प्रधानमन्त्री ओलीको ट्वीटमा मोदीले फर्काए नेपाली भाषामा जवाफ

 

असार ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको योग दिवसको शुभकामनामा उनका भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाली भाषामा प्रतिक्रिया दिएका छन् । 

पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रम ओलीले शुक्रबार (आज) बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत् व्यक्त गरेको शुभकामनामा मोदीले नेपाली भाषामा प्रतिक्रिया दिएका हुन् । 

null

प्रम ओलीले ट्वीटरमा ‘विश्व योग दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्राच्य संस्कृतिको अनुपम उपलब्धि योग साधना मार्फत् मन, वचन र कर्मले एकै स्थानमास्थित रही जीवनलाई स्वस्थ्य बनाउने सफलता मिलोस्, शुभकामना’, लेखेका थिए । 

प्रधानमन्त्रीको ट्वीटमा मोदीले नेपाली भाषामै प्रतिक्रिया दिँदै लेखेका छन्, ‘योगको विशिष्टतालाई उजागर गर्नुका साथै व्यक्तिगत रुपमा उपस्थित भई योग दिवस कार्यक्रमलाई सुशोभित गर्नु भएकोमा प्रधानमन्त्री ओलीज्यूलाई धन्यवाद ज्ञापन गर्दछु ।’ 

आज विश्वभर पाँचौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । योग दिवसका कार्यक्रममा प्रधानमन्त्री स्वम् पनि उपस्थित भएका थिए । प्रम ओलीले आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार काठमाडौंमा आयोजना गरेको योगसम्बन्धी एक कार्यक्रममा समेत मोदीलाई धन्यवाद ज्ञापन गरेका थिए । 

‘आजको दिनलाई अन्तर्राष्ट्रिय योग दिवस घोषणा गराउन पहल गर्ने मेरा मित्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई पनि धन्यवाद भन्न चाहन्छु’, उनले कार्यक्रममा भनेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *