६–७ ठाउँ हात भाँचेर हत्या गरिएका पौडेललाई मुठभेडमा मारिएको भन्न मिल्छ ?

 

असार ९, काठमाडौं । पूर्व गृहमन्त्री जनार्दन शर्माले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु मुठभेडमा भएको विश्वास गर्न नसकिने बताएका छन् । 

आज (सोमबार) बिहान बसेको संसदको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापासँगको छलफलका क्रममा नेकपा सांसद शर्माले सो धारणा राखेका हुन् । 

null

समितिको बैठकमा गृहमन्त्री थापाले ‘दुई मोटरसाइकलमा आइरहेका चार जनाले प्रहरीलाई देख्नासाथ फायर गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको हो । सोही क्रममा उनको गोली लागि मृत्यु भएको हो’ भन्ने दाबी प्रस्तुत गरेपछि जनार्दन शर्माले विश्वास गर्न नसकिने बताएका हुन् । 

सांसद शर्माले भने, ‘प्रहरीको रिपोर्टले मुठभेडमा कुमार पौडेलको मृत्यु भयो भन्छ । तर जनताको पनि रिपोर्ट छ, त्यसले मुठभेडमा पौडेलको मृत्यु भएको भन्दैन । गोली लागेर मारिएको व्यक्तिको हात ६–७ ठाउँमा भाँचिएको पाइएको छ । प्रहरीको रिपोर्टमा विश्वस्त हुन सक्ने अवस्था छैन ।’ 

उनले विप्लव समूहलाई प्रतिबन्ध लगाउन आवश्यक नरहेको समेत धारणा राखे । 

बिहीबार सर्लाहीको लालबन्दीमा विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरी कारबाहीमा मारिएका थिए । दुईवटा मोटरसाइकलमा आएका विप्लवका चार नेताले प्रहरीमाथी गोली प्रहार गरेपछी प्रहरीले आफ्नो सुरक्षाका लागि गोली चलाउँदा उनको मृत्यु भएको प्रहरीको दाबी थियो । 

लगतै विप्लवकोे पार्टीले एक विज्ञप्ति जारी गर्दै सर्लाहीको लखन्ती खोलामा साथीहरु कुरिरहेको अवस्थामा नियन्त्रणमा लिएर चिनिसकेपछि एक गोली हातमा र अर्को गोली टाउकोमा प्रहार गरेको जिकिर गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *