा भने परक रहयो । गत शुक्रबार श्रीअन्तु स्थित अर्जना होमस्टेमा रातभरी गफ गरेर विताएका सुनसरी पत्रकार महासंघका पुर्व अध्यक्ष आनन्द श्रेष्ठ भन्छन् ‘देशको बिकास गर्नु छ भने आन्तरिक पर्यटक नै चाहिन्छ ।’ 

 

ईलामको सुर्योदय नगरपालिका वडा नं ५ मा जतिखेर तत्कालीन सरकारले होमस्टेको अवधारणा ल्यायो त्यही बेलादेखि इलामको श्रीअन्तुमा होमस्टे शुरु भएको हो । 

२०६५ सालमा अन्तुडाँडामा होमस्टे शुरु गर्दा समावेशी ढङ्गले शुरु गरिएको अन्तुडाँडा सामुदायिक होमस्टेका सञ्चालक समितिका अध्यक्ष धनकुमार आलेले बताए । होमस्टेलाई समावेशी ढङ्गले सञ्चालन गर्नुपर्छ भन्ने सोच अनुसार आले, लगायत सोही गाउँका ५ घरले होमस्टे सञ्चालन गरे । 

उनले होमस्टे स्थापना गर्दा सूर्योदय नगरपालिका–४ र ५ का एकराज घिमिरे, टेकबहादुर आले मगर, देव प्रधान, राम घिमिरे र अनु तामाङले पनि होमस्टे सुरु गरेका थिए । विशेष गरी कात्तिक, मङ्सिर र पौष महिनामा श्रीअन्तु डाँडाबाट सूर्योदय र सूर्यास्त हेर्न आन्तरिक तथा वाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ । श्रीअन्तुबाट हेरिने सुर्योदय काठमाडौं नगरकोटबाट भन्दा पनि आकर्षक छ । श्रीअन्तुका स्थानीयले यहि सूर्योदयलाई आधार बनाएर आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गरिरहेका छन् । अहिले सालाखाला वर्षमा पचार हजार बढि आन्तरिक बाह्य पर्यटक सुर्योदय हेर्न श्रीअन्तु पुग्ने गरेका छन् । 

 

होमस्टेको सञ्चालनको शुरुवाती क्षणमा पाहुनालाई खानाको परिकार भने जस्तो बनाउन नसक्दा होमस्टे सञ्चालकलाई सारै सकस पर्यो । ‘आइडिया थिएन, गाउँघरको जस्तो गरी खाना दिँदा पाहुनाहरुले रुचाउनु भएन ।’ अर्चना होमस्टेका सञ्चालक अनु तामाङले बताइन् । ‘पछि पाहुनालाई कस्ता परिकार दिने, कसरी स्वागत सत्कार गर्ने भनेर जानकारी हासिल गर्दै गइयो । अहिले कुनै समस्या छैन ।’ 

होमस्टे भन्ने बित्तिकै घरमा जे पाक्छ पूर्व तयारीबिना नै ग्राहकलाई सेवा प्रदान गर्ने भएकोले परम्परागत र अर्गानिक हुन्छ । ‘हामी गाउँघरकै परिकार पस्कन्छौं, टिपिकल खानेकुरा भएपछि पाहुनापनि दंग पर्छन् ।’ अनु तामाङ भन्छन् । 

शुरुमा जस्तो पाक्यो, त्यस्तै दिने र खानेले पनि जस्तो दिए पनि खाने गरेपनि पछिल्लो समय ग्राहकको रोजाइ अनुसारको मौलिक अग्र्यानक परिकारहरू समेत यहाँ पाइन्छ । अनुका अनुसार शुरुमा खासै कमाइ नभए पनि ५ वर्ष यता हरेक महिनामा खर्च कटाएर सरदर ७० हजारदेखि १ लाखसम्म आम्दानी भइरहेको छ । सिजनको बेलामा हरेक होमस्टेले मासिक लाख रुपैयाँ सहजै कमाउने गरेको अनु तामाङको अनुभव छ । ‘आजकल नेपालीहरु पनि फुर्सद भयोकी नयाँ ठाउँमा घुम्न र बस्न रुचाउँछन्, हाम्रो आम्दानीको स्रोत भनेको बाह्य भन्दा पनि आन्तरिक पर्यटक नै हुन् ।’ उनी भन्छिन् । 

श्रीअन्तुका होमस्टेमा कोदोको रोटी, ढिँडो, फापरको रोटी, जडीबुटी मिसाएको (स्याल) को तीनपाने, सिस्नुको तरकारी, मकैको भात, गुन्द्रुक, सिन्की, सिजनअनुसार लेकमा पाइने तरकारी, लोकल भाले, लेखको कालो बङ्गुरको मासु खान पाइने दिनेश होमस्टेका सञ्चालक कुसुम आलेले बताइन् । 

२०७० सालदेखि तीनभाइ दाजुभाइ सुरेश आले, कुमार आले र दिनेश आले मिलेर छुट्टाछुट्टै रूपमा आलेटोलमा सञ्चालन गरेको होमस्टे राम्रैसँग चलेको छ । पाहुना आएनन् भन्ने पीर यहाँका होमस्टे सञ्चालकलाई छैन । त्यसमाथि केहि वर्षयता होमस्टेमा ग्राहकको रोजाइ अनुसारको सेवा सुविधा थप गर्दै ब्यवस्थित र सुविधाजनक बनाएपछि आगन्तुकहरुको संख्या बढ्दो छ । सेवा अनुसार आम्दानीपनि बढेको कृषा होमस्टेका सञ्चालक कुमार आलेले बताए । ‘सुरुसुरुमा हामीलाई कसरी स्वागत गर्ने, परिकार कस्ता दिने कसरी पकाउने भन्नेमै चिन्ता थियो, विस्तारै सिकिँदै गइयो ।’ उनी भन्छन् । होमस्टेमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरूका लागि मनोरञ्जन र त्यस क्षेत्रको पर्यटकीय स्थलहरूको जानकारीको लागि सूचना केन्द्रसमेत अन्तु भन्ज्याङ्गमा स्थापना गरिएको छ । सम्भव भए हरेक साँझ नभए साताको दुई दिन शुक्रबार शनिबार भन्ज्याङ्गमा सांस्कृतिक कार्यक्रम हुन्छ । जहाँ तामाङ डम्फु सेलो, मगर जातिको हुर्रा नाच र राई जातिको साकेला नाच प्रदर्शन गरिन्छ ।  

 

श्रीअन्तुबाट सूर्योदय हेर्न भारतको दार्जलिङ, सिक्कीम, आसाम देखि विहारबाट समेत बाह्य पर्यटक आउने गर्दछन् । आन्तरिक पर्यटक महाकालीसम्मका आउँछन् । सिजनका बेला विदेशी पर्यटकहरूको घुँइचो पनि लाग्छ । यातायातको सुगमता, इलामको चियाबारीले श्रीअन्तुको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याएका छन् । फिक्कल आउने पर्यटकले एक दिनको समय लम्ब्याएर यहाँ आउँदो सुर्योदयको अनुपम दुश्यावलोकन गर्न सक्छन् । 

यहाँका होमस्टेमा हरेक महिना सरदर २ सयभन्दा बढी आन्तरिक तथा वाह्य पर्यटक आउने गरेको सूचना केन्द्रको तथ्याङ्कमा उल्लेख छ । वार्षिक अन्तुडाँडा होमस्टेमा १ लाख, ५० हजारभन्दा बढी पर्यटक आउने गरेको सञ्चालक दिनेश आले बताए । 

 

इलामका प्रसिद्ध ६ अ अर्थात अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन (दुध), अम्लिसो, आलु र अतिथि सत्कार हुन्छ । श्रीअन्तुले होमस्टेमा आउने पाहुनालाई यीनै ६ अ ले स्वागत सत्कार गर्दछन् । कतिले अकबरे खोर्सानी, अर्थोडक्स चिया, अलैंची, अदुवा अम्लिसो कोसेली समेत लैजाने गर्दछन् । 

श्रीअन्तु डाँडामा जस्तै अन्यत्र पनि यसरी नै होमस्टेलाई व्यवस्थित गर्ने हो भने आन्तरिक तथा वाह्य पर्यटक भित्र्याएर मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुग्ने थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *